Comments Add Comment

नेपाल फूलमा आत्मनिर्भर कहिले बन्ने ?

sayapatri-flower-1१४ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरेपनि यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो ।

यसवर्ष तिहारमा भारतबाट रु ६० लाख मूल्य बराबरको दुई लाख सयपत्री फूलको माला ल्याइएको फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए ।

‘बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ,’ श्रेष्ठले भने, ‘थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य अत्यधिक बढाउछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।’

तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनले थोरै मात्रै अपुग हुने हुँदा थप माला आयात गर्न परेको हो । हाल स्वदेशमा ८२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १८ प्रतिशत मात्र विदेशबाट आयात गर्नुपरेको उनको भनाइ छ ।

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्तिको आधारमा उपभोक्ताले ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्य तिर्न नपर्ने एसोसिएसनले जनाएको छ ।

एघार लाख माला खपत हुने

यो वर्षको तिहारमा मात्रै देशभर ११ लाख रूपैयाँ बराबरको माला खपत हुने अनुमान छ । गत वर्षको तिहारमा आठ लाख रूपैयाँ बराबरको मालाको कारोबार भएकामा यस वर्ष तीन लाख रूपैयाँले वृद्धि हुने भएको हो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका हुन्छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

वार्षिक रुपमा करिव डेढ अर्ब रूपैयाँको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र सात करोड रूपैयाँको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब पाँच करोड रूपैयाँको फूल वार्षिक रुपमा आयात हुने गरेको छ ।

मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताए ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परेपनि मखमली र गोदाबरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अस्ट्रेलिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यस व्यावसायबाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment