Comments Add Comment

दशैंमा लामो दूरीको यात्रा गर्दा ध्यान दिनुपर्ने ५ कुरा

New-Buspark-Kathmandu

१८ असोज, काठमाडौ । लामो दूरीको यात्रा भन्नासाथ हाम्रो ध्यान सबैभन्दा पहिले चाउचाउ, चिप्स, तितौरालगायतका खानेकुरामा जान्छ । तर, त्यस्ता खाना स्वास्थ्यका लागि कत्तिको लाभदायक छन् ? यसतर्फ हाम्रो ध्यान जाने गरेको छैन । यसले गर्दा स्वास्थ्यमा असर त पर्छ नै, कतिपय मानिसलाई वान्तासमेत हुने गर्छ ।

लामो यात्रामा यस्तो समस्याबाट बच्न पाँच कुरामा ध्यान दिनु आवश्यक छः

१. थोरै खानेः टन्न खाना खाएर यात्रा गर्दा शरीरले खाना पचाउन सक्तैन । त्यसले कब्जियत, पेटको दुखाइ लगायतका विभिन्न समस्या उत्पन्न हुन्छन् । त्यसैले लामो यात्राकमा क्रममा थोरै मात्र खाना खानु उपयुक्त हुन्छ ।

२. धेरै पानी पिउनेः पानी हाम्रो शरीरका लागि निकै आवश्यक छ । शरीरमा पानीको कमी भएमा डिहाइड्रेसनको समस्या हुन सक्छ । यसले गर्दा खुट्टा बाउँडिने, मुख सुक्ने, पिसाब रोकिने, शरीर गल्ने, बेहोस हुनेलगायतको समस्या उब्जन सक्छन् । यसबाट बच्न यात्रा गर्दा प्रशस्त पानी पिउनुपर्छ ।

३. आराम गर्नेः शरीरलाई जति खानाका आवश्यक हुन्छ, उति नै आरामको पनि जरुरत हुन्छ । त्यसैले यात्रापूर्व वा यात्राका क्रममा सकेसम्म शरीरलाई आराम दिनुपर्छ । यसले तपाई थकान महसुस हुन दिँदैन । र साथै यात्रा सकिएलगत्तै पनि शरीरमा स्फुर्ति कायम राख्छ ।

४. नौलो खाना नखानेः यात्राका दौरान हामी विभिन्न ठाउँमा आर्कषक तरिकाले तयार पारिएको खानेकुरा देखेर लोभिने गर्छौं । हेर्दै खाउँ खाउँ लाग्ने गरी विभिन्न रंगको प्रयोग गरी सजाएर राखिएको खानेकुरा देख्दा त्यस्तो खाना कसलाई पो मन नलाग्ला र ?

यात्राका बेला कहिलेकाहीँ हामी विचारै नगरी अनेक किसिमका खानेकुरा खाइरहेका हुन्छौं । त्यस्तो खाना शरीरका लागि नौलो हुन सक्छ, जसले गर्दा उक्त खानालाई शरीरले पचाउन सक्दैन । यसबाट बच्न यात्रा गर्दा आफुले दैनिक खाने साधारण खानामै ध्यान दिनु उपयुक्त हुन्छ ।

५. चिल्लो, पिरो तथा बोसोयुक्त खाना नखानेः चिल्लो, पिरो खानेकुरा शरीरका लागि यसै पनि लाभदायक मानिँदैन । अझ यात्राका बेलामा त्यस्ता खानेकुरा बढी फाइदाजनक हुँदैनन् । यात्राका दौरान त्यस्ता खानालाई शरीरले सजिलै पचाउन सक्तैन । जसले गर्दा यात्राको दौरान हाम्ा्रो शरीरमा विभिन्न समस्या आइपर्न सक्छ । यसबाट बच्न पनि सकेसम्म लामो दुरीको यात्रा गर्दा त्यस्ता खाना नखानु नै बेस हुन्छ । किनकि गन्तव्यमा पुगेपछि खाने भनेको त छँदै छ नि । हैन र ?

(वरिष्ठ फिजिसियन डाक्टर डीपी सिंहसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment