१७ असोज, काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आतंककारी हमलामा मृत्यु भएकाका आफन्त र घाइतेहरुले आफ्नाबारे सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा घटनाका घाइते अमृत रोका क्षत्रीले राहतका लागि सरकारले ठोस पहल नगरेको गुनासो पोखे ।
उनले भने, ‘हामी क्यानडा सरकारको लागि काम गर्दा घाइते भयौं, कति साथीहरु वित्नुभयो, तर, क्यानडा सरकारबाट क्षतिपूर्ति दिलाउने कुरामा सरकारले अहिलेसम्म ठोस पहल गरेन ।’
घटनामा निधन भएकाहरुलाई व्रिटिस कम्पनीले पनि ३० हजार डलर मात्रै दिएको र घाइतेहरुलाई तीन महिनामात्रै उपचार गरेको स्पष्ट पारे । उनका अनुसार व्रिटिस कम्पनीसँग २०११ मा कामको सिलसिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्ने सम्झौता गरेको थियो । ‘तर, अहिले ३० हजार डलर दिएर खाली पत्रमा कृत्रिम हस्ताक्षर गरी उचित क्षतिपूर्ति नदिने प्रपञ्च रचिरहेको छ,’ उनले भने ।
अर्का घाइते मोहनबहादुर थापाले पनि उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गरे ।
मृतक विदुर सुवेदीकी श्रीमती गंगा सुवेदीले क्षतिपूर्ति रकम थप गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, पीडामाथि झन् पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस् भन्छन्, त कहिले उहाँ जानु भन्छ तर, काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भइसक्यो ।’
कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृतकका आफन्त र घाइतेलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने बताए ।
प्रतिक्रिया 4