१७ असोज, काठमाडौं । कुमारी बैंकले तीन वटा विकास बैंक र एक फाइनान्सलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने भएको हो ।
अढाई महिनाअघि एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले मर्जर तथा एक्वायरका लागि पार्टनरको खोजीलाई तीब्र बनाएको थियो ।
एक्वायरसम्बन्धी सम्झौतापत्रमा कुमारीका मर्जर कमिटी संयोजक डा. शोभाकान्त ढकाल, काष्ठमण्डपका मर्जर कमिटी संयोजक कृष्ण ज्ञवाली, महाकालीका सञ्चालक डिलाराम खरेल, काँक्रेबिहारका सञ्चालक राजकुमार गुरुङ र पश्चिमाञ्चलका सञ्चालक ज्ञानेन्द्र कसजूले आइतबार साँझ हस्ताक्षर गरे ।
यसअघि नै काष्ठमण्डपले महाकाली, काँक्रेबिहार र पश्चिमाञ्चललाई एक्वायर गर्ने सभ्झौता गरी राष्ट्र बैंकमा आवेदन दिएको थियो ।
तर, कुमारी बैंकसँग एक्वायरमा जाने भएपछि तीन संस्थालाई एक्वायर गर्ने काष्ठमण्डपको प्रक्रिया स्थगित गरी नयाँ प्रक्रिया सुरु गरिएको काष्ठमण्डपका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले जानकारी दिए ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले ०७४ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्म बढाउनुपर्ने व्यवस्था गरेको थियो । जसअनुसार वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।
यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् । भण्डारीका अनुसार एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ ।
‘यो रणनीतिक एक्वायर हो । एक्वायर सम्पन्न भएपछि काठमाडौं र काठमाडौंदेखि पश्चिमका क्षेत्रमा कुमारी बैंकको निकै बलियो उपस्थिति हुनेछ,’ भण्डारीले भने ।
भण्डारीकै नेतृत्वमा नेशनल फाइनान्स र नारायणी फाइनान्सलाई गाभिएर नेशनल नारायणी फाइनान्स भएको थियो । त्यसैगरी, उनले स्टान्डर्ड फाइनान्स र माछापुच्छ्रे बैंक गाभ्न पनि सक्रिय भूमिका खेलेका थिए । भण्डारीकै नेतृत्वमा शिखर फाइनान्सलाई काष्ठमण्डप डेभलपमेन्ट बैंकमा गाभिएको थियो ।
प्रतिक्रिया 4