७ असोज, पर्सा । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा शुक्रबार बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् ।
प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११:१५ देखि ११:३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए ।
सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आज सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताए ।
वीरगन्जको शङ्कराचार्यद्वार नजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौँदेखि गुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ ।
प्रतिक्रिया 4