Comments Add Comment

निजामती अस्पतालमा कसलाई कस्तो उपचार सुविधा ?

hospital1१४ कात्तिक, काठमाडौं । अस्पतालहरुमा बिरामीका लागि विभिन्न सेवा-सुविधा उपलब्ध हुन्छन् । तर, त्यसबारे जानकारी नहुँदा सर्वसाधारण अलमलमा पर्ने गर्छन् । सुलभ मूल्यमा उपचार सेवा पाइने अस्पतालबारे जानकारी नहुँदा उनीहरु जहाँसुकै गएर चर्को शुल्कमा उपचार गराउन बाध्य हुन्छन् ।

उपलब्ध सुविधाबारे अस्पतालहरुले सूचना नदिँदा कुन अस्पतालमा के-के सुविधा पाइन्छ भन्नेमा सर्वसाधारण बेखबर बन्छन् । हुन त त्यस्ता सेवा-सुविधा अस्पतालै पिच्छे फरक हुने गर्छ । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पनि यस्तो सुविधा फरक-फरक छ । यो अस्पतालले खासगरी निजामती कर्मचारी, सर्वसाधारण तथा विपन्न वर्गलाई लक्षित गरी छट्टाछुट्टै सुविधा दिँदै आएको छ ।

अस्पतालमा कसका लागि कस्तो सेवा-सुविधा छ त ?

निजामती कर्मचारी

विशेषगरी निजामती कर्मचारीका लागि स्थापना गरिएको यो अस्पतालमा कर्मचारीहरूलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

जसमा बहालवाला कर्मचारी तथा उनका परिवार -बुवा, आमा, श्रीमान्/श्रीमती तथा २१ वर्षमुनिका दुई बच्चासहित ६ जना) लाई अस्पतालले सम्पूर्ण उपचारमा ४० प्रतिशतसम्म छुट दिने गरेको छ । यो सुविधा ओपिडी, एम्बुलेन्स सेवा तथा औषधिमा भने लागू हुँदैन ।

त्यस्तै, बहालवाला अधिकृतदेखि तल्ला तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत र अधिकृतलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवकाशप्राप्त कर्मच्ाारीहरुले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले निजामती कर्मचारीको उपचारका लागि विशेष किसिमको सफ्टवेयरको व्यवस्था गरेको छ । सˆटवेयरमा दर्ता हुन प्रत्येक कर्मचारीले आफ्ना बुवा, आमा, पति वा पत्नी, छोराछोरीको नामसहितको फारम भर्नुपर्छ ।

उक्त फारमलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कको माध्यमबाट कर्मचारीको विवरण रहेको निजामती किताबखानासँग जोड्ने गर्छ । उपचारको लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम राखेपछि किताबखानाले सो नाम स्वीकृत गरेसँगै उसले कर्मचारी सरहको सबै सुविधा पाउँछ ।

कुनै कर्मचारी निजामती सेवामा रहे पनि किताबखानामा दर्ता नरहेको खण्डमा उसले जस्तोसुकै परिचयपत्र लिएर गए पनि अस्पतालको सिस्टमले त्यसलाई मान्यता नदिने र कर्मचारी सरहको सुविधा पनि नपाउने अस्पतालले जनाएको छ । त्यस्तो अवस्थामा कार्यालय तथा कार्यालय प्रमुखद्वारा नै सिफारिस लिएर आउनुपर्ने कडा प्रावधान छ ।

सर्वसाधारण

यो अस्पतालमा सर्वसाधारणलाई औषधिमा १० प्रतिशत छुटको व्यवस्था बाहेक कुनै विशेष सुविधा छैन । औषधिमा दिइएको छुट सर्वसाधारणलाई मात्र नभई निजामती कर्मचारीहरुलाई पनि उपलब्ध छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि गरेको  खास किसिमका रोगको निःशुल्क उपचार व्यवस्था यहाँ पनि उपलब्ध छ । रगत सम्बन्धी रोगहरू, रक्त क्यान्सर, किमोथेरापीको लागि डे केयरको व्यवस्था लगायतमा अस्पतालले एक लाख रुपैयाँसम्मको औषधि सुविधा दिँदै आएको छ । त्यसको लागि सर्वसाधारणले स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालयबाट सिफारिश ल्याउनुपर्छ ।

विपन्न वर्ग

अस्पतालले विपन्न वर्गको उपचारका लागि सामाजिक इकाईको गठन गरेको छ । सो इकाईमार्फत अस्पतालले सेवा-सुविधा उपलब्ध गराउँदै आएको छ ।

विपन्न वर्गका नाममा पहुँचवाला व्यक्तिले सेवा उपभोग गर्न नसकून भनेर अस्पतालले विशेष व्यवस्था गरेको छ । त्यस अनुसार अस्पतालमा कसैले आफू विपन्न भएको सिफारिश ल्याएकै भरमा कुनै पनि विशेष सुविधा पाउँदैन ।

विशेष सुविधा उपभोग गर्नका लागि बिरामी वास्तविक विपन्न नै हुनुपर्छ । ऊ विपन्न भएको सिफारिश उसको उपचारमा संलग्न चिकित्सक तथा नर्सले गर्ने गर्छन् । कुनै पनि व्यक्तिलाई विपन्न घोषित गर्ने अख्तियारी अस्पताल प्रशासनले उसको उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई मात्र दिएको छ ।

सो अख्तियारी अनुसार यदि वास्तविक गरिबले अस्पतालमा बसुन्जेल औषधोपचार गर्न नसकेमा चिकित्सक तथा नर्सले त्यसको पहिचान गरी सामाजिक इकाईलाई जानकारी गराउँछन् । त्यसकै आधारमा इकाईले बिरामीलाई आवश्यक पर्ने सबै किसिमका औषधि, उपचार लगायतको व्यवस्था मिलाइदिने गर्छ ।

‘कुनै पनि व्यक्तिको वास्तविकता त्यसमा संलग्न चिकित्सक तथा नर्सहरुलाई मात्र थाहा   हुने भएकोले हामीले त्यसको अख्तियारी उनीहरुलाई नै सुम्पेका हौं’ अस्पतालका निर्देशक डा. विमल थापाले भने ।

विपन्न वर्गको उपचारमा कुनै लापरवाही नहोस् र लक्षित वर्गले नै सेवा पाऊन् भन्ने उद्देश्यले अस्पतालले उपचार गरेको हरेक रेकर्ड राख्दै पारदर्शी बनाएको छ । त्यस्ता रेकर्ड प्रत्येक विभागमा छुट्टाछुट्टै राखिने र यदि कुनै विभागमा रेकर्ड नभएमा त्यसको जिम्मेवारी विभागका सम्पूर्ण कर्मचारीले लिनुपर्छ ।

उपचार खर्च के को कति ?

निजामती कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गरेर खोलिएको यस अस्पतालमा उपचार खर्च अन्य अस्पतालभन्दा केही सस्तो छ ।

यहाँ अल्ट्रासाउण्ड गरेको चार सय रुपैयाँ लाग्छ । त्यस्तै, एमआरआई गरेको शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । यी शुल्कमा निजामती कर्मचारीलाई ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, मास्टर हेल्थ चेकअप अन्तर्गत प्याकेज ‘ए’ को २५ सय २०, प्याकेज ‘बी’को ३३००, प्याकेज ‘सी’को २५०० तथा प्याकेज डीको १९०० रुपैयाँ शुल्क लाग्छ । यो प्याकेजमा भने सरकारी कर्मचारीलाई कुनै छुटको व्यवस्था नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment