२ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरू सोमबार कैदबाट छुट्ने छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक हकमा कार्यविधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।
यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ ।
मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैँले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति भएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको उपलब्धिबारे जानकारी गराएका छन् ।
प्रतिक्रिया 4