९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई शिकार गरेर अघाएको बाघको संज्ञा दिएका छन् ।
आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए । नेपाली कांग्रेस निदाएको छ कि ब्यूँझिएको छ थाहा छैन भन्दै उनले भने, ‘कांग्रेस चुपचाप छ, आरामसँग बसिरहेको छ केही भएको छैन जस्तो । बाघले कुनै शिकार भेट्टायो भने टन्न खान्छ र खुट्टा पसारेर बस्छ । कांग्रेसले के शिकार गर्यो, के पायो कुन्नी खुट्टा पसारेर बसेको छ ।’
उनले अघि भने, ‘के हो नीति कांग्रेसको ? प्रमुख पार्टीको परराष्ट्र नीति के हो ? आर्थिक नीति के हो ?’
वातावरणविद सञ्चारमन्त्री !
एमाले अध्यक्ष ओलीले प्रचण्ड सरकारका सञ्चारमन्त्री राम कार्कीलाई वातावरणविद् भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
सरकारका प्रवक्ताले उत्तरतिर बाटो बनायो भने वातावरण धमिलिन्छ भनेको भन्दै उनले यसलाई भूराजनीतिको विकृत रुप भनेका छन् । र, उनले अघि भने, ‘राजनीतिक हो कि अरु केही ?’
उनले यसबारे कांग्रेसको पनि धारणा मागे । ‘उहाँहरुको सरकारको प्रवक्ताले बोल्छ, बाटो खोल्यो भने वातावरण विगिन्छ, कमेन्ट केही छ ? त्यही सही हो या होइन ?’ ओलीले प्रश्न गरे ।
बहस गर्न प्रचण्डलाई चुनौती
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सही बाटो लिन लागेको वैदेशिक सम्वन्धमा बादल लागेको टिप्पणी गरे ।
आफूले लिएको विदेश नीतिलाई कहिले सामन्ती त कहिले आवेगको राष्ट्रवाद भनिएको भन्दै उनले भने, ‘त्यसका पछाडिका तर्क के हुन्, म र मेरो पार्टी ती प्रश्नहरुमा छलफल गर्न तयार छ ।’
उनले अघि भने, ‘के हो राष्ट्रवाद, के हो सामन्ती राष्ट्रवाद ? के हो सन्तुलित ? के हो असन्तुलित ? राष्ट्रको नीति कस्तो हुनुपर्छ भन्नेमा छलफल गर्न हामी तयार छौं ।’
यसोभन्दा कोही रिसाउन पर्ने वा कसैलाई रिझाउनु पर्ने आवश्यकता नरहेको उनले बताए ।
भूराजनीति नेपालको यस्थार्थ भएको भन्दै उनले यसमा पिर गरेर उम्कन नसक्ने बताए । यसलाई कसरी सही ढंगले अघि बढाउने मुख्य कुरा भएको भन्दै उनले भने, ‘अघिल्लो सरकारले कुनै आवेशमा, उत्तेजनामा होइन, कुनै हिनताबोध राखेर होइन । नेपालका निम्ति आवश्यक कुरा गम्भीर रुपमा सोचेर नै कदम चालेको थियो ।’
माओवादी अध्यक्ष प्रचण्डले सामान्ती राष्ट्रवाद भनेकोमा खण्डन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अघि भने, ‘यो सामान्ती राष्ट्रवाद होइन । नेपाली राष्ट्रवाद हो, जनराष्ट्रवाद हो ।’
अहिलेको सरकारले सन्तुलित नीति भन्ने गरेको भन्दै उनले एकदेशमाथि निर्भर हुँदा सन्तुलित हुने, दुबैतिर गर्दा असन्तुलित हुने ? सन्तुलनको अर्को डिक्सनरी बनाउनु पर्ने भो ।’
कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महतले मुस्ताङमा नेपाली सैनिक मारिँदा भारतले त्यसलाई आफूमाथिकै आक्रमण भनेको र सहयोग गर्न तयार रहेको भन्दा वीपीले नेपाल सार्वभौम देश हो र कुनै सुरक्षा थ्रेट छैन भनेको डा. रामशरण महतले सुनाएका थिए ।
ओलीले त्यसलाई उदृत गर्दै भने, ‘आज बीपी कोइरालाको नाम छ । नेपाली कांग्रेससँग वीपीको नाम छ । नीति पनि छ ?’
मञ्चमा बसेका महतले ‘किन छैन ?’ भनेपछि ओलीले अघि भने, ‘हेरौं, त्यो व्यवहारमा देखिनुपर्यो । यसको जवाफ नेपाली जनता चाहन्छ ।’
प्रतिक्रिया 4