
१८ कात्तिक, काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने अन्तर्राष्ट्रिय महिला फुटबलको चौथो संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाली सेनाले आज बिज्ञप्ति जारी गर्दै नेपालका ८ र भारतका दुई टिम सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल शुक्रबारदेखि आयोजना गरिने जानकारी दिएको हो ।
कात्तिक १९ गतेदेखि सुरु हुने प्रतियोगिता कात्तिक २४ गते सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका तीन बिभागीय टोलीसहित पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका महिला टोलीहरु सहभागी छन् ।
त्यस्तै भारतको बिहार महिला टिम र सिक्किम महिला टिमलाई पनि प्रतियोगितामा सहभागी गराइएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राबिधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा हुनेछ । प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ । फुटबलप्रेमी दर्शकले प्रतियोगिताका खेलहरु निःशुल्क हेर्न सक्ने सेनाको बिज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख पुरस्कार पाउनेछ भने उपबिजेता टोलीले १ लाख ५० हजार पुरस्कार पाउनेछ । दुई सेमिफाइनलिष्ट टोलीले पनि पचास पचास हजार पुरस्कार पाउनेछन् ।
त्यस्तै उत्कृष्ट छ बिधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक स्कुटर पुरस्कार पाउनेछिन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५० हजार पुरस्कार पाउनेछन् ।