
१० असोज, चितवन । यातायातमन्त्री रमेश लेखकले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइहरुको खोजी कार्यलाई तिव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
मन्त्री लेखक सोमबार विहान घिमिरे दुर्घटनामा परेको स्थलको अवलोकन गर्न र खोजी कार्यबारे बुझ्न चितवन आएका छन् । उनले उद्धार टोलीमा परिचालित सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई खोजीमा सम्भव सबै उपाय अलवम्बन गर्न निर्देशन दिए ।
दुर्घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले बंगलादेशबाट गोताखोरहरु मगाएर भए पनि घिमिरेलगायत वेपत्ता व्यक्तिहरुको खोजी गर्ने बताए ।
त्यसक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चण्ड’लाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी पनि गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटर गहिराइसम्म गएर खोजी कार्य गरिएको बताउँदै त्योभन्दा पनि गहिराइमा जाने प्रविधि र जनशक्ति आफूहरुसँग नभएको जानकारी गराएका थिए ।
घिमिरेले चलाएको कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा घिमिरेसहित तीन जना वेपत्ता भएका छन् । दुर्घटनामा घिमिरेकी आमासहित तीन जनाको मृत्यु भएको थियो ।
तीनवटा डुङ्गा र एउटा र्याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीहरू नदीमा वेपत्ता भएकाहरूको खोजी कार्यमा जुटिरहेका छन् । मध्याह्न १२ बजेसम्म बेपत्ता तीनजना र गाडी पत्ता लगाउन सकिएको छैन ।
प्रतिक्रिया 4