२२ भदौ, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने भएको छ ।
भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको विभागको श्रम कार्यालय प्रमुख कृष्ण दुवाडीले जानकारी दिए ।
‘पहिले गएर फर्किएकाहरुको काम, कार्यस्थल तथा पारिश्रमिकको अवस्था राम्रो रहेको सुनिश्चित भएकाले विदामा आएर फर्किने तथा रि-इन्ट्री गर्ने सुरक्षा गार्डलाई विभागले रोकेको छैन,’ दुवाडीले भने ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा काम गर्न जाने नेपाली सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो ।
विदेश जानेसँग म्यानपावरले ठग्ने क्रम नरोकिएको, सुरक्षागार्डको अवस्था नाजुक रहेको र उनीहरुमाथि चरम शोषण भइरहेको भन्दै संसदीय समितिले तत्कालका लागि सुरक्षागार्डमा जान चाहानेहरुलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो ।
अहिले नेपाली युवाहरु मलेसिया, दुबई, कतार लगायतमा देशमा कार्यरत छन् । विभागबाट दैनिक ५० देखि ७५ जनाले सुरक्षा गार्डका लागि विदेश जान श्रम इजाजत माग्ने गरेका थिए । अन्य क्षेत्रमाभन्दा सुरक्षागार्डमा पारिश्रमिक बढी हुने भएकाले युवाहरु यसैमा विदेश जान आकर्षित छन् ।
प्रतिक्रिया 4