Comments Add Comment

‘दशैं नै हो कि यो मेरो दशा…’

Prem Basnet-dashain_810

प्रेम बस्नेत एक बिहान चावहिलस्थित घरबाट गुह्येश्वरीतिर मर्निङ वाकमा निस्किएका थिए । दशैं नजिकिँदै गरेको समय थियो । उनीभन्दा अगाडि दुई जना मानिस आपसमा कुरा गर्दै हिँडिरहेका थिए । उनीहरु एउटै गाउँका छिमेकी रहेछन् ।

तीमध्ये एक जनाले दशैंमा गाउँकै अर्का मान्छेसँग खसी आधा-आधा बाँडेर खाने गरेको रहेछ । तर, त्यो वर्ष आधा खसी लिने मान्छेको घरमा जुठो पर्‍यो । एक्लै सिंगै खसी खाने हैसियत भएन । त्यो बह उनी साथीसँग पोखिरहेका थिए । दुवैको कुरा खुब चाखले सुनिरहेका प्रेमलाई झ्वास्स लाग्यो, दशैं मान्न चाहिँ नेपालीहरुलाई गाह्रै पर्दो रहेछ !

आम नेपालीलाई चाडबाडले थिचेको पीडा कहाँ कसरी पोखूँ भनेर उनलाई छटपटी भइरह्यो ।

घर आएर चिया खाँदै उनले गीत लेखे, ‘दशैं नै हो कि यो मेरो दशा…’

***

यो गीत अहिले दशैंको ‘आईडी सङ’ जस्तै भएको छ । तर, यो गीत भन्नासाथ धेरैको मानसपटलमा
गायक योगेश्वर अमात्यको अनुहार आउँछ । संगीतकार न्ह्यू बज्राचार्यको नाम पनि कहीँकतै आउँछ । तर, गीतको शब्द लेख्ने व्यक्ति भने गुमनाम सरह छन् । को हुन् त उनी ?

यो गीतका सर्जक प्रेम बस्नेतबारे सार्वजनिक रुपमा खासै चर्चा सुनिँदैन । तर, खोतल्दै जाँदा थाहा भो, उनी आफ्नो समयका हस्ती नै रहेछन् । नेपाली रजतपटको इतिहासमा उनको नाम सुरक्षित रहेछ । अर्थात् उनी रहेछन् नेपालको पहिलो रंगीन चलचित्र कुमारी (०३३) का निर्देशक ।

उनी केटौले उमेरदेखि नै जीवनमा केही नयाँ गर्नुपर्छ भन्ने सोच राख्थे । नयाँ मोड कस्तो भइदियो भने, उनी अमेरिकाको हवाइमा पूर्ण छात्रवृत्तिमा ‘एमएस’ पढ्न पाउने अवसर छाडेर फिल्मको मोहनीमा फसेका रहेछन् ।

‘कुमारी’पछि उनले कुनै फिचर फिल्म बनाएनन् । प्रयास त गरे, तर विभिन्न कठिनाइले पार लागेन

पाँच दशकअघि उनका अगाडि अमेरिका जाने कि फिल्मबारे पढ्न भारत जाने भन्ने दुई विकल्प देखिए । तर, उनले दोस्रो विकल्प रोजे । फिल्म निर्देशन र स्क्रिप्ट राइटिङको दुईवर्षे कोर्ष पढ्न भारतको पुना पुगे ।

‘घरमा सोध्दा तँलाई जे मन लाग्छ त्यही गर् भन्ने कुरा आयो । केही गरेर देखाउने नयाँ चिज यो पो हो भनेर फिल्म पढ्ने निर्णय गरेँ,’ चावहिल मित्रपार्कस्थित निवासमा उनले सुनाए ।

‘कुमारी’पछि उनले कुनै फिचर फिल्म बनाएनन् । प्रयास त गरे, तर विभिन्न कठिनाइले पार लागेन । बरु चलचित्र संस्थान, पर्यटन विभाग, नेपाल राष्ट्र बैंक, वायुसेवा निगमको लागि वृत्तचित्रहरू बनाए ।

पछिल्लो समय भने जीवनको ८० वसन्त छुन लाग्दा उनी घरमै सुस्ताइरहेका छन् । मुड चल्यो भने यदाकदा शब्दको भर्‍याङ लगाएर गीत बुन्छन् । दशैं गीत त्यसै क्रमको उपज हो ।

तिहार सम्बन्धी अर्को गीत दिवंगत गायक खेमराज गुरुङले गाएका थिए । लेखेका गीतहरुमध्ये रेकर्ड भएका जम्माजम्मी गीत यिनै दुइटा हुन् ।

***

गरिबको ‘टाउको खाने’ दशैंबारे करिब १२ वर्षअघि लेखिएको गीतको किस्सा उनले सुनाउन थाले ।

Prem Basnet 455त्यो बिहान गीत लेखिसक्नासाथ योगी (योगेश्वर अमात्य) लाई फोन गरे । जागिरे जीवनमा प्रेमको बानी थियो, संगीतकर्मीहरुलाई क्लबमा भेला गराएर बार्बिक्यु गर्दै गीतको महफिलमा रम्ने । त्यसै क्रममा योगीसँग चिनजान र निकटता भएको रहेछ ।

लेख्दालेख्दै उनलाई यो गीत योगीलाई फिट हुन्छ भन्ने लाग्यो । आफैंले गुनगुनाउँदै लेखिरहँदा ‘टाउको खाएको’ भन्ने उच्च पीडा योगीकै गलाले दर्शाउन सक्छ भन्ने सोच आयो । तुरुन्तै फोन गरे ।

– ‘मैले तिमीलाई आज भेट्नुपर्‍यो’, उनले योगीलाई भने, ‘एउटा गीत लेख्या छु ।’
– ‘के रे ? दाइले गीत लेख्या रे !,’ योगी छक्क परे ।
– ‘तिमीले नपत्याको ? इनिग्मा (कान्तिपथमा रहेको रेष्टुरेन्ट)मा आऊ तिमी ।’ इनिग्मा त्यतिबेला उनीहरुको जक्सन जस्तै थियो ।

बिहान ११ बजे भेट्ने समय तय भयो । योगीले संगीतकार न्ह्यू बज्राचार्यलाई पनि भनेर सँगै ल्याएछन् । ‘मैले गीत पढेर सुनाएँ, दुवैले एकदम मन पराए’, उनले सम्झिए । गीतभित्र संवादहरु देखेर उनीहरु झन् दंगै परे ।

त्यसपछि नजिकै रहेको न्ह्यूको डोरेमी संगीत पाठशालामा पुगे तीनै जना । न्ह्यूले पाँच मिनेटमै धुन तयार पारे । हुन पनि जम्मा दुई लाइनको थियो गीत । अरु त संवादहरू थिए ।

‘यस्तो फरक खालको स्वादमा संगीत गरेको पहिलो र एकमात्र गीत यही हो,’ संगीतकार न्ह्यूले अनुभव बताए ।

कतिपयले यसलाई ‘न्यारेटिभ पप सङ’ को उपमा दिए पनि न्ह्यू त्यस्तो कुनै नाम दिन चाहँदैनन् । यो गीतमा संयोगैसंयोग जोडिएको छ । न्ह्यूले योगेश्वरसँग काम गरेको पहिलो गीत यही रहेछ । प्रेमको पनि रेकर्ड भएको जीवनको पहिलो गीत यही हो ।

गीतमा योगेश्वर अमात्यले गायन सम्हाले भने संवादको भाग हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले पूरा गर्ने भए ।

‘अनौठो संयोग छ यो गीतको,’ प्रेमले रोचक सन्दर्भ सुनाए, ‘त्यही दिन लेखिएको गीत त्यही दिन संगीत भरेर त्यही दिन रेकर्ड भयो ।’

गीत रेकर्ड चाहिँ जेम्स प्रधानको स्टुडियो म्युजिक वर्क्समा गरिएको रहेछ ।

मुख्य दुई हरफ रहेको गीतभित्र अरु ‘फिल इन’ हरु छन् । जसमा एउटा परिवारभित्र श्रीमती र छोराछोरीहरूका एकपछि अर्को ‘दशैं-फर्मायश’ सुनेपछि घरमुली हैरान भएर सुस्केरा पोख्छ ।

गीत चले अनुसार प्रेम बस्नेतको कुनै नाम सुनिँदैन । दशैंमा दीनदुःखी नेपालीको पीडा झल्काउने गीतका गीतकार उपेक्षामा परेर आफैं पीडित भए जस्तो लाग्छ

उनलाई गीतको बीचमा संवाद हाल्ने विचार कसरी आयो त ?

‘खै, कसरी आयो, मलाई नै थाहा छैन । मैले कहिल्यै गरेको काम पनि होइन । अनुभव नभए पनि दशैंको पीडा दर्शाउने क्रममा संवाद आए होलान्’, प्रेमले उतिवेलाको सन्दर्भ सम्झिने प्रयास गर्दै भने ।

गीत रेकर्ड भएर आएपछि निकै लोकप्रिय भयो । दशैंको बेला त एफएम रेडियोहरुबाट बजिरहने गीत बन्यो । तर, गीत चले अनुसार प्रेम बस्नेतको कुनै नाम सुनिँदैन । दशैंमा दीनदुःखी नेपालीको पीडा झल्काउने गीतका गीतकार उपेक्षामा परेर आफैं पीडित भए जस्तो लाग्छ ।

यसमा पनि उनलाई कुनै गुनासो रहेनछ । ‘मैले यसबाट केही चाहेकै होइन । म जस लिएर हिँड्ने खालको मान्छे होइन । एउटा मुडमा लेखेर सुनाउँदा गायक र संगीतकारलाई मन पर्‍यो । रेकर्डिङ भएर सुन्न पाइयो । यतिमैखुशी छु’

यो सुनाइरहँदा रंगीन चलचित्रका निर्देशकको मुहारमा सन्तुष्टिको रंगीन मुस्कान देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment