Comments Add Comment

दिल्लीमा भेटिएका नेपालका ज्वाइँ

जसले भारतीयलाई हेर्ने नजर बदलिदिए

dilli_810प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोलीमा सयभन्दा बढी मानिसहरु सहभागी भएको चर्चा थियो । मिडियाकर्मीको लामो सूचीमा हाम्रो पनि नाम थियो । तर, सरकारी टिकटमा उडेर ताज होटलमा सरकारी खर्चमा बस्ने हाम्रो कुनै प्रवन्ध पनि थिएन र ईच्छा पनि थिएन । प्रचण्ड दिल्ली उड्नुभन्दा एक दिनअगावै हामी आफ्नै हिसाबले दिल्लीतिर उड्यौं ।

प्रचण्डले भारतमा ठूला-ठूला नेताहरु भेटे । मोदीसँग गोप्य गफ गरे । डीपी त्रिपाठीहरुसँग डिनर मिटिङ गरे । तर, हामीले दिल्लीको गल्लीमा नौजवानको भावना जाँच्ने प्रयास गर्‍यौं । यही त हो नेपाल-भारतवीचको जनस्तरको सम्बन्ध । हामीले त्यहाँको दूतावाससँग गाडी सुविधा मागेनौं । ताज होटलमा बास चाहियो पनि भनेनौं । र, सरकारी खर्चमा दिल्ली दौड गरेनौं । कतिपयले नेताको सोर्स लगाएर ताज होटलमै अड्डा जमाए । हामीबाट कुनै नेताको फेर समाउने काम भएन ।

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा लगभग रात पर्न लागेको थियो । त्यहाँबाट प्रि-पेड ट्याक्सी चढियो । करोल बागस्थित एउटा मध्यमवर्गीय होटलमा बासको प्रवन्ध भयो । चार दिनको दिल्ली बसाइभरि त्यहीँ बास बसियो ।

दिल्लीमा प्रिपेड ट्याक्सीको प्रचलन राम्रो लाग्यो । नेपालमा पनि यस्तै प्रिपेड ट्याक्सीको प्रवन्ध गर्न पाए यात्रुहरु ठगिने थिएनन् कि ? अचेल काठमाडौंका ट्याक्सी चालकहरु ‘ठग’मा दरिन थालेका छन् । असल र राम्रा चालक पनि धेरै छन्, तर केही फटाहाका कारण ट्याक्सी व्यवसाय बदनाम बन्दैछ काठमाडौंमा ।

काठमाडौंमा भर्खरै अमेरिकाबाट आएका एकजना मित्रले सुनाए, गोपीकृष्ण हलछेउबाट एउटा ट्याक्सीले गणेश मन्दिर छेउसम्म ल्याउँदा फनफनी घुमाएर २ सय रुपैयाँ ठटायो रे । भोलिपल्ट अर्को एउटा ट्याक्सीले चाँहि ६५ रुपैयाँमात्रै लिएछ र भिजिटिङ कार्ड दिँदै भनेछ, फेरि ट्याक्सी चाहिएमा फोन गर्नु होला ।

हाम्रा पर्यटनमन्त्री जीवनबहादुर शाहीले नक्कली पर्यटक बनेर ट्याक्सीलाई जाँच लिएकै हुन् । तैपनि काठमाडौंमा ट्याक्सी समात्नु भनेको एकप्रकारले ठगिनु नै हो ।

दिल्लीबाट फर्केकै दिन विमानस्थलमा ट्याक्सीलाई सोध्दा मिटरमा नजाने र शान्तिनगरसम्म आउँदा ४ सय रुपैयाँ लाग्ने ट्याक्सीवालाले सगर्व घोषणा गरिरहेको सुन्दा हाम्रो विमानस्थल कति बदनाम भइसकेको छ भन्ने स्पष्ट हुन्छ ।

काठमाडौंमा भन्दा दिल्लीको विमानस्थलमा अलि बेग्लै पाइयो । काउन्टरमा पहिले नै ट्याक्सीको पैसा तिरेपछि एउटा रसिद पाइँदोरहछ । र, त्यो रसिद देखाएपछि ट्याक्सीवालाले गन्तव्यमा पुर्‍याइदिँदोरहेछ । हामी यसैगरी प्रिपेड ट्याक्सी चढेर करोल बाग पुग्यौं ।

दिल्ली उत्रेको भोलिपल्ट बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावाससम्म पुग्नका लागि एउटा अटो समातियो, जसलाई भारतीयहरु ‘आँटो’ भन्न् । हामी आँटो चढ्यौं ।

अटो चालक रहेछन् बिहारका भरत चौधरी । उनको ससुराली रहेछ जनकपुर । ९ कक्षामा पढ्दापढ्दै नेपाली चेली भगाएर दिल्ली भासिएका । उनी मैथिली भाषा पनि मज्जाले बोल्थे । अटोभित्रै चिनाजानी भयो ।

पहिलोपटक हामीले उनले भनेको भाडा तिर्‍यौं । तर, त्यसपछि हामीलाई जहाँ जान अटो चाहिन्थ्यो, फोन गरेर उनलाई बोलाउँथ्यौं, उनी आइपुग्थे । तर, उनले कहिल्यै पनि हामीसँग यति पैसा चाहिन्छ भनेर मागेनन् । दिए पनि हुन्छ, नदिए पनि हुन्छ भन्थे उनी । हामी आफैंले अड्कलेर भाडा दियौं ।

विश्वास गर्न खोज्दा

प्रचण्डको भ्रमणको तेस्रो रात ताज होटलमा कार्यक्रम थियो । हामी भरतको अटो चढेर ताज होटलमा आइपुग्यौं । रात परेको थियो । जीएम मिडियाका मित्र सबिन धमलाले भिडियो क्यामेरा रहेको ठूलो ब्याग अटोको पछाडिको भागमा राख्दै भने, भरतजी यो क्यामेरा यही अटोमा रहोस् है । त्यसपछि हामी पनि बाध्य भयौं र आइप्याड र केही पैसा समेत रहेको हाते व्याग त्यही अटोमा छाडेर हामी होटलभित्र पस्यौं ।

कार्यक्रम र खानपिन सकेर बाहिर निस्कँदा झण्डै रातको १० बज्न लागेको थियो । फोन गर्दा भरतसँग सम्पर्क हुन सकेन । एकाएक मनमा चिसो पस्यो । दिल्लीमा दुई दिनअघि भेटेको अटो चालकको कुरो पत्याएर त्यति महंगा सामानहरु उसलाई छाडेर हिँड्ने हामी मूर्ख नभए को हुन्छ ? अब कहाँ खोज्ने ती सामान ? क्यामेरा, आइप्याड र पैसासहितको झोला अब गायब भयो ।

भारतीयहरु ठग हुन्छन् भन्ने आम नेपाली बुझाइ छ । हामीले दिल्लीमा यति सहजै भरतलाई कसरी पत्यायौं ?  शायद ऊ नेपालीको ज्वाइँ नै होइन कि ? उसले हामीलाई सबै कुरा बाहना पो बनायो कि ? पैसा नलिएजस्तो गरेर नटवरलालको भूमिका पो खेलेको रहेछ । यस्तै-यस्तै सोच्दै तारन्तार फोन डायल गरिरहेका थियौं । सुरुमा नेटवर्कको समस्या परेको रहेछ, भरतको फोन उठ्यो । उनले भने, तपाईहरुका कहाँ हुनुहुन्छ, म यहाँ गेटको छेउमा हात उठाइरहेको छु ।

भेट भएपछि भरतले सुरुमै भने, आफ्नो सामानहरु चेक गरिहाल्नोस् है, सही सलामत छन् कि छैनन् । हामी आफ्नै पापी मनलाई धिक्कार्न थाल्यौं । हुन त हामीले उनलाई पत्याएर जोखिम मोलेकै थियौं, तर उनी सच्चा मान्छे निस्किए । कति सभ्य, कति इमान्दार । भारतीयहरुलाई हेर्ने हामी नेपालीकै नजर खराब रहेछ भन्ने लाग्यो । फटाहा र चोर त जुन देशमा पनि हुन्छन् । तर, दिल्लीमा भेटिएका हाम्रा ज्वाइँ भरत चौधरी साँच्चै नै सुन्दर मानिस लाग्यो हामीलाई ।

धेरै नेपालीहरुलाई लाग्छ कि नेपाली चेलीसँग बिबाह गरेका भारतीय ज्वाइँहरु नेपाल छिर्न चाहन्छन् र यहाँ राजनीतिक आर्थिक हस्तक्षेप गर्न चाहन्छन् । तर, भरत चौधरीमा यस्तो कुनै लालसा देखिएन

बाँच्ने आफ्नै तरिका !

अटोको यात्रामा  भरतले हामीलाई दिल्लीमा कसरी अटो, रिक्सा र ट्याक्सी चालकहरुले ठग्छन् भन्ने सुनाए । कतिपय अटो चालकले युनिर्फम नलगाउने र विदेशीलाई मात्रै अटोमा चढाउने अनि ठग्ने गरेको उनले सुनाए । उनले आफ्नो जीवन दर्शन यसरी सुनाए-‘हेर्नुहोस् पैसा नै सबै थोक होइन, उनीहरु जति पैसा कमाए पनि खुशी छैनन्, म पैसालाई सबथोक ठान्दिँन, मानिसको जिउने आ-आफ्नै तरिका हुन्छ ।’

भरतले अटोको अगाडि देवी र साइबाबाको तस्वीर टाँसेका थिए । उनले भने- ‘म कहिल्यै दारु खान्न । मेरो एउटैमात्रै इच्छा छ, श्रीमती र छोराछोरीलाई कसरी खुशी राख्ने ।’

भरतका आमा र दाजु रामचन्द्र विहारमा बस्छन् र खेती किसानी गर्छन्  । भाइ लक्ष्मण चाहिँ दिल्लीमा ट्याक्सी चलाउँछन् ।

नेपालबारे बुझाइ

धेरै नेपालीहरुलाई लाग्छ कि नेपाली चेलीसँग बिबाह गरेका भारतीय ज्वाइँहरु नेपाल छिर्न चाहन्छन् र यहाँ राजनीतिक आर्थिक हस्तक्षेप गर्न चाहन्छन् । तर, भरत चौधरीमा यस्तो कुनै लालसा देखिएन । दिल्लमिा उनले जसरी जीवन चलाइरहेका छन्, त्यो अवसर उनले यो नेपालमा पाउँदैनन् । अधिकांश विहारी युवा दिल्लीमा अटो चलाएर गुजारा गर्छन् ।

बोर्डरमा नेपाली पुलिसले दिक्क लगाउँछ । र, यादवहरुले पनि यो बिहारी हो भन्दै हेप्छन् । नेपालमा एक-दुई दिन बस्न पनि ठूलो डर हुन्छ

‘सुसराल जानुपर्ने छ, अहिले नेपालमा जान सकिन्छ ?’ भरतले जिज्ञासा राखे । हामीले भन्यौं, मज्जाले सकिन्छ, कुनै अप्ठ्यारो छैन ।

तर, भरतले पत्याएनन् । उनको गुनासो थियो, बोर्डरमा नेपाली पुलिसले दिक्क लगाउँछ । र, यादवहरुले पनि यो बिहारी हो भन्दै हेप्छन् । नेपालमा एक-दुई दिन बस्न पनि ठूलो डर हुन्छ ।
हामीले उनलाई नेपालमा त्यस्तो छैन भन्यौं । तर, गल्ती नै सही उनको भनाइबाट यो अनुमान लगाउन सकिन्थ्यो कि नेपालको शान्ति सुरक्षाको स्थितिबारे भारतमा कस्तो बुझाइ रहेछ ।

भारतमा भएका प्रवासी नेपालीले घर र्फकंदा सीमानामा भारतीय प्रहरीले दुख दिने र लुट्ने गरेको बताइरहँदा यी भारतीय युवाले चाँहि हामीलाई ससुराल आउँदा सीमानामा नेपाली प्रहरीबाट दुःख पाउनु परेको गुनासो सुनाए । सीमाना बेग्लै, तर जनताको दुःखको प्रकृति एउटै ।

मोदी र केजरीवाल !

भारतीय अटो चालकले नेपालबारे आफ्नो बुझाइ त सुनाए । तर, भारतबारे नि रु उनको दिमागमा दुईवटा नाम रहेछन्, आम दिल्लीबासीमा जस्तै ।

‘यहाँ त मोदी र केजरीवालकै चर्चा छ जतासुकै ।’ उनले यसो  भनिरहँदा हामीले दिल्लीका मुख्यमन्त्री केजरीवाल कस्ता मान्छे हुन् भनेर सोध्यौं । उनको जवाफ थियो, पहिले उनी आम आदमी थिए, अब भीआइपी आदमी भैगए ।

मोदीका बारेमा उनी त्यति नकारात्मक देखिएनन् । तैपनि नेताहरु गफमात्रै गर्छन्, जनताका लागि काम गर्दैनन् भन्ने उनको गुनासो थियो ।

दिल्ली बसाइको अन्तिम दिन भरतले नै व्यवस्था गरिदिएको ट्याक्सी चढेर हामी इन्दिरा गान्धी विमानस्थल पुग्यौं । ज्वाइँ साहेबले कडा स्वरमा भनेका छन्- ‘सुसराल आएका बेला म तपाईहरुलाई फोन गर्छु नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment