Comments Add Comment

गोताखोरहरू माछाजस्तै बनेर त्रिशुलीमा पसे, तर भेटिएनन् घिमिरे

त्रिशुलीमा कहिलेसम्म खोज्ने पूर्वगृहमन्त्री घिमिरेलाई ?

Madhav-Ghimire-Accident,-at-Trishuli
पूर्वगृहमन्त्री माधव घिमिरेको खोजीमा परिचालित एक टोली

१७ असोज, चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा गाडीसहित वेपत्ता भएको नौ दिन बितिसकेको छ । घिमिरेसहित उनका दुई भाइहरु प्रकाश र मदन पनि वेपत्ता भए ।

उनीहरु वेपत्ता भएको दिनदेखि नै त्रिशुलीको घोप्टभिरबाट तल उद्धार टोलीले खोजी भने जारी नै राखेको छ । परिवारका सदस्यले असोज १४ गते नै कुशको शव बनाएर घिमिरेको दाहसंस्कार पशुपतिमा गरिसकेका छन् ।

यसको अर्थ घिमिरे अब ज्यूँदो रहेनन् भन्ने नै हो । तर, घिमिरेका परिवारले १३ औं दिनको काजक्रिया गर्ने दिन आइसक्न लाग्दा पनि प्रहरी र सेनाले भने घिमिरेको खोजी अझै पनि त्रिशुलीमा गरिरहेको छ ।

प्रहरी उच्च स्रोतले भन्यो, ‘कहिलेसम्म खोज्ने हो पत्तो छैन । दुःख र हैरान मात्रै भयो उपलब्धी हात लागेन ।’

खोजीका क्रममा त्रिशुली नदीको करिब २५ मिटर गहिराईमा गत शुक्रबार एउटा गाडी जस्तो बस्तु फेला परेको छ । तर, ५ दिनसम्म प्रयास गर्दा पनि त्यसलाई बाहिर निकाल्न सकिएको छैन ।

‘सडकको उचाई र नदीको गहिराई धेरै भएका कारण उपलब्ध क्रेन लगायतका साधनबाट माथि सवारी निकाल्न र खोज्न नै निकै समस्या देखियो,’ चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने ।

प्रयाप्त साधनस्रोतकै अभावमा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा बेपत्ता भएको ९ दिन बितिसक्दा पनि फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अझै पनि खोजी कार्य जारी नै छ ।

प्रमुख जिल्ला अधिकारी सिंहले घटनास्थल वरपर सवारी साधन भेटिनसक्ने सम्भावना निकै कम भएको अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताए

‘पानी धमिलो छ, दुरविनका माध्यमबाट पनि तल देख्न सकिँदैन । पानीको बहाव तीव्र छ अडिन पनि सकिँदैन,’ खोजीमा संलग्न प्रहरी अधिकारीहरु भन्छन् ।

अर्को आदेश नहुँदासम्म खोजी जारी

चितवनका प्रमुख जिल्ला अधिकारी सिंहले घटनास्थल वरपर सवारी साधन भेटिनसक्ने सम्भावना निकै कम भएको अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताएका छन् ।

‘गाडी भेट्न नै निकै मुस्किल अवस्था छ, भौगोलिक बनावट र स्रोत साधनहरुको पनि अभावका कारण कुनै नतिजा दिन सकिएन,’ प्रजिअ सिंहले भने, ‘माथिबाट अर्को आदेश नआएसम्म खोजी भने जारी राख्ने छौं ।’

घिमिरेसहित खोजीका लागि दैनिक १८० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलमा खोजीका लागि ६० जना र अन्य बिभिन्न स्थानमा नदीले बगाएको हुन सक्ने आशंकामा खोज्न १२० जनाको टोली यहि कामका लागि खटिएको छ । नेपालका नदीहरुको अवस्था अनुसारको दक्ष जनशक्ति र आधुनिक साधनस्रोतको अभावकै कारण नदीमा बेपत्ता भएकाहरुको खोजी कार्य सफल हुन सकेको छैन । नेपालका नदीहरुको बहावको अवस्था, गहिराई लगायतका विषयमा अध्ययन गरेर सोही अनुसारको दक्ष जनशक्ति उत्पादन नहुनु र आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता खोजी कार्य असफल हुँदै आएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवर नदीको अवस्था अनुसारका दक्ष जनशक्ति र साधनश्रोतकै अभावका कारण बेपत्ता खोजी कार्य प्रभावित हुने गरेको बताउँछन् । सरकारले त्रिशुलीजस्ता नदीमा सवारी दुर्घटना हुँदा उद्धारका लागि चाहिने स्रोतसाधन र दक्ष जनशक्ति तयार गर्नुपर्ने उनको सुझाव छ । विदेशमा तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीसँग भएपनि साँघुरो खोच, धमिलो नदी र उच्च बहावसँग जुध्न गोताखोरहरुले नसक्ने उनले बताए ।

कैलालीबाट आएका गोताखोरहरुले सुरक्षा अधिकारीहरुलाई घटनास्थल वरपर गाडी नभएको जानकारी दिएका छन्

कैलालीबाट आएका गोताखोर पनि फर्किए

राष्ट्रियस्तरमै चर्चा पाएको घटनाबारे जानकारी पाएपछि कैलालीबाट आइतबार पाँच जना गोताखोरहरुलाई ल्याइएको थियो । उनीहरु सुरक्षा निकायबाहेकका गोताखोर हुन् । उनीहरुले घोप्टेभिरमा अड्डा नै जमाएर खोजी गरे । कम्प्रेसरको सहायताले अक्सिजन लगाएर पानीको निकै ठूलो दबाव भएको क्षेत्रमा करिव २५ फिट तल पुगेर खोजी गर्दा गाडीको अवस्था पत्ता लगाउन उनीहरुले सकेनन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी सिंहको पहलमा कैलालीबाट आएका गोताखोरहरुले सुरक्षा अधिकारीहरुलाई घटनास्थल वरपर गाडी नभएको जानकारी दिएका छन् ।

‘उनीहरुले माछा जस्तै पानीको तल तलसम्म पुगेर जोखिमपूर्ण ढंगले खोजी काम गरे, तर उपलब्धी हात लागेन,’ विपत्त व्यवस्थापन तामिल केन्द्र कुरीनटारका प्रवक्ता एसएसपी गणेशबहादुर थापाले भने ‘घटनास्थल वरपर सवारी नभएको जानकारी दिएकाले अब सोच्नुपर्ने अवस्था आएको छ ।’

केही वर्ष अघि भेरी नदीमा भएको दुर्घटनामा कैलालीको यहि टोलीले गाडी पत्ता लगाएर साढे २ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

प्रमुख जिल्ला अधिकारी सिंहले अनलाइनखबरसँग भने, ‘उनीहरु गाडी नै फेला पारिदिने भन्दै आएका थिए, तर निकै कठिन भूगोल र नदीका कारण यत्तिकै फर्किए ।’

त्रिशुलीमा साउनयता १५ जना बेपत्ता

दुर्घटनामा नेपालका नदीहरुमा दर्जनौं सर्बसाधारण बेपत्ता हुँदा तिनको खोजी कार्य असफल हुँदै आएको छ ।

नारायणगढदेखि मौवाखोलासम्मको सडक खण्डबाट चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै सवारीसाधन खसेर त्रिशुली नदीमा बेपत्ता १५ जना यात्रु अझै भेटिएका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो सडक खण्डमा २०७१ सालमा सातवटा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु, १० जना घाइते र दुई जना बेपत्ता भएका थिए ।

यस्तै २०७२ सालमा चारवटा सवारी साधन त्रिशुली नदीमा खस्दा तीन्ा जनाको मृत्यु, १४ जना घाइते र दुई जना बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए ।

२०७३ साल भदौ मसान्तसम्म नौ वटा सवारी साधन त्रिशुलीमा खसिसकेका छन् । ती घटनामा ३० जनाको मृत्यु, ३१ ज्ाना घाइते र १५ जना बेपत्ता भएका छन् ।

असोज महिना लागेपछि पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएका छन् । सोही दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।

बितेका तीन वर्षमा दुई वटा यात्रुबाहक बस, दुई वटा मोटरसाइकल, १६ वटा ट्रक तथा मिनीट्रक त्रिशुली नदीमा खसेको भेटवालले जानकारी दिए । साँघुरो सडक, बढी खाल्टाखुल्टी, सवारी साधनको अत्याधिक चाप र बढी घुम्ती रहेका कारण सवारी दुर्घटना बढी हुने गरेको उनले बताए ।

(सुवास पण्डितको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment