
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानबाट उद्दारका लागि नाम टिपाइएका ११ नेपाली मध्ये दुई जना नफर्किने भएका छन्।
- उनीहरूमध्ये एक जना परिस्थिति सामान्य भइसकेको भन्दै त्यहीँ बस्ने र अर्काको राहदानी सम्बन्धी समस्या रहेको बताए।
- अन्तर्राष्ट्रिय संघर्ष र युद्धको कारण नेपाली नागरिकहरू उद्दारको प्रक्रिया जारी छ।
११ असार, काठमाडौं । इरानबाट उद्दारका लागि नाम टिपाइएका ११ जनामध्ये दुई जना नफर्किने भएका छन् ।
उनीहरुमध्ये एक जना हाल परिस्थिति सामान्य भइसकेको भन्दै त्यहीँ रहने भएका छन् भने अर्काको राहदानी सम्बन्धी समस्याले त्यहीँ रहने भएका हुन् ।
तहरानबाट अनलाइनखबरसँग सम्पर्कमा आएका हरि थापाले युद्धविरामपछि अहिले स्थिति समेत सामान्य भइसकेको भन्दै आफू नफर्किएको बताए ।
‘म यहाँ एउटा दूतावासमा काम गर्छु, स्थिति सामान्य भइसकेको छ किन जान्छौं भनेर साथीहरुले पनि भने’, थापाले सुनाए, ‘मलाई पनि ठिकै लाग्यो, परिवारलाई पठाइदिएको छु, म यहीँ छु ।’
इरानमा रहेका ७ जना नेपाली भने भारतीय दूतावासको सहयोगमा बुधबार स्वदेश फर्किँदैछन् ।
इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन लागेका हुन् ।
दिउँसो दिल्ली हुँदै फर्किनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् । बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्किने छन् ।
उनीहरुले मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा रोकिएका थिए । परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेल चाहिँ मंगलबार नै फर्किएका थिए । उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो ।
भारतीय दूतावासको सहयोगमा उद्दार गरिने भएपछि उनीहरु आफू बसेको स्थानबाट बसमा यात्रा गरेर मसहदस्थित विमानस्थलसम्म आइतबार पुगेका थिए ।
फिर्ता आउन लागेका नेपालीहरु कोही दूतावास त कोही रेष्टुरेन्टमा काम गर्दै आएका थिए । सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्दार गर्ने तयारी गरिरहेको छ ।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा दुवै देशबाट नागरिकलाई उद्दार गर्ने तयारी भइरहेको बताएकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही थालिएको घोषणा गरेका थिए । इरानको कदमले आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघनमा भएको नेतन्याहूको जिकिर छ ।
ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी नयाँ कूटनीतिक वार्ता हुने तय भएका बेला इजरायलले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो ।
पछि मेरिकाले पनि इरानका परमाणु केन्द्रमा आक्रमण गरेको थियो । जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गर्यो । तर, पूर्वजानकारी दिएकाले धेरै क्षति भएन । यसको केही घन्टापछि इजराइल र इरानबीच अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएको थियो ।
प्रतिक्रिया 4