Comments Add Comment

महात्मा गान्धीबारे ओली र प्रचण्डको एकै मत

गान्धी समाधिमा अर्कैले लेखेको पुस्तिकामा हस्ताक्षर

Prachanda n Oli

४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री प्रचण्डवीच चर्को मनमुटाव छ । भारतलाई हेर्ने लगायतका विषयमा यी दुई नेताहरुको मत बाझिएको छ । तर, महात्मा गान्धीका विषयमा भने प्रचण्ड र केपी ओलीको एउटै मत छ- गान्धी उपनिवेशवादविरोधी आन्दोलनका प्रेरणा स्रोत हुन् ।

असोज ३१ गते प्रधानमन्त्री प्रचण्ड भारतको राजघाटस्थित गान्धी समाधिस्थलमा पुगेका थिए । त्यहाँ उनले गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि भीआईपी प्रवेशद्वारमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । साथै सीता दाहाललाई पनि पुस्तिकामा सही गर्न लगाए ।

सशस्त्र युद्धको पृष्ठभूमिबाट राजनीतिमा उदाएका प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेको पृष्ठमा अंग्रेजी भाषामा यस्तो लेखिएको छ- ‘भारतका महान सपुत तथा शान्ति र अहिंसाका पर्याय महात्मा गान्धीप्रति श्रद्धा अर्पण गर्न पाउनु गौरव र सम्मानको विषय हो । उनी शान्तिपूर्ण परिवर्तनका प्रेरणा हुन् र उनको दर्शनले अफ्रिका र एशियाका दसौँ लाख मानिसहरूलाई उपनिवेशवाद र अन्य प्रकारका दमन र हैकम विरूद्द लड्न मद्दत गरेको छ ।’

prachanda writing

प्रचण्डले गान्धीका बारेमा थप लेखेका छन्- ‘उनी भारतका मात्र नभएर संसारकै शिखर व्यक्तित्व थिए । उनको यो दर्शन सदाका लागि शान्ति, समझदारी र सामञ्जस्यता र समुदायको सेवा गर्नका लागि प्रेरणादायी श्रोत रहिरहेको छ ।’

ओलीको पनि उस्तै कुरा

पूर्वप्रधानमन्त्री गत फागुन ७ गते दिल्ली गएका थिए । उनले फागुन ८ अर्थात् फेब्रुअरी २० तारिखका दिन राजघाटस्थित गान्धी समाधिस्थलमा पुष्प गुच्छा चढाए र आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । धर्मपत्नी राधिका शाक्यलाई पनि सही गर्न लगाए ।

सशस्त्र संघर्ष एवं झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाएका ओलीले पनि गान्धीलाई उपनिवेशवादविरोधी प्रेरणा स्रोतकै रुपमा सम्झिएका छन् । उनले गान्धी समाधिको आगन्तुक पुस्तिकामा अंग्रेजीमा लेखेका छन्- ‘भारतको राजकीय भ्रमणको दौरान राजघाटमा आई माहात्मा गान्धीजीलाई नम्र श्रद्धा अर्पण गर्न पाउनु मेरा लागि गौरव र सम्मान विषय हो । मानवजातिले उनको जीवन, दर्शन र स्वतन्त्रताका लागि गरेको संघर्षबाट धेरै सिक्न सक्छन् । उनले अपनाएको अहिंसाको सिद्धान्त र व्यवहारले भारतलाई स्वतन्त्र मात्र बनाएन, संसारमै एउटा शसक्त औपनिवेश विरोधी लहरको सिर्जना समेत गर्यो ।’

oli writing
ओलीले गान्धीका बारेमा लेखेका छन्, ‘उनको दर्शन ‘सत्यमा नै शक्ति हुन्छ’ मा अनन्त मूल्य छ । म राजघाटमा रहेको गान्धी स्मारकको व्यवस्थापन देखेर प्रभावित भएको छु । मेरो प्रार्थना’

ओली र प्रचण्ड हस्ताक्षरकर्ता मात्रै

गान्धी समाधिस्थलमा पुष्पगुच्छा चढाइसकेपछि नेपालका सरकार प्रमुखले आगन्तुक पुस्तिकामा आफैंले यस्ता कुराहरु लेख्छन् भन्ने तपाईले ठान्नुभयो भने त्यो तपाईको गलत बुझाइ हुनेछ । हाम्रा प्रधानमन्त्रीले त्यहाँ आफैंले लेख्दैनन्, अरुले नै लेखिदिएको लेखोटमा हस्ताक्षर गर्छन् । गत फागुनमा ओलीले पनि त्यसै गरे । यसपालि प्रचण्डले पनि ओलीकै जस्तो गरे ।

हाम्रो देशका प्रधानमन्त्रीले आफ्नै हातले नेपाली भाषामै लेखे कसो होला ?

ओली र प्रचण्डले हस्ताक्षर गरेको अंग्रेजी लेखोटमा भाषा र हस्ताक्षर पनि लगभग उस्तै उस्तैजस्तो देखिन्छ ।

राजघाट समाधिस्थलमा खटिएका भारतीय कर्मचारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आगन्तुक पुस्तिकामा पहिल्यै दूतावासका कर्मचारीले प्रधानमन्त्रीको सहमति लिएर उनका भनाइहरु अंग्रेजीमा लेख्छन् र प्रधानमन्त्रीले त्यसमा हस्ताक्षर गर्छन् । यसक्रममा गान्धीबारे नेपाली नेताहरुको लगभग एउटै भनाइ देख्ने गरिएको छ ।

भीआइपीहरुको सो आगन्तुक पुस्तिकामा अन्य देशका सरकार प्रमुखहरुले आफ्नै भाषमा छोटोमा लेखेको देख्न पाइन्छ । हाम्रो देशका प्रधानमन्त्रीले पनि पञ्चायत कालमा राजाहरुले गरेजस्तै तरिकालाई पछ्याउनुभन्दा एक मिनेट समय निकालेर आफ्नै हातले नेपाली भाषामै लेखे कसो होला ? अब दिल्ली जाने प्रधानमन्त्रीहरुले विचार गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment