Comments Add Comment

च्याँखे थापेर सांसद बन्ने दिन गए ! ३ प्रतिशत थ्रेसहोल्ड लगाउने तयारी

समानुपातिकमा सांसद पाउन एक लाख मत कटाउनुपर्ने ?

samsad३ कात्तिक,काठमाडौं । कुनै पनि राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाउन र समानुपातिकबाट सांसद बन्नका लागि कम्तिमा ३ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था राख्न प्रमुख दलहरु सहमति नजिक पुगेका छन् ।

कुल मतको ३ प्रतिशत मत पाउने दलले मात्र समानुपातिकमा सांसद सिफारिस गर्न पाउने भएमा अहिले भएका आधा भन्दा बढि साना दलहरुको अस्तित्व समाप्त हुनेछ ।

संसदमा पेश भएको राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा यसबारे केही उल्लेख छैन । निर्वाचन आयोगले संसदीय दलको सुविधा पाउन डेढ प्रतिशत मत ल्याउनुपर्ने प्राबधान राखेर पठाए पनि सरकारले सो प्रस्ताव हटाएको स्रोतले जनाएको छ ।

कांग्रेस र एमालेको यस्तो छ सहमति

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले कम्तिमा ३ प्रतिशत थ्रेसहोल्ड राख्न सहमत भएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र यसबारे अन्यौलग्रस्त छ ।

कांग्रेस र एमालेका केही सांसदले संसदीय दलको मान्यता पाउन र समानुपातिकबाट सांसद पाउन कुनै पनि दलले ५ प्रतिशत मत पाउनुपर्ने व्यवस्था हुनुपर्ने गरी विधेयकमा संशोधन प्रस्ताव राखेका छन् ।

यस्तो प्रस्ताब राख्नेमा कांग्रेसका रामहरि खतिवडा, भरतकुमार शाह छन् भने एमालेका रामेश्वर फुयाल, टेकु नेपाली लगायत छन् । त्यसो त माओवादी केन्द्रका मनोनित सांसद जनकराज जोशीले पनि ५ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने संशोधन पेश गरेका छन् ।

सांसदहरुले आआफ्नो ढंगले संशोधन हाले पनि कांग्रेस र एमालेबीच कम्तिमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने गरस् विधेयक संशोधन गर्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

एमालेको अर्को प्रस्ताव

एमालेले समानुपातिक सांसद पाउन तीन प्रतिशत मत कटाउनुपर्ने वा प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेको हुनुपर्ने गरी कानुन बनाउन प्रस्ताव गरेको नेम्वाङले बताए । उनले भने-प्रत्यक्षतर्फ एक सिट जित्ने दलले कम्तिमा एक समानुपातिकमा पाउँदा न्याय हुन्छ भन्ने हाम्रो कुरा हो ।

एमालेको यो प्रस्तावले नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा जस्ता साना बामपन्थी र कतिमय मधेसवादी दललाई फाइदा पुग्नेछ ।

माओवादीमा गोलमटोल

कांग्रेस र एमालेले राजनीतिक दल सम्बन्धी कानुनमै ३ प्रतिशत मतको अनिवार्यता राख्न सकिए प्रतिनिधिसभा सम्बन्धी कानुनमा थ्रेसहोल्ड राख्न सकिनेमा छन् । माओवादीले यसबारे प्रष्ट पारेको छैन ।

माओवादी सांसद रामनारायण बिडारीले हालेको संशोधन प्रस्तावमा संसदीय दलको सुबिधा पाउन कुनै पनि राजनीतिक पार्टीले निर्वाचनमा खसेको कुल मतको डेढ प्रतिशत पाउनुपर्ने उल्लेख गरेका छन् । यद्यपि यो समानुपातिक सांसद पाउनका लागि भन्दा पनि दलको सुबिधा पाउनका लागि हो ।

बिडारीले थ्रेसहोल्डबारे माओवादी पार्टी गोलमटोल अबस्थामा रहेको बताए । उनले भने-हामी ठाउँ अनुसार कुरा गर्ने अवस्थामा छौं । पार्टीले यसबारेमा कुनै निर्देशन वा निर्णय दिएको छैन । ३ प्रतिशत हुनुपर्छ भन्नेमा हामीभित्र अधिकांशको मत रहेको छ ।

साना दल बिरोधमा

ठूला दलले थ्रेसहोल्ड राख्न खोजेपछि साना दलहरु भने विपक्षमा उभिएका छन् । अधिकांश साना दलले विधेयकको अहिले कै व्यवस्था नै ठिक रहेको भन्दै संशोधन आवश्यक नरहेको बताएका छन् । यद्यपि साना दलभित्रकै राप्रपा, राप्रपा नेपाल र मधेसी मोर्चा आबद्ध ठूला दलहरु थ्रेसहोल्ड ३ प्रतिशतसम्म राख्दा हुनेमा छन् । उनीहरुले विधेयकमा संशोधन भने हालेका छैनन् ।

च्याँखे थाप्नेलाई रोकौं

एमालेका अग्नि खरेल र कांग्रेसका आनन्द ढुंगाना लगायका सांसदले ३ प्रतिशत थ्रेसहोल्डको संशोधन राखेकाले ती दलको आधिकारिक धारणा सहजै बुझिएको छ । यद्यपि ५ प्रतिशतको बहस पनि ती दलभित्र चलेको छ ।

कांग्रेस सांसद रामहरि खतिवडाले च्याँखे थापेर सांसद बन्ने प्रवृति अन्त्य गर्न थ्रेसहोल्ड राख्नुपर्ने बताए । उनले ५ प्रतिशत जनताले नपत्याएको पार्टी राष्ट्रिय पार्टी हुन नसक्ने भएकाले आफूहरु ५ प्रतिशतको पक्षमा रहेको बताए ।

पार्टीका नाममा पसल खोल्ने र देशभरीबाट १५/२० हजार मत संकलन गरेर पत्नी, प्रेमिका वा परिवारका सदस्यलाई सांसद बनाउने प्रवृतिले राजनीतिक विकृत भएको एमालेका रामेश्वर फुँयालले बताए ।

सांसद बन्न एक लाख भोट ?

कम्तिमा ३ प्रतिशत थ्रेसहोल्ड राख्दा दलहरु छाँटिनेछन् । यद्यपि प्रतिनिधिसभाको संख्या घटेपछि डेढ प्रतिशत थ्रेसहोल्डको काम स्वतः हुनेछ । हाल समानुपातिक सांसदको संख्या ३३५ छ । अब २६५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक सांसद ११० हुनेछन् ।

संविधानसभाका दुईओटा चुनावमा कम्तिमा १८ देखि २५ हजारसम्म मत पाउने दलले एक सभासद पाएका थिए । तर, अब अब समानुपातिकको संख्या एक तिहाईले घटेपछि सांसद बन्न पाउनुपर्ने मत पनि एक तिहाई स्वतः बढ्नेछ ।

माओवादी सांसद बिडारीका अनुसार अब कुनै पनि दलले समानुपातिकबाट एउटा सांसद पाउनका लागि कम्तिमा ६० हजार मत पाउनुपर्नेछ । त्यसो हुँदा ३ प्रतिशत थ्रेसहोल्डले काम गर्ने उनले बताए ।

यसमा पनि थ्रेसहोल्ड राखिएमा एक लाख भन्दा कम मत पाउने दलले सांसद पाउन मुस्किल पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment