Comments Add Comment

भारत भ्रमणबारे प्रचण्डलाई ओलीको ६ बुँदे मागः आन्तरिक मामिलामा अनावश्यक चासो नहोस्

prachanda-and-kp-oli

२६ भदौ, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख विपक्षी दल नेकपा एमालेले छबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको आन्तरिक मामिलामा बाहृय सरोकार वा अनावश्यक चासो नहोस् भन्ने उल्लेख छ ।

‘दुई देशको सम्वन्ध सामान्य भइसक्यो’

प्रधानमन्त्री प्रचण्डले नेपाल भारत सम्वन्धलाई सुमधुर बनाउने आफ्नो एजेण्डा भएको बताउँदै आएका छन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले बुझाएको पत्रमा भने आफ्नो भ्रमणले नै दुई देशको सम्वन्ध सामान्य अवस्थामा फर्किएको दाबी गरेका छन् । साथै नेपाल र भारतबीच भएको सातबुँदे सम्झौतालाई नेपालको हित अनुकूल अघि बढाउन माग गरेका छन् ।

चीनसँगको सम्झौता के हुन्छ ?

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बुझाएको ध्यानाकर्षण पत्रमा एमाले नेतृत्वको सरकारको पालामा चीनसँग पारवहनसहितका ऐतिहासिक सम्झौता भएको भन्दै त्यसलाई अघि बढाउन माग गरेका छन् । आफ्नो नेतृत्वको सरकारमा माओवादी समेत संलग्न रहेको भन्दै ओलीले भनेका छन्, ‘भारत र चीनसँग नेपालको सर्वोपरी हित अनुकूल गरिएको सहमति र सम्झौताबारे वर्तमान सरकारको धारणा सार्वजनिक हुनुपर्छ ।’

साथै उनले नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच आउने काम नगर्न सचेत गराएका छन् ।

अरु के-के भने ओलीले ?

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा १९५० को सन्धी र त्यसयता भएका पत्रहरुको पुनरावलोकन र अध्यावधिक गर्नेबारे प्रष्ट धारणा राख्न माग गरेका छन् । कानुनी सहायता तथा सुपर्दगी सन्धीमा नेपालका अदालतमा विदेशी कानुन व्यवसायीले बहस पैरवी गर्न पाउने तथा तेस्रो मुलुकका नागरिकलाई सुपुर्दगी गर्ने प्रावधान हटाउने अडान कायमै राख्न एमालेले माग गरेको छ ।

महाकाली नदीको एकीकृत विकाससम्वन्धी सन्धी अन्तर्गत विकास परियोजना प्रतिवेदन निर्माण गर्दा महाकाली पानीको आधामा नेपालको हक रहने, लाभको हिस्सा अनुकुल लगानी, विद्युत उत्पादनको परिमाण घटाउन नहुनेबारे छलफल गरेर मात्र निर्णय गर्न एमालेले माग गरेको छ ।

काठमाडौं-निजगढ फास्टट्र्याक नेपाल आफैंले निर्माण गर्नुपर्ने, हुलाकी राजमार्गबारे भारतको सहयोग प्रष्ट पार्नुपर्ने र भविश्यमा अनिश्चित हुने कुनै काम गर्न नपाउने, सीमा क्षेत्रमा बनेका संरचना र दशगजाको अतिक्रमण हटाउनु पर्ने एमालेको माग छ ।

एमालेले इन्धन आपूर्तिमा भारतमा मात्र निर्भर हुने सर्त मानेर पाइप लाइन विछ्याउने नहुने भन्दै नेपालले अन्य देशबाट इन्धन आयात गर्न सक्ने प्रावधान खुला राख्न माग गरेको छ ।

र, प्रधानमन्त्रीप्रति गुनासो

एमालेले राष्ट्रिय हितको कुरा गर्दा आवेगयुक्त र असन्तुलित शब्द भनेर प्रहार नगर्न प्रधानमन्त्रीलाई सचेत गराएको छ । राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्वन गर्दा त्यसलाई राष्ट्रिय हितमा उठाइने आवाज उपेक्षा होउन् भन्ने आशयमात्र ठहरिने भन्दै एमालेले भनेको छ, ‘आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्वन्ध असन्तुलित तुल्याउने भनि अर्थ्याउनु अनुचित र गलत हो ।’

के भने प्रधानमन्त्री प्रचण्डले ?

एमालेको पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसलाई सकारात्मक रुपमा लिएको बताए । उनले भने, मेरो भारत भ्रमणको सन्दर्भमा दिइएको यो पत्रलाई सहयोगका रुपमा बुझेको छु, यसले मलाई सहयोग नै पुर्‍याएको छ ।’

भ्रमणमा जानु अघि पूर्व प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरुसाग छलफल गर्ने भन्दै उनलेसाझा धारणा बनाएर भारत जाने र भ्रमणलाई राष्ट्रका पक्षमा फलदायी बनाउन प्रयास हुने बकताएका छन् ।

उनले अघि भने, अहिले भारत भ्रमणका सन्दर्भमा मेरो मूल भावना र विचारलाई अममानित गर्ने तथा बदनाम गर्ने ढंगले केहीबाट भइरहेको प्रचारवाजीले भने मलाई दुखी तुल्याएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment