१९ असोज, काठमाडौं । दश दिनदेखि शिक्षण अस्पतालमा आमरण अनसन बस्दै आएका डा. गोविन्द केसीले जस्तोसुकै दबाव आए पनि अनसन नतोड्ने भएका छन् ।
चिकित्सा क्षेत्रका विभिन्न मागहरु पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले डा. केसी असोज १० गतेदेखि अनसन बसेका छन् । यो उनको नवौं अनशन हो । अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य निकै कमजोर बन्न थालेको छ ।
बुधबार बिहान अनसनरत डा. केसीसँग अनलाइनखबरले कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । डा. केसीका सहयोगी डा. मनोज लम्सालले डाक्टर साहेबले नबोल्ने जानकारी दिए ।
साथै डा. लम्सालले जस्तोसुकै दबाव आए पनि केसीले आफ्ना मागहरु पूरा नभएसम्म अनसन स्थगन नगर्ने अनलाइनखबरलाई बताए ।
विगतमा डा. केसीले १४ दिनसम्म अनसन बस्ने गरेका थिए । सरकारसँग केही समझदारी भएपछि उनले बिरामीका हातबाट जुस खाएर अनसन तोड्ने गरेका थिए । यसपालि पनि डा. केसी अनुसन बस्न थालेको १० दिन पुगिसकेको छ ।
तर, दशैं संघारमै आइसकेकाले मिडियाहरु पनि बन्द हुने र सरकारमाथिको दबाव कमजोर हुने सम्भावना बढ्दो छ । यो अवस्थामा डा. केसीको जीवनरक्षाको प्रश्न निकै गम्भीर हुने देखिएकाले सरकारले बेलैमा समस्या समाधानको पहल गर्नुपर्ने उनका शुभचिन्तकहरु बताउँछन् ।
यसैवीच स्वास्थमन्त्री गगन थापाको पत्राचारपछि बुधबार नै नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठक बस्दैछ ।
प्रतिक्रिया 4