Comments Add Comment

नाकाबन्दीबारे दुईचोटि सोध्दा मुखर्जीले अर्कै जवाफ दिए

president-mukharj-in-nepal१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नाकाबन्दीमा सोधिएको प्रश्नको जवाफ कूटनीतिक ढंगले पन्छाएका छन् । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले अन्तरवार्ता लिने क्रममा मुखर्जीसँग नाकाबन्दीबारे सोधेका थिए ।

भारतीय राष्ट्रपतिलाई शर्मा र उपाध्यायको प्रश्न थियो- ‘नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न भारतले अलि बढी नै गरेको, खासगरी साढे चार महिना लामो अघोषित सीमा नाकाबन्दी लगाएको विषयलाई लिएर नेपालभित्र र बाहिर पनि भारतको निकै आलोचना भयो नि ?’

यो प्रश्नको जवाफ मुखर्जीले यसरी दिए- ‘हाम्रो खुला सीमाना भएका कारण नेपालभित्र भएका घटनाक्रमको असर सीमापारि पनि पर्न सक्छ ।

तर, के नबिर्सौं भने हाम्रो सम्बन्ध र सहकार्य पृथक किसिमको हो, जुन दुवै पक्षका जनताको सघन सम्पर्कद्वारा निर्देशित छ । भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ  । यसकारण निकट भित्रका रुपमा हामी दिगो शान्ति र स्थायित्वका लागि गरिने हरेक प्रयासको स्वागत गर्छौ । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग र सुभेच्छा रहन्छ ।’

पत्रकार द्वय शर्मा र उपाध्यायले मुखर्जीलाई पुनः प्रश्न गरे- ‘धेरैको बुझाइमा नाकाबन्दीले नेपाली समाजलाई धु्रवीकृत गर्ने र भारतविरोधी भावना बढाउन काममात्रै गर्‍यो । भारतको राष्ट्रप्रमुखका रुपमा तपाईंले यो आलोचनाको कसरी जवाफ दिनुहुन्छ ?’

मुखर्जीको दोस्रो जवाफ यस्तो आयो- ‘भारतको छिमेक प्राथमिकता नीतिको केन्द्रीय भाव वा दर्शन भनेको निकट सम्बन्ध र समृद्धिमा सहभागिता हो भन्ने मलाई लाग्छ । हाम्रो नेपालसँगको सम्बन्ध दुई देशको दीर्घकालीन हितमा आधारित हुनेछ । नेपाल र भारतले विकाश, शान्ति, आर्थिक समृद्धि र जनताका भलाइका लागि सँगै मिलेर काम गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।’

(मुखर्जीको अन्तरवार्ता विहीबारको कान्तिपुरमा प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment