
२९ साउन, काठमाडौं । कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ ।
‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ कुवेतस्थित दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले भने ।
तर, मृतकमध्ये कति जना नेपाली हुन् भन्ने बुझ्नेक्रममा रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनाको पुष्टि गरे । मल्लले घटनामा नेपाली पनि रहेको अनलाइनखबरसँग बताए । यद्यपि संख्या यकीन भएको छैन ।
उनका अनुसार कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरुको उपचार भइरहेको छ ।
कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार गत शनिबारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुनेक्रम बढेको हो । विषाक्त मदिरा सेवनका कारण शनिबारयता ६३ जना अस्पताल भर्ना भएको र १३ जनाको मृत्यु भएको त्यहाँको स्वास्य मन्त्रालयले पुष्टि गरेको समाचारमा उल्लेख छ ।
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएकाे पाइएकाे हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।
मिर्गौला फेल भएर ५१ जनाको डायलासिस चलिरहेको र २१ जनामध्ये कसैमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको छ । यस्तै ३१ जनाको भेन्टिलेसनमा राखेर उपचार भइरहेको छ ।
विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो । उद्योगहरुमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरुले बताएका छन् ।
सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।
प्रतिक्रिया 4