२० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने बताए ।
“मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ लाग्नुपर्छ, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ,पूर्वप्रधानमन्त्री नेपालले भने ।
नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने खतरा आउन नहुने भँदै यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनलाई बचाउन आफूहरुका तर्फबाट पनि पहल भइरहेको बताउँदै यसलाई सरकारले अनुदान दिने अपेक्षा व्यक्त गरे ।
प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यको जगेर्नाका लागि राजनीतिक नेतृत्व र सरकारलाई संरक्षणको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताबमोजिम ऋण र अनुदान गरी संस्थालाई रु ४० करोड प्राप्त भएमा लिलामीबाट जोगाउन सकिने बताए ।
प्रतिक्रिया 4