Comments Add Comment

नाकामा तालिमप्राप्त कुकुरबाट जाँच, होटलहरुमा छापा

४ असोज, काठमाडौं । मंगलवार बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने थप तीन जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

Security_Check,-Nepal_Policeकाठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले मंगलबार बिहान पक्राउ परेका दुईजना बाहेक थप तीन जनाको पहिचान भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘विद्यालयमा आतंक सिर्जना गरेर पैसा असुल्न खोज्ने समूहले बम विष्फोट गराएको हो । तिनीहरुको पहिचान भैसकेको छ । छिट्टै पक्राउ पर्छन्,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

नाकामा तालिम प्राप्त कुकुर परिचालन

राजनीतिको नाममा आतंक सिर्जना गरेर पैसा असुल गर्ने समूहले बम विष्फोट गराएकाले कारवाहीको दायरामा ल्याउन कडाइका साथ अनुसन्धान भैरहेको एसपी कार्कीले बताए ।

घटनालगत्तै प्रहरीले काठमाडौं उपत्यकाका छिर्ने नाका र मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीहरु विशेष तालिमप्राप्त कुकुरसहित परिचालित छन् । उनीहरुले सार्बजनिक सवारी साधन तथा शंकास्पद स्थानमा कुकुरसहित खोजी अभियानलाई जारी राखेका छन् ।

काठमाडौं छिर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुरसहित उपत्यका छिर्ने र बाहिरीने सवारी साधनहरुमा जाँच भैरहेको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले बताए ।

‘हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुरसहित हामी अहिले थानकोट नाकामा चेक गर्दैछौं,’ डीएसपी पंगेनीले भने ।

मंगलबार बिहान भएको घटनामा संलग्न अभियुक्तहरुलाई लक्षित गरी उपत्यका छिर्ने नाकाहरुमा प्रहरी उपस्थिति बलियो बनाइएको डिएसपी पंगेनीले बताए ।

होटलमा छापा, बसपार्कमा पनि निगरानी

त्यस्तै नयाँबसपार्क क्षेत्रका होटलहरुमा पनि प्रहरीले छापा मारेको छ । एसपी कार्कीले भने, ‘नयाँ बसपार्क क्षेत्रका होटल तथा बसपार्कभित्र पनि तालिमप्राप्त कुुकुरको सहयोगमा कडारुपमा चेकजाँच भैरहेको छ ।’

थानकोट, नयाँ बसपार्क, बालाजु, फर्पिङ लगायतका क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

त्यसो त काठमाडौंका हरेक वृत्तका प्रहरीलाई मोटरसाइकलमा पनि परिचालन गरिएको छ । एउटा वृत्तबाट ६ देखि ७ वटा मोटरसाइकलमा प्रहरीहरु परिचालन भएका छन् । विषेश गरी कलेज, विद्यालय तथा व्यापरिक क्षेत्रमा निगरानी बढाइएको छ ।

त्यस्तै अपराध महाशाखा, काठमाडौं परिसर र वृत्तहरुबाट पनि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

यो पनि पढ्नुस्

यी हुन् विद्यालयमा बम पड्काउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment