
६ असोज, काठमाडौं । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न विधामा ३१ जना पत्रकारहरु पुरस्कृत भएका छन् । राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिन् ।
गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित भएका छन् । यो पुरस्कारको राशी १ लाख पाँच हजार रुपैयाँ छ ।
आचार्य हाल प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार छन् । उनी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत हुन् ।
यसैगरी १ लाख पाँचहजार रुपैयाँ राशीकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परशु घिमिरे (ललितपुर) सम्मानित भएका छन् ।
बुटवल टुडेलाई आचारसंहिता पुरस्कार
प्रेस काउन्सील आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकले पाएको छ । आचारसंहिता पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।
बुटवल टुडे दैनिकको प्रधान सम्पादक सूर्य राना छन् ।
साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई प्रदान गरिएको छ ।
यसैगरी स्तम्भलेखन पुरस्कार कृष्णमुरारी ढुंगेल, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगीले पाएका छन् ।
भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङछाले पाएका छन् ।
साहित्यिक, स्तम्भलेखन र भाषागत पुरस्कारको राशी १५-१५ हजार रुपैयाँको छ ।
महिला सशक्तिकरण पुरस्कार कविता थापा, मनिषा श्रेष्ठ महरा र दुर्गा भण्डारीले पाएका छन् ।
सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार चार जनालाई दिइएको छ । यो विधाको पुरस्कार पाउनेहरुमा महेश दास, डा. राजेश अहिराज र देवराज -डिआर) पन्त र पवन आचार्य रहेका छन् ।
समावेशी पत्रकारिता पुरस्कार पाउने पत्रकारहरु ६ जना छन् । शितल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, रोशन सावाँ, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरीलाई यो पुरस्कार दिइएको छ ।
युवा सशक्तिकरण पुरस्कारबाट उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भुवन शर्मा र श्यामसुन्दर यादवले पाएका छन् ।
लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतिराम तिमल्सेना र रिषव गौतमलाई पुरस्कृत गरिएको छ ।
क्रियाशील पत्रकारिता पुरस्कारबाट शेखर अधिकारी, प्रदिपराज वन्त र विनोद शाहीलाई सम्मान गरिएको छ ।
महिला सशक्तिकरण, सशक्त सञ्चारकर्मी, समावेशी, युवा सशक्तिकरण, लेखन र क्रियाशील पत्रकारिता पुरस्कारको राशी जनही १०-१० हजार रुपैयाँ छ ।
बोहोरा र महर्जन उत्कृष्ट कर्मचारी
प्रेस काउन्सीलले वर्षको उत्कृष्ट कर्मचारीबाट दुई जना कर्मचारी सम्मानित भएका छन् । सूचना प्रविधि अधिकृत रामशरण बोहोरा र कार्यालय सहयोगी श्यामबाबु महर्जनलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।
बोहोराले २० हजार र महर्जनले १५ हजार रुपैयाँ पाएको प्रेस काउन्सीलले जनाएको छ ।
प्रतिक्रिया 4