
News Summary
Generated by OK AI. Editorially reviewed.- बहराइनमा ७ नेपाली बैंकिङ ठगी आरोपमा जेल सजाय भोगिरहेका छन् र उनीहरूले पाकिस्तानी नागरिकले आफ्नो बैंक कार्ड दुरुपयोग गरेको बताएका छन्।
- बहराइन सरकारले बैंकिङ ठगीलाई गम्भीर अपराध मान्दै केहीलाई तीन वर्षसम्म कैद र जरिवाना तोकेको दूतावासले जनाएको छ।
- विदेशी जेलमा १ हजारभन्दा बढी नेपाली सजाय काटिरहेका छन्, जसमा साउदी अरबमा ५४४, यूएईमा ३०० भन्दा बढी रहेका छन्।
६ भदौ, काठमाडौं । बहराइनमा ७ नेपाली बैंकिङ ठगी (फर्जरी) आरोपमा जेल सजाय भोगिरहेका छन् । करिब एक वर्षअघि पक्राउ परेका ती नेपालीमाथि बैंकमार्फत ठूलो रकम ऋण लिएर नतिरेको अभियोग लगाइएको छ ।
बहराइनस्थित नेपाली दूतावास स्रोतका अनुसार उनीहरूले भने पाकिस्तानी नागरिकले आफ्नो बैंक कार्ड दुरुपयोग गरी ऋण निकालेको बयान दिएका छन् ।
‘जेलमा भेट्दा उनीहरूले हाम्रो कार्ड प्रयोग गरेर ऋण निकालियो तर रकम हामीले पाएनौं भन्ने बताएका थिए,’ दूतावासका एक अधिकारीले भने ।
बहराइनमा सीपीआर कार्ड (नेपालको नागरिकता वा आधार कार्ड जस्तै प्रयोग हुने पहिचान पत्र) भएकाले जागिरधारी व्यक्तिलाई बैंकमार्फत ऋण लिने सुविधा मिल्छ । तर, ती नेपालीको कार्ड प्रयोग गरी ३० देखि ४० हजार बहराइनी दिनार (१ करोडदेखि डेढ करोड रुपैयाँ बराबर) सम्म ऋण निकालिएको जनाइएको छ ।
‘प्रतिव्यक्ति औसत ३० देखि ४० हजार दिनारसम्म ऋण निकालिएको देखिन्छ । तर, उनीहरूले भने रकम पाएका छैनन्, उल्टै बैंकको कागजपत्र र सीसीटीभी फुटेजमा उनीहरूकै हस्ताक्षर देखाइएपछि उनीहरू फसेका छन्,’ दूतावासका ती अधिकारीले भने ।
यस घटनालाई बहराइनमा गम्भीर अपराधका रूपमा लिइएको छ । केहीलाई अदालतले तीन वर्षसम्मको कैद सजाय र जरिवाना तोकेको दूतावासले जनाएको छ ।
‘यो बैंकिङ ठगी अन्तर्राष्ट्रिय स्तरमै संवेदनशील विषय हो । नेपाल समेत फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानीमा रहेको अवस्थामा यस किसिमका मुद्दा थप गम्भीर मानिन्छन्,’ उनले भने ।
पक्राउ पर्नेमा कञ्चनपुर, झापा लगायत जिल्लाका छन् । उनीहरू करिब एक वर्षदेखि जेलमा छन् । दूतावास अधिकारीका अनुसार यस विषयमा थप बुझ्ने काम भइरहेको छ ।
जेलमा परेकाहरूका आफन्तले नेपाल सरकारसँग समेत गुहार माग गरेका छन् । परिवारले उनीहरूलाई फसाइएको र यो विषयमा आवश्यक छानबिन गरिदिन भन्दै प्रहरीकहाँ पुगेका थिए । तर, प्रहरीले यो विषयमा आफूहरूले हेर्न नमिल्ने बताएको थियो ।
बहराइन सरकारसँग थप जानकारी माग
पक्राउ परेका नेपालीका विषयमा बहराइनस्थित नेपाली दूतावासले बहराइन सरकारसँग जानकारी मागेको छ । ‘पक्राउ परेको र जेलमा रहेको भन्ने विषय जानकारीमा छ । तर, त्यससँग सम्बन्धित आवश्यक जानकारी माग गरेका छौं । बहराइनको परराष्ट्र मन्त्रालयलाई जानकारी दिन भनेर पत्र पठाएका छौं,’ दूतावासको ती अधिकारीले भने ।
परराष्ट्र मन्त्रालयबाट आवश्यक जानकारी आएपछि नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइने उनको भनाइ छ ।
‘हामीले परराष्ट्र मन्त्रालयलाई घटनासँग रिलेटेड डकुमेन्ट, सबै डकुमेन्ट हामीलाई उपलब्ध गराइदिनुस् भनेर लेखेर पठाएका छौं । हामीलाई प्रहरीमार्फत जानकारी आउँदैन । परराष्ट्र मार्फत नै जवाफ आउला । त्यसपछाडि हामीले नेपालमा परराष्ट्र मन्त्रालयमै पठाउँछौं,’ ती अधिकारीले भने ।
बहराइले बैंकिङ ठगीलाई गम्भीर अपराध मान्ने गरेको छ । जसले गर्दा उनीहरूका हकमा गम्भीर देखिएको दूतावासको बुझाइ छ । थप जानकारी माग गरेको दूतावासका अधिकारीहरू राजदूतले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएका छन् ।
वैदेशिक रोजगार सिलसिलामा जेल पुगेका नेपालीको मुद्दा समाधानका लागि परिवारहरूले समेत सरकार गुहार्दै आएका छन् । तर, अर्को देशको कानुनी प्रक्रिया भएकाले यो विषयमा कूटनीतिक पहल बाहेक केही गर्न नसकिने दूतावासका अधिकारीहरूको बुझाइ छ । दूतावासले पहल गरे पनि तत्कालै उनीहरूलाई छुटाउने सम्भावना भने न्यून देखिन्छ ।
२–४ लाख रुपैयाँ ऋण लिएर ‘युरोप–अमेरिका पुग्ने’ सपना बोकेर निस्किएका नेपाली युवा अहिले बहराइनमा ‘फर्जरी अपराधी’ को आरोप खेपिरहेका छन् । उनीहरूको परिवार नेपालमै ऋण र चिन्ताको चक्रव्यूहमा परेको छ ।
वैदेशिक रोजगारीले नेपाली परिवारलाई बाँच्नै नसक्ने ऋणको भारी थमाइरहेको अवस्थामा विभिन्न कारण विदेशी जेलमा पर्ने अर्को पीडा छ ।
वैदेशिक रोजगारीका लागि जाने नेपाली जानेर वा नजानेर विदेशी जेलमा पर्नु गम्भीर विषय देखिन्छ । हाल विभिन्न देशका जेलमा १ हजारभन्दा बढी नेपाली सजाय काटिरहेको सम्बन्धित देशस्थित नेपाली दूतावासले जनाएका छन् ।
हाल साउदी अरबमा ५ सय ४४, यूएई ३ सय, मलेसिया २ सय ५०, कतार ६४, कुवेत ५० र ओमानमा २५ नेपाली श्रमिक जेल जीवन बिताइरहेका छन् ।
प्रतिक्रिया 4