
१७ भदौ, काठमाडौं । वैदेशिक रोजगारीले कयौँ नेपालीको घरमा खुसी भित्र्याए पनि यसको अर्को पाटो अत्यन्तै भयावह छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २ सय ५५ नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाए । यो वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता प्रदान गरेकाहरूको तथ्यांक मात्रै हो । जसमा श्रम स्वीकृति लिएर गएका र मृत्युपछि शव नेपाल ल्याइएका मात्र समेटिएका छन् ।
श्रम स्वीकृति नभएका, विदेशमा विनाकागजात (अनडकुमेन्टेड) बस्दै आएकाको मृत्यु संख्या बढी छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत वर्ष १ हजार ४ सय १ जनाको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
प्रहरीको तथ्यांकमा बोर्डको तथ्यांकभन्दा १ सय ४६ जना बढीको शव नेपाल ल्याइएको देखिन्छ । बोर्डले श्रम स्वीकृति नलिई गएका वा कागजात नभएकाहरूको शव ल्याउने वा आर्थिक सहायता प्रदान गर्दैन । जसले गर्दा बोर्डको तथ्यांकमा मृतकको संख्या कम देखिएको हो । त्यसरी मृत्यु भएकाको मृतकको शव नेपाल ल्याउने र आफन्तकोमा पुर्याउने काम गरेको थियो ।
बोर्डका तथ्यांक अनुसार वैदेशिक रोजगारी क्रममा मृत्यु भएकाको शव २८ देशबाट ल्याइएको थियो । जसमा सबैभन्दा बढी मलेसिया छ । त्यहाँबाट ३ सय २७ नेपाली श्रमिकको शव ल्याइएको थियो ।
त्यसपछि साउदी अरबबाट २ सय ६४, यूएई २ सय ६४, कतार १ सय ९२ र कुवेतबाट ७५ जनाको शव ल्याइएको हो । त्यस्तै रोमानिया, बहराइन, कोरिया, जापान, मौरिसस, क्रोएसिया, ओमान, माल्दिभ्स, ग्रिस, ब्रुनाई, भियतनाम, साइप्रस, माल्टा, पोल्यान्ड लगायत देश छन् ।
पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा रहेका ३ हजार ८ सय ५२ नेपालीको मृत्यु भएको देखिन्छ । उनीहरूको शव नेपाल ल्याएर बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको थियो ।
यसरी हेर्दा हरेक दिन साढे तीन जना नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाइरहेका छन् ।
२०६५ देखि २०८१/८२ सम्मको तथ्यांक हेर्दा १४ हजार ५ सय ५४ नेपालीको वैदेशिक रोजगारी क्रममा मृत्यु भएको छ । तीन वर्षमा मलेसियामा मात्रै १ हजार १३ नेपालीको मृत्यु भएको छ । त्यसपछि साउदीमा ९ सय ४९ को मृत्यु भएको थियो । विदेशमा नेपालीको मृत्युका कारण अनेक छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ मा नेपाली माइग्रेसनबारे बृहत अध्ययन गरेको थियो । अध्ययनपछि ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट’ सार्वजनिक गरेको थियो । उक्त अध्ययनमा मृत्युका विभिन्न कारण औँल्याइएको थियो । जसमा सबैभन्दा बढी नेचुरल डेथ अर्थात् प्राकृतिक मृत्यु थियो । त्यसपछि कार्डियाक एरेस्ट, ट्राफिक एक्सिडेन्ट, सुसाइड, वर्कप्लेस एक्सिडेन्ट, हर्ट एट्याकजस्ता कारण विदेशमा नेपालीको मृत्यु हुने गरेको देखिन्छ ।
रेमिट्यान्ससँगै बढ्दो मृत्यु ग्राफ
नेपाल यतिबेला रेमिट्यान्सका भरमा चलिरहेको छ । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स हरेक वर्ष बढ्दो क्रममा छ । गत आव २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी हो ।
त्यस अवधिमा १ हजार ४ सय १ नेपालीको शव विदेशबाट ल्याइएको थियो । अघिल्लो आव २०८०/८१ मा भने १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
मलेसियामा धेरै नेपालीको मृत्यु
गत वर्ष ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृत (पुन: श्रम स्वीकृति सहित) लिई वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका थिए । तीमध्ये ४९ हजार १ सय ८७ नेपाली मलेसिया पुगेका थिए ।
सबैभन्दा बढी मलेसियामा नेपाली श्रमिकको मृत्यु भएको देखिन्छ । एक वर्षमा ३ सय २७ नेपालीको शव ल्याइएको थियो । त्यसमा कागजातविना बस्दै आएर मृत्यु भएकाको तथ्यांक समावेश छैन ।
यो विषयमा अध्ययन गरिरहेका डा. प्रमोद रेग्मीले मलेसियामा सबैभन्दा बढी मृत्यु तथा बिरामी हुनेमा सेक्युरिटी गार्ड रहेको बताए । उनले गरिरहेको अध्ययन अनुसार नेपालीको मृत्युको प्रमुख कारणमा हृदयाघात (कार्डियोभास्कुलर) देखिएको छ । जुन लगभग २० प्रतिशत छ ।
त्यस्तै आत्महत्या गरेर मृत्यु हुनेको दर पनि चिन्ताजनक रूपमा उच्च छ, जुन १०–१२ प्रतिशत हाराहारी छ । सडक दुर्घटना पनि अर्को प्रमुख कारणका रूपमा देखिएको छ । कतिपय मृत्युका घटनालाई ‘प्राकृतिक मृत्यु’ भनिए पनि त्यसको स्पष्ट कारण खुल्न सकेको छैन, जसले गर्दा मृत्युको यकिन तथ्यांक पाउन कठिन छ ।
नेपाल विकास समाज मार्फत अध्ययन गर्दै आएका अर्का डा. श्वेता कोइरालाले विदेशमा निर्माण, उत्पादन र अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्ने नेपालीको मृत्यु बढी भइरहेको बताइन् । उच्च मृत्युदर जनसंख्याको आकारले मात्र नभई उनीहरू असुरक्षित काम र जीवनयापनको अवस्थाले गर्दा भइरहेको उनको भनाइ छ ।
अंगभंग तथा घाइतेको अर्को डरलाग्दो तथ्यांक
वैदेशिक रोजगारीमा रहेका श्रमिकको मृत्युदरसँगै अंगभंग तथा घाइतेको अर्को डरलाग्दो तथ्यांक देखिएको छ । विभिन्न कारण अंगभंग तथा घाइते हुनुका साथै ‘कोमा’ मा जाने नेपालीको संख्या पनि बढ्दो क्रममा छ ।
२०६५/६६ देखि २०८१/८२ सम्ममा ३ हजार ९ सय २४ नेपाली अंगभंग तथा घाइते भएका छन् । यो बोर्डबाट आर्थिक सहायता लिएकाको मात्रै तथ्यांक हो । श्रम स्वीकृति नलिई विदेश गएर अंगभंग भएकाको तथ्यांक भने कतै भेटिँदैन ।
के हो समस्याको जड ?
डा. रेग्मी नेपाली श्रमिकको स्वास्थ्य जोखिमका पछाडि विभिन्न कारण औल्याउँछन् । अस्वस्थ जीवनशैली, लामो समय काम गर्नु, बिदा नपाउनु वा नबस्नु, अत्यधिक रक्सी सेवन (विशेषगरी नक्कली रक्सी) र कामको प्रकृतिले गर्दा पानी कम पिउनुजस्ता कारण उनले औँल्याएका छन् ।
यो समस्या मलेसियामा सेक्युरिटी गार्डहरूमा बढी देखिएको उनको भनाइ छ । आफ्नो कार्यस्थल छाड्न नमिल्ने हुँदा शौचालय जानुपर्छ भनेर पानी नै कम पिउँदा सेक्युरिटी गार्डहरूले ज्यान गुमाउन परेको अथवा स्वास्थ्य समस्याको जोखिम बढी पर्ने गरेको देखिएको छ ।
त्यस्तै पूर्वस्वास्थ्य अवस्थामा नेपालबाटै मधुमेह (डायबिटिज) र उच्च रक्तचाप (हाइपरटेन्सन) जस्ता रोग भएका व्यक्ति पनि मेडिकल जाँच पास गरेर विदेश जाने गरेका छन् । त्यहाँ पुगेपछि आफ्नो स्वास्थ्यको उचित ख्याल नगर्दा वा उपचारमा पहुँच नहुँदा उनीहरूको अवस्था झन् जटिल बन्ने गरेको उनको भनाइ छ ।
त्यस्तै मेडिकल परीक्षण प्रणालीका कारण समेत समस्या देखिने गरेको उनको भनाइ छ । नेपालमा हुने मेडिकल परीक्षण विश्वसनीय नहुनु एउटा ठूलो समस्या हुन सक्ने उनको अनुमान छ । यहाँबाट स्वस्थ प्रमाणित भएर गएका व्यक्ति पनि गन्तव्य देशमा गरिएको परीक्षणमा अयोग्य ठहरिएर फर्किनुपरेको छ ।
मलेसियाबाट मात्रै वार्षिक ३ हजारदेखि ६ हजार नेपाली स्वास्थ्यकै कारण फर्किने गरेको तथ्यांकले यस समस्याको गम्भीरता देखाउँछ ।
कामदारलाई दिइने प्रस्थान–पूर्व अभिमुखीकरण तालिम प्राय: विदेश जानु केही समय अघिमात्र दिइने हुँदा र कहिलेकाहीँ एजेन्टहरूले नै जालसाजी गरेर तालिम पूरा गराइदिने जस्ता समस्याले पनि श्रमिकको स्वास्थ्यमाथि खेलबाड हुने गरेको उनको भनाइ छ ।
डा. रेग्मीले विशेषगरी मलेसियामा कार्यरत नेपाली सेक्युरिटी गार्डहरूको अवस्था बढी चिन्ताजनक रहेको बताए । त्यहाँको कानुनले नेपालीलाई मात्र सेक्युरिटी गार्डमा राख्न पाउने व्यवस्था गरेकाले यो पेसामा नेपालीको संख्या उल्लेख्य छ । उनीहरूले अत्यन्त लामो समयसम्म (कहिलेकाहीँ ३० दिनसम्म लगातार) काम गर्नुपर्ने, बिदा नपाउने र पानी कम पिउनेजस्ता समस्या अन्य कामदारभन्दा बढी झेल्नुपरेको छ ।
श्रमिक गम्भीर न सरकार जिम्मेवार
स्वास्थ्यका विषयमा सबैभन्दा बढी सचेत हुनुपर्ने स्वयं श्रमिक हो । आफ्नो स्वास्थ्य अवस्था के छ ? कतिको जोखिममा परिरहेको छु ? भन्ने विषयमा स्वयं कामदार सचेत हुनुपर्ने डा. श्वेताको भनाइ छ ।
श्रमिकसँगै सरकार, कामदार पठाउने म्यानपावर कम्पनी, रोजगारदाता तथा घरपरिवार समेत जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
बोर्डका प्रवक्ता सुवेदीका अनुसार नेपालीहरू समस्यामा पर्नुको कारणमा अज्ञानता, तालिम अभाव, मानसिक तनाव, गलत सूचनाको प्रभाव लगायत छन् ।
विदेशमा ट्राफिक नियम थाहा नहुँदा, समुद्री छालबारे जानकारी नहुँदा र कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षाबारे ज्ञान नहुँदा नेपाली कामदारको ज्यान जोखिममा पर्ने गरेको सुवेदीको भनाइ छ ।
डा. श्वेताले विदेशमा काम गरिरहेका श्रकिमलाई घरपरिवारबाट आउने नराम्रो खबरले समेत समस्यामा पार्ने गरेको बताइन् ।
नेपालीको स्वास्थ्य समस्या, मृत्युजस्ता गम्भीर विषयमा डा. रेग्मी, डा. कोइराला लगायतको टोलीले काम गरिरहेको छ ।
उनीहरूले हालै मिर्गौला रोग (किड्नी डिजिज) र मृत्युको कारण पत्ता लगाउन गरिने ‘भर्बल अटप्सी’ सम्बन्धी अध्ययन सम्पन्न गरेका थिए । हाल म्यानपावर एजेन्सी, मेडिकल परीक्षण केन्द्र र अभिमुखीकरण तालिम केन्द्रलाई नै ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरी यी सबै समस्या एकीकृत रूपमा समाधान गर्ने परियोजनामा काम भइरहेको उनको भनाइ छ ।
डा. श्वेताका अनुसार आप्रवासी कामदारलाई प्रस्थान अभिमुखीकरण तालिममा गम्भीरतापूर्वक सहभागी हुने र सुरक्षा अभ्यास सिक्नुपर्छ । प्रस्थान गर्नुअघि पूर्णस्वास्थ्य परीक्षण गराउने, कार्यस्थलमा सुरक्षा नियम पालना गर्ने र व्यक्तिगत सुरक्षा उपकरण माग्ने, दबाबमा आएर धेरै समय काम गर्ने वा असुरक्षित अवस्थामा काम नगर्ने, आधारभूत भाषासहित विदेश जानुअघि सिप सिक्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै घरपरिवार तथा समाजका तर्फबाट समेत ऋण तिर्न कामदारलाई असुरक्षित काममा जान दबाब दिन नहुने, आप्रवासी सदस्यलाई भावनात्मक र मानसिक सहयोग प्रदान गर्ने, असुरक्षित वा शोषणकारी अवस्था रिपोर्ट गर्न सहयोग गर्ने काम गर्नुपर्ने डा. श्वेताले बताइन् ।
रेमिट्यान्सलाई प्राथमिकता दिनुको सट्टा स्वास्थ्यमा गिरावट आए फर्कन प्रोत्साहित गर्ने काम गर्न सकियो भने स्वास्थ्य समस्या तथा मृत्युदर कम गर्न सकिने उनको भनाइ छ ।
त्यस्तै भर्ती एजेन्सी, चिकित्सा केन्द्र, प्रस्थान अभिमुखीकरण तालिम प्रदायकले समेत नैतिक भर्ती अभ्यास लागु गर्ने र गन्तव्य देशमा कामदारको अवस्था ट्र्याक गर्ने, आवश्यक परेको खण्डमा कामदारको पक्षमा वकालत गर्ने, कामको प्रस्ताव र सम्झौतामा हुने ठगी र धोका हटाउने, पूर्ण र काम–विशेष चिकित्सा जाँच सुनिश्चित गर्ने जस्ता काम गर्नुपर्ने उनले बताइन् ।
त्यस्तै नेपाल सरकार तथा राजदूतावासहरूले स्वास्थ्य परीक्षण (शारीरिक र पेसागत) अनिवार्य बनाउने, भर्ती र तालिम प्रदायकहरूको प्रभावकारी अनुगमन गर्ने, द्विपक्षीय श्रम सम्झौतामा बलियो कामदार संरक्षणका प्रावधान समावेश गर्ने, आप्रवासी कामदारका लागि स्वास्थ्य तथ्यांक अनुगमन प्रणाली बनाउने, बीमा र आकस्मिक चिकित्सा सेवामा पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य समस्या र मृत्युका घटना बढी भएका देशमा ‘हेल्थ एट्याची’ व्यवस्था गर्नुपर्नेमा डा. श्वेताले जोड दिइन् ।
सरकारको पहल न्यून
विदेशमा धेरै नेपालीको मृत्यु तथा बिरामी पर्न थालेपछि श्रम मन्त्रालयले हालै एक अध्ययन गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वका गठित कार्यदलले श्रमिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरेको आँैल्याएको थियो । वैदेशिक रोगजारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड हुने गरेको कार्यदलको निष्कर्ष थियो ।
त्यसका साथै स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउनुपर्ने सुझाव दिइएको थियो ।
सोही अनुसार श्रमा मन्त्रालयले स्वास्थ्य परीक्षणलाई डिजिटलाइजेसन गराउन खोजिरहेको छ । श्रममन्त्री शरतसिंह भण्डारीले स्वास्थ्य परीक्षणलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने काम भइरहेको बताउँदै आएका छन् ।
त्यसका साथै सिपमूलक तालिम, प्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) र विभिन्न सूचनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बोर्डका प्रवक्ता सुवेदीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नुभन्दा अगाडि कामदारलाई जानकारी दिने व्यवस्था पनि गरिनुका साथै रोजगारदाता र कामदार दुवै पक्षलाई जिम्मेवार बनाउने प्रयास भइरहेको उनले बताए ।
विदेशमा हुने यस्ता घटनामा व्यक्ति स्वयं सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउँदै उनले आफ्नो जीवनको सुरक्षाप्रति व्यक्ति आफैं सचेत हुन अनुरोध गरे ।
प्रतिक्रिया 4