Comments Add Comment

‘दशैंमा मुग्लिन-नारायणगढ सडकमा सास्ती नहुने’

muglin_sadak (1)
५ असोज, चितवन । चाडपर्वलाई ध्यान दिँदै असोज १० गतेसम्म मुग्लिन-नारायणगढ सडक खण्डमा यातायात आवागमन सहज पारिने भएको छ । यात्रुहरुलाई यात्रा गर्दा सहज होस् भनेर सडकका खाल्डाखुल्डी पुरिने छ ।

सडक विस्तार भइरहेको र वर्षायाम पनि परेकाले सडकमा खाल्डाखुल्डी भएको छ । जसका कारण यात्रुहरु घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ भने दुर्घटना पनि भइरहेका छन् ।

चाडपर्वका बेला यात्रुहरुलाई यात्रा गर्दा सहज होस् भनेर सडकका सबै खाल्डा खुल्डी पुरिने नारायणगढ-मुग्लिन सडक सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले असोज ८ गतेसम्म उक्त सडकखण्डका सम्पूर्ण खाल्डाखुल्डी पुरिने र १० गतेसम्म सडक ग्रेडिङको काम सक्ने जानकारी दिए ।

‘सास्ती नहुने गरी यात्रुहरुलाई सहजरुपमा यात्रा गराउने प्रयासमा हामी छौं,’ यादवले भने, ‘हालसम्म ४० प्रतिशत काम सकिएको छ । असोज १० गतेसम्म दुर्घटना न्यूनीकरणको लागि गरिएको काम सतप्रतिशत पूरा हुन्छ ।’

जिल्ला ट्रफिक प्रहरी कार्यालयले विभिन्न ३२ स्थानलाई दुर्घटनाग्रस्त क्षेत्र पहिचान गरी न्यूनीकरणका लागि पहल गर्न दिएको सुझाव अनुसार काम अगाडि बढेको यादवले बताए ।

यादवका अनुसार लेन मिच्नेलाई तुरुन्त कारबाही गर्ने र यातायात अवरुद्ध नहोस् भनेर सावधानीका कामहरु समेत सञ्चालन गरिने छ ।

आँपटारीदेखि मुग्लिनसम्मको करिब ३४ किलोमिटर लामो सडकखण्डमा तीन वटा कम्पनीहरुले सडक सुधारको काम गरिरहेका छन् । अगस्ट ३१ सम्म ३३ दशमलव ४२ प्रतिशत सडक निर्माण भइसक्नुपर्ने भए पनि २५ दशमलव ७१ प्रतिशतमात्र काम भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment