Comments Add Comment

नेपालमा भारत र चीनविरोधी गतिविधि हुनै दिँदैनौंः रक्षामन्त्री खाँड

balkrishna-khand

२१ कात्तिक, काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।

आइतबार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँडले भारत र चीन दुवै नेपालका असल छिमेकी मित्रराष्ट्र भएकाले दुवै देश विरोधी गतिविधि नेपालमा हुनै नदिने बताएका हुन् ।

उनले भने, ‘दुवै देश हाम्रा उच्च महत्व बोेकेका छिमेकी मित्रराष्ट्र हुन्, दुवै मुुलुक जनसंख्या र भुगोलको हिसावले विशाल छन् ।’ उनले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताए ।

साक्षात्कारमा मन्त्री खाँडले भारत र चीनसँगै नेपालको पनि सुरक्षाको महत्व रहेको बताउँदै भने, ‘यसको धेरै ठूलो रणनैतिक महत्व छ, नेपालले संसारका कुनैपनि देशको विरोधी गतिविधि हुन दिनुहुँदैन र नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिइदैन ।’

नेपाली सेनाले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटेर आफ्नो भूमिकामा खरो रुपमा उत्रेको भन्दै मन्त्री खाँडले भने, ‘नेपाली सेनाले नेपालको राष्ट्रिय हित र रक्षाको लागि सदैव योगदान पुर्‍याएको छ, अहिले मुलुकमा शान्ति बहाली भएपछि सेना र सुरक्षा निकायको भूमिका पनि बदलिएको छ, अहिले सेनाले विपद व्यवस्थापनमापनि भूमिका निर्वाह गर्दै आएको छ ।’

सीमित स्रोत र साधनका बावजुदपनि सरकारको निर्देशन बमोजिम प्राकृतिक प्रकोप नियन्त्रण, पहाडी तथा हिमाली क्षेत्रमा बाटो निर्माणको लागि महत्वपूर्ण रचनात्मक भूमिका निर्वाह गरेको भन्दै उनले सेनाको प्रशंसा समेत गरे ।

मन्त्री खाँडले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण अत्यन्तै फलदायी र ठूलो उपलब्धि भएको दावी गरे । उनले भने ,’भारतीय राष्ट्रपतिको नेपाल आगमन हुनु नेपालको लागि ठूलो उपलब्धि हो, नेपाल र भारतवीच भएको मैत्री सम्बन्धलाई अझै उचाईमा पुर्‍याउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले सबैको अपनत्व हुनेगरी संविधान संशोधनको प्रयत्न भैरहेको समेत स्पष्ट पारे । संविधान कार्यान्वयनको लागि र तीनवटै निकायको चुनावको लागि पनि संविधान संशोधनको आवश्यकत्ता मन्त्री खाँडले औंल्याए । उनले थपे, ‘कांग्रेस सबै दलको भावनालाई समेटेर अघि बढ्छ ।’

नेपाली काँग्रेसका नेता समेत रहेका खाँडले पार्टीको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरे । महाधिवेशन निर्देशक समितिका संयोजक रहेका खाँडले पार्टीमा अहिले कुनै खेमा नभएकोले महाधिवेशन पार्टीका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको सहमति अनुसार नै हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment