+
+
Shares

इरानको हिरासतमा रहेका ५ नेपालीलाई पनि फिर्ता ल्याउन कूटनीतिक पहल

११ नेपाली भारतको सहयोगमा फिर्ता आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले इरानको थुनामा रहेका ५ नेपालीलाई कूटनीतिक प्रयासबाट फिर्ता ल्याउने तयारी गरेको छ।
  • इजरायल र इरानबीच जारी तनावका कारण नेपाली नागरिकहरूलाई उद्दार गर्न सरकार सक्रिय छ।
  • अमेरिकाले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेको र विश्वव्यापी तनाव बढिरहेको छ।

८ असार, काठमाडौं । इजरायल–इरान तनावमा अमेरिका समेत मुछिएपछि सिर्जित परिस्थितिका बीच सरकारले इरानको थुनामा रहेका ५ नेपालीलाई समेत फिर्ता ल्याउन कूटनीतिक प्रयास थालेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ती नेपाली अध्यागमन कानुन उल्लंघन सम्बन्धी कसुरमा त्यहाँ रहेको पाइएकाले छुटाउन कूटनीतिक प्रयास थालिएको छ । ‘कतारस्थित नेपाली दूतावासमार्फत यससम्बन्धी थप कामहरू भइरहेका छन्’, मन्त्रालयका एक अधिकारीले भने ।

इरानमा विभिन्न काम गरिरहेका बाँकी ११ नेपालीलाई समेत भारतको सहयोगमा लिएर उद्दार गरेर फिर्ता ल्याइँदैछ । भारतले आफ्नो नागरिकसँग नेपाली र श्रीलंकन नागरिकलाई समेत काठमाडौं ल्याउँदैछ । यसका लागि दिल्लीस्थित नेपाली दूतावासले पनि भूमिका खेलेको थियो ।

दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार, ११ नेपालीलाई इरानको तहरानबाट बसमा मसादसम्म लगिएको छ । मसादबाट विमानमार्फत भारत ल्याउने छ । दिल्लीमा भारतीय नागरिकलाई उतारेर नेपालीलाई सोही विमानमा काठमाडौं पठाउने तयारी रहेको एक अधिकारीले बताए ।

फिर्ता आउन लागेका नेपालीहरु कोही दूतावास त कोही रेस्टुरेन्टमा काम गर्दै आएको अधिकारीहरु बताउँछन् । सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्धार गर्ने तयारी गरिरहेको छ ।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्र मन्त्री डा. आरजु राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा दुवै देशबाट नागरिकलाई उद्दार गर्ने तयारी भइरहेको बताएकी थिइन् ।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको र स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेशन पनि खुलेको जानकारी गराएकी थिइन् । स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको उनले जनाएकी थिइन् ।

जिटूजी प्रक्रिया अन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व भएको परराष्ट्रमन्त्री देउवाले बताएकी थिइन् । त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको उनले भनेकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही थालिएको घोषणा गरेका थिए । इरानको कदमले आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघनमा भएको नेतन्याहूको जिकिर छ ।

ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी नयाँ कूटनीतिक वार्ता हुने तय भएका बेला इजरायलले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो ।

गएराति अमेरिकाले पनि इरानका परमाणु केन्द्रमा आक्रमण गरेको थियो । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्ुथ सोसलमा लेखेका छन् ।

ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको समेत उल्लेख गरेका थिए ।

अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?