
News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरेबियामा कागजातविहीन नेपालीहरूको वैधानिकीकरण प्रक्रिया रियादस्थित नेपाली राजदूतावासले सुरु गरेको छ।
- सन् २०२४ सेप्टेम्बर ३० अघि श्रम स्वीकृति नलिएका नेपालीहरूलाई वैधानिक श्रम स्वीकृति प्रदान गरिनेछ।
- कार्यक्रम अन्तर्गत बायोमेट्रिक प्रक्रिया पूरा गरी सामाजिक सुरक्षा कोष र बीमाको रकम भुक्तानीपछि श्रम स्वीकृति स्वीकृत हुने छ।
३० साउन, काठमाडौं । साउदी अरेबियामा कागजातविहीन (अवैध) अवस्थामा रहेका नेपालीहरूको वैधानिकीकरण प्रक्रिया सुरु भएको छ ।
रियादस्थित नेपाली राजदूतावासले शुक्रबारदेखि वैधानिकीकरण गरी श्रम स्वीकृति दिने कार्य सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भर्चुअल कार्यक्रममार्फत यसको शुभारम्भ गरेका हुन् ।
सन् २०२४ सेप्टेम्बर ३० भन्दा अगाडिदेखि साउदी अरबमा काम गरिरहेका तर नेपालबाट श्रम स्वीकृति नलिएका नेपालीहरूलाई वैधानिक श्रम स्वीकृति प्रदान गरिनेछ ।
कार्यक्रमको शुभारम्भसँगै अब त्यस्ता श्रमिकले रियादस्थित नेपाली दूतावासबाटै बायोमेट्रिक दिएर श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
चार लाखभन्दा बढी नेपाली रहेको साउदीमा करिब २ लाखको हाराहारीमा श्रम स्वीकृतिबिनै नेपालीहरू काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मन्त्री भण्डारीले यो एक ऐतिहासिक क्षण भएको बताउँदै सरकार आफ्ना नागरिकप्रति उत्तरदायी रहेको र उनीहरूलाई राज्यको प्रणालीमा जोड्न यो अभियान सुरु गरिएको बताए ।
‘कुनै पनि नेपाली विश्वको कुनै पनि ठाउँमा भए पनि ऊ नेपाली नै हो, उसको जिम्मेवारी राज्यले लिनुपर्छ,’ मन्त्री भण्डारीले भने, ‘विभिन्न कारणले हाम्रै मुलुकको प्रणालीबाट बाहिर रहेका श्रमिकलाई अवैधानिक हुनबाट रोक्न र उनीहरूलाई वैधानिकीकरण गर्न यो अभियान थालिएको हो ।’
रियादस्थित नेपाली राजदूतावासका श्रम काउन्सुलर कविराज उप्रेतीले श्रम स्वीकृति लिइसकेकाहरूका लागि श्रम स्वीकृति नदिई काम गरिरहेकाहरूको लागि भएको बताए ।
‘जसले श्रम स्वीकृति नलिइकन वैदेशिक रोजगारीको क्रममा हुनुहुन्छ र २०२४ सेप्टेम्बर ३० पूर्व वैधानिक रूपमा यस साउदी अरबमा बसिरहनु भएको छ भने उहाँहरुलाई लक्षित गरेर यो वैधानिकरण श्रम स्वीकृतिको कार्यक्रम आयोजना गरिएको हो,’ उप्रेतीले भने ।
यसका लागि सम्बन्धित व्यक्तिले दूतावासमा बायोमेट्रिक दिनुपर्नेछ । कार्यक्रमकै क्रममा १५ वर्षदेखि साउदी अरबमा कार्यरत अजय दकाललाई पहिलो सेवाग्राहीका रूपमा बायोमेट्रिक गराई श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको थियो ।
बायोमेट्रिक प्रक्रिया पूरा भएपछि सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र म्यादी जीवन बीमाको रकम भुक्तानी गरेलगत्तै श्रम स्वीकृति स्वीकृत हुने दूतावासले जनाएको छ ।
श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले प्राविधिक वा व्यक्तिगत कारणले प्रणालीबाहिर रहेका हजारौं नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन र मूल प्रवाहीकरण गर्न यो कार्यक्रमले मद्दत गर्ने बताए ।
दूतावासकी नियोग उपप्रमुख सिर्जना अधिकारीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने नेपाल सरकारको उद्देश्य पूरा गर्न दूतावास सदैव प्रयत्नशील रहेको बताइन् ।
‘आज औपचारिक रूपमा प्रारम्भ गरिएको यस सेवाले साउदीमा रहनुभएका धेरै नेपालीहरुलाई सहयोग गर्नेछ भन्ने विश्वास यस दूतावासले लिएको छ,’ अधिकारीले भनिन् ।
साउदी अरेबिया रियादकाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले साउदीमा रहेका करिब ४ लाख नेपालीहरूका लागि विभिन्न किसिमका सेवा सुविधाहरुमा बढोत्तरी गरिरहेको बताए ।
सकेसम्म सरल र सहज बनाउने उद्देश्यले विभिन्न कामहरु गर्दै आएको उनको भनाइ थियो । त्यही क्रममा नेपाल सरकारको नीतिगत व्यवस्था अनुसार वैधानिकरण गर्ने काम अघि बढेको बताए ।
प्रतिक्रिया 4