१७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा फास्ट ट्रयाकसहितका विषयमा कुनै पनि विवादास्पद सम्झौता नहुने उनीनिकट एक नेताले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणको एजेण्डाबारे गृहकार्य सुरु भइसकेको छ ।
प्रचण्डनिकट एक नेताका अनुसार प्रधानमन्त्रीको यो भ्रमणमा कुनै पनि विवादित काम नगर्ने योजना छ । ‘यो भ्रमण दुई देशबीच पछिल्लो समय चिसिएको सम्वन्ध सुधारमा केन्द्रित हुनेछ’ उनले भनेका छन्, ‘विवादित विषयलाई एजेण्डामा नै राख्दैनौं । यो भ्रमण विशुद्ध सदभावना भ्रमण हो ।’
सुशील कोइराला नेतृत्वको सरकारका पालामा फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने प्रयास भएको भन्दै विवाद भएको थियो । केपी ओली नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमा नै बनाउने निर्णय गरिसकेको छ ।
तर, प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै कतिपय भारतीय कूटनीतिज्ञले नै फास्ट ट्रयाक निर्माण भारतलाई दिनुपर्ने भएको भन्दै लेख लेखेपछि अनेक आशंका भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भने सार्वजनिकरुपमा नै फास्ट ट्रयाक स्वदेशी लगानीमा गर्ने बताउँदै आएका छन् ।
भारत भ्रमणमा पुनर्निर्माणमा सहयोग बढाउनेबारे भने छलफल हुनेछ । प्रचण्डका विशेष दूत बनेर हालै दिल्ली गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि यसबारे कुरा गरेका थिए । यसमा भारतीय पक्ष सकारात्मक रहेको अधिकारीहरुको दाबी गरेका छन् ।
भ्रमण राजकीय हुने दाबी
प्रधानमन्त्री प्रचण्ड निकटवर्तीहरुले आसन्न भारत भ्रमण राजकीय नै हुने दाबी गरेका छन् । यद्यपि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भारतले राजकीय सम्मान दिएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमण भदौ ३० देखि सुरु हुनेछ । भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षीलाई ३१ गते भेट्नेछन् । यो भ्रमणका क्रममा सम्भवतः उत्तराखण्डको कुनै एक आयोजनाको प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्नेछन् ।
प्रतिक्रिया 4