२३ भदौ, काठमाडौं । टर्कीले अमेरिकासँग मिलेर सीरियामा इस्लामिक स्टेटको गढ भनिएको रक्कामा आक्रमण गर्ने संकेत गरेको छ ।
टर्कीका राष्ट्रपति रिचेप अर्दोआनले भनेका छन्- अमेरिका र टर्की सीरियामा आक्रमण गर्न तयार छन् । अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनमा आयोजित जी-२० सम्मेलनमा चरमपन्थी संगठन स्लामिक स्टेटविरुद्ध मिलेर आक्रमण गर्न सुझाव दिएको अर्दोआनको भनाइ छ ।
राष्ट्रपति अर्दोआनको यो भनाइको टर्कीका सञ्चारमाध्यमहरुमा व्यापक चर्चा भइरहेको छ । यद्यपी अमेरिकाले यसको पुष्टि गरेको छैन ।
गत महिना टर्कीले सीरियाको सीमा घुसेर आइएस र कुर्द लडाकूहरुविरुद्ध आक्रमण सुरु गरेको थियो । टर्की सरकारलाई समर्थन गर्ने समूहले जाराब्लुस शहरबाट आइएस लडाकूलाई लखेटेका थिए ।
टर्कीका उपप्रधानमन्त्री नुरेतिक कानिक्लीका अनुसार टर्कीका सुरक्षाकर्मीहरु सीरियाको सीमा क्षेत्रमा नियन्त्रण कायम गरिसकेपछि भित्री इलाकातर्फ बढ्नसक्ने छन् । उनका अनुसार टर्कीको सैन्य अभियानबाट हालसम्म ११० आइएस र कुर्द लडाकूहरुको मृत्यु भइसकेको छ ।
सीरियाका राष्ट्रपति बशर अल असदलाई समर्थन गर्दै आएको रुसले टर्कीको सैन्य आक्रमणको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया 4