+
+
Shares

घाइते गैँडाको शरीरबाट छर्रा निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते ८:००

ghaite-injured-gaida२१ भदौ, चितवन । तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले सोमबार मुख्य कार्यालय कसरामा भएको पत्रकार भेटघाटका क्रममा यस्तो जानकारी दिएको हो । “गोलीका छर्रा निकालिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, “गोली निकाल्न सकिने अवस्था भने छैन ।” चिकित्सकका अनुसार पनि गोली संवेदनशील क्षेत्रमा नभएकाले गैँडा बाँच्ने सम्भावना बढेको कँडेलले जानकारी दिए ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करको गोली लागेर १५ वर्षको भाले गैँडा घाइते भएको थियो । तत्कालै चितवन निकुञ्जले उद्धार गरेर गैँडालाई सौराहा नजिकै जङ्गलमा ल्याएर छाडेको थियो ।

चितवन निकुञ्जले भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएको गैँडाले बिचरण र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ । अहिले सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएका छन् ।

चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए ।

उनका  अनुसार नेपालको उच्च उपचार पद्धति प्रयोग गरेर उपचार भइरहेको छ । मुन्टो उठाउनसमेत नसकेको गैँडाले अहिले राम्ररी घाँससमेत खान थालेकाले बाँच्ने आशा पलाएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताए । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गैँडाको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?