Comments Add Comment

व्यंग्य: लोकतन्त्रका मुसाहरु लोकमानसँगै सती गएनन् भने ….

अचेल लोकभरि बडेमानका जीउ भएका लोकमानकै चर्चा छ । मान्छेहरु लोकमानको हिँडाइ, खवाइ, लवाइ र घुमाइ सबैको चर्चा गरिरहेका छन् मानौँ यो लोकतन्त्र  लोकमानकै लागि आएको हो । हाम्रा बाले वेदका मन्त्र घोके जस्तै चौतारोदेखि चिया पसलसम्म यिनै लोकमानकै चर्चा गरिरहेका छन् ।
सरगम भट्टराईलोकमान सिंहको इतिहास मैले किन कोट्याउनु र ! सबै मिडियाको खुराक बनेकै छ, मैले त लोकले नमानेका लोकमानको महात्म्य मात्र चर्चा गरे  पुग्ने भयो । लोकतन्त्र भन्ने ब्यवस्थामा लोकमानकै कुरा नगर्नु पनि कसरी ? केही’लोग’ले  मानेपछि लोकले मान्नु नपर्ने रहेछ । बडेमानका लोकमानको  जय होस् । लोकमानका ख्वामितको जय होस् !

यी लोकमान पनि अचम्मका रहेछन्, अलुको तरकारी जस्तै जता पनि सुहाउने, चिटिक्क ! भाग्यमानी हुन् यिनी: राजाका पनि प्रिय, युवराजका पनि प्रिय र अहिलेका नवयुवराजका झनै प्रिय । हुकुमी प्रमांगीबाट फ्याट्ट फड्केर राजाका सेवक लोकमान हुँदा हुँदै लोकतन्त्र पछि त झन् ढुकुटीकै सेवक सम्म बन्न पुगेछन् । यिनको बखान गर्न गाली शिरोमणि र ताली शिरोमणि अनि गाडी शिरोमणिले त सक्दैनन् भने म काली शिरोमणिले के सक्नु र ?

खासमा कुरो के भने क़ाज़ीदेखि ‘दा’ जी सम्मका प्यारा पहिले पञ्चायतमा पनि प्यारा, बहुदलमा पनि प्यारा, अझ लोकतन्त्रको आन्दोलन दवाउन बडो कष्ट झेल्दा पनि ख्वामितहरुको साझा उमेदवार बन्न पाउनु त पुरस्कार पो थियो: उनले यो  पुरस्कारको पनि क़दर गर्नै पर्थ्यो : ब्यक्तिगत रिसईवी भएका अमुक अमूक: हरुलाई भ्रष्टाचार करार गरिदिने, सेतो कपाल देखि लामो कपाल सम्मका लाई प्रेमपत्र पठाउने यस्ता झोँक प्रेमी लोकमान ज्यू को चर्चा हजार जिभ्रो भएका शेषनागले त गर्न सक्दैनन् भने म बबुरोले के गर्नु र ?

लोकमान महात्म्यलाई मुसा र बिरालोसँग जोडेर ब्याख्या गर्ने हो रमाइलै होला: लोकतन्त्रपछि पनि धेरै कोट काट्ने मुसाहरुको बिगबिगी भयो, यिनीहरु कहिले छानु काट्ने, कहिले तानु काट्ने त कहिले मानु काट्ने । अमूक मुसाहरुले अजंगको बिरालो लोकमानलाई आफ्नो हितमा काम गर्ने गरी बिशेष दूत बनाएर पठाएकै हो क्यारे !

मुसाका धेरै दुलोहरु देखेका बडेमानका बिरालोरुपी लोकमानले ठूला ठूला मुसाहरुलाई एक छत्र धन्सारदेखि संसारसम्म कुटुकुटु काट्दा आँखा चिम्लेर ध्यानमग्न हूँदा भए भन्ने आरोपहरु पनि आएकै हुन् । बिरालोरुपी लोकमानले आफैले कति तर चोरे भन्ने कुरा मुसाहरुले कसरी पो मालूम गरून् र !

सबैलाई थाहा छ: मुसाहरुका खास बन्न पुगेका बिरालोरुपी लोकमानले वफ़ादार भएरै स-साना छेपाराहरुलाई आफ्नो दिब्यदृष्टिले शिकार गरिरहेकै हुन् । ढुकुटीको हेरचाह गर्ने ज़िम्मा पाएका बिरालोरुपी लोकमानले घोर्ले मुसाको शिकार त कसरी गरून् र ! अब मुसाहरुकै निगाहमा ढुकुटी हेर्न पाएका लोकमान म्याउँ-म्याउँ गरी केही घरेलु मुसादेखि जंगली मुसाको  शिकार गर्ने प्रहसन गर्दा मुसाहरुको ठूलो समूह ढाडे बिरालोरुपी लोकमानप्रति क्रोधित भएकै हो । केही मुसाहरुसँग कुरा मिल्यो, केहीसँग बिच्कियो ! फेरि मिल्यो, फेरि बिच्कियो ! हर ! हर  ! लोकमानतन्त्र !

जे होस् धन्सार हेर्ने ज़िम्मा पाएका लोकमानले सन्सार हेर्न तम्सेपछि के गर्नू र ! अति भएपछि खती हुन्छ भन्थे बिधि मिच्ने मामलामा लोकमानको ढाडेपन पनि कहाँ चानचुने छ र?

बिरालो र मुसा मिल्दैनन् भन्थे मान्छेहरु । तर, मुसाकै गर्भबाट जन्मेको बिरालो र मुसाको केमेष्ट्री ठ्याक्कै मिल्ने रहेछ क्यारे । यत्तिका दिन त मिलेकै हो नि ! गज्जव छ: खान पाइन्जेल जता पनि डीएनए मिल्छ , मिल्ने रहेछ !

होइन भने गोबिन्द बाजेले दश पटकसम्म आमरण अनसन गर्दा चुइँक्क नबोल्ने मुसाहरु अकस्मात् कसरी लोकमानलाई महाअभियोग लगाउने अभियानमा सहमत भए । यो सहमतिमा के गुह्य लुकेको छ त्यो त हेर्नै बाँकी छ, तर हिजो आँखा चिम्लेर बसेका लोकतन्त्रका नवयुवराज  मुसाहरु एकाएक लोकमानसँग रिसानी हुनुको राज कतै आफ्नै धोती फुस्कने डर भएर हो कि भन्ने पो लाग्या छ यो बबुरोलाई । तर, राम्रै नियतले भएको देख्ने सुन्ने मन् छ यो बबुरोको ! भोलि बिरालोको ठाउँमा फ्याउरो आउने हो कि भन्ने डर छ,जनतालाई त बाघ पो चाहिएको थियो ।

रायमाझी आयोगले दोषी ठहराएका लोकमानलाई त दण्डित गर्नुपर्ने थियो: मुसाहरुले पुरस्कृत गरे, त्यो के बाध्यता थियो यो त ख्वामितहरुले मुख खोल्दै जालान् । आची गरिसकेपछि दैलो देखेर के काम ! तर मिलेमतोमा जे पनि गर्न उद्दत यी बिरालो र मुसाहरुको मिलनलाई जनता जनार्दनले राम्ररी बुझ्नु पर्ने छ ।

यो देशमा न्याय मरेको धेरै भइसकेको छ । केहि मुठ्ठी भर बिरालो र मुसाकै खटनमा देश चलिरहँदा हामी जनता चाहिँ साक्षी बसेर चिच्याई मात्र पो रहेका छौँ । अझ फुटको तानाबाना बुनिरहेका छौँ । जे भन्छन् पत्याइरहेका छौँ ।

हो ! लोकतन्त्रमा अदालतलाई सम्म लत्याउने लोकमानतन्त्र हावी हुनु हुन्न, तर यहि सिलसिलामा धन्सारदेखि सन्सारमा चलखेल गर्ने लोकतन्त्रका मुसाहरु कुनै बहानामा उम्कने हुन् कि भन्ने पो डर भो बा ! सबै मुसाहरु लोकमानसँगै  सती जानुपर्छ, वा पठाउनुपर्छ । अख्तियारमा अब बिरालो हैन हिम्मतवाला बाघले बागडोर सम्हाल्नुपर्छ ।

एउटा बिरालोरुपी लोकमानले भन्दा सयौँ गुना बढी लोकतन्त्रका मुसाहरुले देशको छातीमा प्वाल पारेका छन् । यी सबै मुसाहरुलाई बिरालोसँगै सती पठाउनुपर्छ वा देश निकाला गर्नुपर्छ तर अफ़सोच ! मुसाहरुको  गठबन्धन बलियो भइरहेको छ । यहाँ केही मुसाहरुलाई धर्मसंकट छ: घरै पिँडालु,बनै पिँडालु: ससुराली जाँदा बाह्र हातको पिँडालु ।

तर, जनता चाहन्छन्: अति गर्ने लोकमान र खती गर्ने मुसाहरु दुबैलाई ठीक गर्ने घोर्ले बाघको पर्दापण हुनुपर्छ । बिरालोरुपी लोकमान सती गएको खुशी मुसाहरुले मनाउनुहुँदैन । मुसाहरु पनि संगै सती जानु पर्छ ! यदि यिनीहरु सती गएनन् भने फेरि मुसाहरुकै कुटुकुटु तन्त्र चल्ने छ । बिरालोरुपी लोकमानले जिते भने त झन् मनपरी तन्त्र चल्ने छ !

यो बबुरोलाई बडो चिन्ता लागि रहेछ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment