Comments Add Comment

मृत्युसँग जुध्दै सुनकुमारीः न राज्यले देख्यो, न रोल्पाले सुन्यो

लुम्विनी प्रेस क्लबले लियो उपचारको जिम्मा

sunkumari-rolpa
२१ कात्तिक, भैरहवा । रोल्पाकी एक महिला भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) को शैय्यामा आर्थिक अभावको कारण मृत्युसँग संघर्ष गरिरहेकी छन् । माओवादी जनयुद्धको उर्वरथलो रोल्पाको थवाङ गाविस-८ झकिवाङकी ४८ वर्षीया सुनकुमारी नेपाली आर्थिक अभावले प्रभावकारी उपचार नपाएर छटपटाइरहेकी छन् ।

थवाङ माओवादी जनयुद्धको उदगम थलो हो जुन हाल युद्ध पर्यटनका लागि पनि प्रख्यात छ । सोही स्थानबाट सुरु भएको जनयुद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्री बनेका छन् । नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति छन् भने पछिल्लोपटक सोही क्षेत्रबाट निर्वाचित ओनसरी घर्ती सभामुख छिन् । रोल्पाकै कृष्णबहादुर महरा हाल अर्थमन्त्री छन् र वर्षमान पुन ‘अनन्त’ पूर्वअर्थमन्त्री हुन् । तर, सुनकुमारीको व्यथा बुझ्ने यतिबेला कोही पनि छैन केबल १३ वर्षीया छोरी बाहेक ।

गत असोज २६ गते साँझ आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिइन् सुनकुमारी । उनी कुटिएपछि स्थानीय थवाङ इलाका प्रहरीले उनलाई उद्धार गरी घर्तीगाउँ अस्पतालमा उपचारका लागि पठायो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवाको युसीएमएस अस्पतालमा ल्याइएको हो । युसीएमएसमा विगत २३ दिनदेखि उपचारत नेपाली अहिलेसम्म अर्धचेत अवस्थामा छिन् ।

उपचारका क्रममा गाउँबाट ऋण काढेर ल्याएको पैसा सकिएपछि आमाको एकमात्र कुरुवा बसेकी १३ वर्षीया छोरी बिनिता नेपाली यतिबेला चिन्तित छिन् । थवाङकै विरबलभट्ट माविको कक्षा ६ मा अध्ययनरत विनिता अर्धचेत अवस्थाकी आमाको छेउँमा बसेर टोलाइरहेकी हुन्छिन् ।

युसीएमएस अस्पतालको न्यूरो वार्डको १३ नम्बरमा शैय्यामा अक्सीजनको सहारामा अहिलेसम्म जीवित रहेकी आमाको अवस्था देख्न नसकेर विनिता चार दिन पहिले आफन्तको सहयोग खोज्दै कसैलाई थाहै नदिई अस्पतालबाट एकाएक गायब भएपछि अस्पतालमा हंगामा नै मच्चियो । पछि अस्पताल प्रशासनले विनितालाई खोजतलास गर्दै जाँदा बुटवलमा फेला पारेर पुनः अस्पतालमा ल्याई विरामी आमासँगै बस्न लगाएको छ । जीवन र मृत्युको दोसाँधमा पुगेकी आमालाई छाडेर विनिता किन भागिन् त भनी बुझ्दै जाँदा पैसाकै कारण रहेछ ।

अनलाइनखबरकर्मी अस्पतालमा पुग्दा आमालाई छाडेर भागेकी विनिता अस्पतालका कर्मचारीसँग विरामी आमा भएकोतर्फ आउँदै थिइन् । विरामी आमालाई छाडेर जानुको कारण धेरैबेरसम्म नखुलाएकी उनले पछि सबिस्तार लगाइन् । गहभरी आँसु पार्दै उनले अनलाइनखबरसँग भनिन् ‘गाउँबाट आउँदा ३० हजार लिएर आएको हो । दाइले २० हजार पठाइदियो । अब पैसा पनि छैन । कसरी उपचार गर्ने ?’

एक्लै होसहवास नै नभएकी आमालाई कुर्दाकुर्दै चिन्तीत भएर एकाएक बुटवलमा आफन्तकोमा गएको पनि उनले बताइन् । उनको जेठोबुबाको बुहारी नाता पर्ने बुटवल बुद्धनगरमा बस्दा रहेछन् । भाउजूको घरमा बसेर आएकी विनिताले अगाडि भनिन्, ‘यहाँ (अस्पताल) बाट सरहरु गएपछि भाउजूले ५ सय रुपैयाँ दिएर पठाउनु भएको छ ।’

विनितालाई खोज्दै युसिएमएस अस्पतालका कर्मचारीहरु बुटवल बजारसम्म पुगेका थिए । विनिताको खोजिमा संलग्न अस्पतालका प्रशासन संयोजक तेजकुमार केसीले अनलाइनखबरसँग भने, ‘विरामी कुरुवा एकाएक गायब भएपछि हामीले गम्भिरताका साथ विनिताको खोजतलास गर्‍यौं र बुटवलबाट फेला पारेर आमासँग बसालेका छौँ ।’

sunkumari-nepali-rolpa

उनले अघि भने, ‘हामीले विरामीको उपचारमा लाग्ने औषधि पनि निःशुल्क गरिरहेका छौं । विरामीलाई अस्पतालमा भर्ना गर्दा ११ हजार रुपैयाँ जम्मा गरेका थिए । त्यसपछि सबै औषधि उपचार उधारो गरिरहेका छौं । तर विरामी कुरुवा नै भागेपछि विरामीको हेरचाहमा समस्या भएपछि खोजेर ल्याएका हौं ।’

अस्पतालले सुनकुमारीको उपचारमा कुनै कमी हुन नदिने बताएको छ ।

लुम्बिनी प्रेस क्लबले लियो उपचारको जिम्मा

यसैबीच लुम्बिनी प्रेस क्लबले सुनकुमारीको उपचार गर्ने जिम्मा लिएको छ । आइतबार बसेको प्रेस क्लबको बैठकले उपचारको जिम्मा लिने र त्यसका लागि आवश्यक रकम जुटाउने निर्णय गरेको छ ।

‘सुनकुमारीको उपचारमा न राज्यले न रोल्पाली कसैले पनि चासो दिएनन् । त्यसैले हामीले नै अग्रसरता लियौं,’ लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष कमल रायमाझीले भने ।

रायमाझीका अनुसार प्रेस क्लबले उपचारको जिम्मा लिने जानकारी अस्पताल प्रशासनलाई दिएपछि उनलाई आइसियूमा राखेर थप उपचार सुरु गर्ने तयारी भइरहेको छ ।

तर, रोल्पा प्रहरीले भने घटनाको विषयमा चासो नदेखाएको अस्पताल स्रोतले बताएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रमुख डिएसपी रामप्रसाद घर्तीमगरलाई फोन सम्पर्क गर्दा उनले प्रहरीले सबै अपडेट राखेको ठाडो जवाफ दिए ।

universal-college-of-medical-sciencesप्रहरीले प्रहरी मार्फत आएको विरामीको थप उपचारमा सक्रियता देखाउनु पर्नेमा कुनै चासो व्यक्त नगरेकोमा अस्पताल प्रशासन समेत आश्चर्यचकित भएको छ ।

‘पुलिस केश मार्फत आएको विरामीबारे प्रहरीले घन्टा-घन्टामा के भइरहेको छ भन्दै चासो व्यक्त गर्दछ तर यो केश मात्रै होला जसकोबारे अहिलेसम्म रोल्पाबाट कुनै खोजीनीति भएको छैन,’ अस्पताल स्रोतले अनलाइनखबरसँग भन्यो ।

रोल्पा प्रहरीका अनुसार जिल्ला सदरमुकामदेखि ७२ किलोमिटर टाढा रहेको थवाङमा भएको सो घटनाका आरोपीत सुनकुमारीकै श्रीमान ध्रुव नेपाली र जाला नेपालीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएर पुर्पक्षको लागि थुनामा राखिएको छ ।

गत असोज २५ गते भएको उक्त घटनामा घाइते भएकी सुनकुमारीका एक छोरा र एक छोरी छन् । विपन्न किसान परिवारकी छोरी विनिता असोज २८ गते ठूलो बुवाको छोरी र काकासँगै आमालाई लिएर भैरहवा आएकी थिइन् । तर पछिल्लो चरणमा आफन्तहरुले समेत सहयोग गर्न छाडेपछि उनी थप चिन्तीत हुँदै गएकी छन् । टाउको र मुखमा गम्भिर चोटका कारण अझैसम्म आँखा नखोलेकी आमाको दिसा-पिसाब स्याहर्नमै व्यस्त विनिता खल्तीमा भएको ५ सय रुपैयाँले आमाको उपचार पूरा नहुने भन्दै लुम्बिनी प्रेस क्लबको टोलीसँग सहयोगको याचना गर्दै थिइन् ।

अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको करिब ३५ हजार रुपैयाँ तिर्न बाँकी भएता पनि अस्पतालले उनको उपचारमा रोक लगाएको छैन । तर पनि विनिताको बाल मनोविज्ञानमा पैसा नभएपछि उपचार नहुने र आफूले खाना पनि कहाँबाट खाने भन्ने चिन्ताले घर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment