Comments Add Comment

गभर्नरदेखि बैंकरसम्मलाई फोनः भारु साटिन्छ कि साटिँदैन ?

ic-varu-indian-currency
२५ कात्तिक, काठमाडौं । दुई दिनअघि भारतीय प्रधानमन्त्रीले ५०० र १००० दरका पुराना भारु नोट नचल्ने घोषणा गरे । मोदीको ५०० र १००० का भारु नोट ‘होल्ड’ गरेर राख्ने सबैको टाउको दुख्यो ।

मोदीको सो घोषणापछि भारतीय नोट होल्ड गरेका नेपालीहरुले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, अन्य कर्मचारी तथा बैंकका सीइओ एवं कर्मचारीसम्मलाई टेलिफोन गरेर अब हामीसँग भएको भारु के हुन्छ ? भनेर प्रश्न ओइर्‍याउन थालेका छन् ।

‘अस्ति रातिदेखि नै गभर्नर सा’बलाई हामीसँग भएको नोट साटिन्छ कि साटिन्न भन्दै पहुँचवालाहरुले फोन गरिरहेका छन्,’ गभर्नर डा. चिरञ्जीबी नेपाल निकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

गभर्नरले आफूहरुले भारतीय पक्षसँग नेपालमा भएका नोटको व्यवस्थापनबारे कुटनीतिक पहल थालिसकेको र भारतीय पक्ष सकरात्मक भएमात्रै नेपालमा भएका ५०० र १००० दरका सीमित नोटहरु साटिन सक्ने जवाफ दिएको स्रोतको भनाई छ ।

त्यसैगरी, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आफूलाई पनि सर्वसाधारणले आफुसँग भएको नोट कसरी साट्ने भन्दै दर्जनौ फोनहरु आएको सुनाए ।

‘आज दिनभर पत्रकार र भारु नोटवाला सर्वसाधारणको फोनको ओइरो लाग्यो,’ शिवाकोटीले बुधबार अनलाइनखबरसँग भने, ‘हामीले कुटनीतिक पहल थालिसकेका छौं । केही समय पख्नोस भन्ने जवाफ दिएँ ।’

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभाका कार्यकारी निर्देशक भिष्म ढुंगाना पनि आफूलाई भारतीय नोट कसरी साटिन्छ भन्दै सर्वसाधारणका दुई दर्जन फोन आएको सुनाए ।

त्यस्तै, सहायक प्रवक्ता राजेन्द्र पण्डितले भारु बारे चिन्ता व्यक्त गर्दै दर्जनौ फोनहरु आएको बताए । राष्ट्र बैंकका अधिकांस कर्मचारीहरुलाई आफ्ना नातेदार, छरछिमेकी र चिनजानका मान्छेहरुले भारुको सटहीबारे टेलिफोन गरेर चिन्ता व्यक्त गरिरहेका छन् ।

त्यतिमात्रै होइन, बैंकका सीइओ एवं कर्मचारीहरुलाई पनि सर्वसाधारणहरुको फोन उठाएर जफाव दिन भ्याइ-नभ्याइ छ ।

‘भारुको विषयलाई नै लिएर दुई दर्जनजति फोनहरु मेरो मोवाइल मै आए,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘बैंकमा पनि त्यो भन्दा बढी इन्क्वायरीहरु आइरहेका छन् ।’

स्टान्डर्ड चार्टड बैंकका कर्पोरेट अफेयरसम्बन्धी प्रमुख दिवाकार पौडेलले पनि सर्वसाधारणको इन्क्वायरी आएको बताए ।

‘खासगरी तराईका शाखाहरुमा सर्वसाधारणको बढी इन्क्वायरी आएको छ,’ उनले भने, ‘हामीले राष्ट्र बैंकले नसाट्नु भन्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले साट्नु भन्ने निर्देशन दिएपछि मात्रै साट्छौ भन्ने जवाफ दिएका छौं ।’

कुटनीतिक पहल सुरु तर अझै अन्योल

नेपाल राष्ट्र बैंकले बुधबार नै अर्थ मन्त्रालय र परराष्ट मन्त्रालयलाई पत्राचार गरि नेपालमा रहेका ठूला दरका भारु नोट साट्ने व्यवस्था मिलाइदिन आग्रह गरिसकेको छ । जसअनुसार अब परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई पत्राचार गर्नेछ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले भारतीय रिजर्भ बैंकका उच्च अधिकारीहरुलाई फोन गरेर नेपालमा भएका नोटहरुको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । राष्ट्र बैंकले रिजर्भ बैंकलाई बुधबार नै औपचारिक पत्राचार पनि गरिसकेको छ ।

बुधबार दिनभर राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएका ५०० र १००० दरका भारु नोटको विवरण संकलन गरेको छ । साँझसम्ममा अधिकांसले विवरण बुझाएको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगानाले बताए ।

ढुंगानाका अनुकासर अधिकांश बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको भारुको विवरण केन्दि्रय बैंकलाई बुझाइसकेका छन् । ‘विवरण आउने क्रम जारी छ, अहिलेसम्म प्राप्त विवरण अनुसार नेपालको वित्तीय प्रणालीमा २ करोड रुपैयाँको हाराहारीमा ५०० र १००० दरका भारु छन्,’ ढुंगानाले भने ।

केही होटल र मनिचेञ्जरबाट मात्रै भारुको विवरण आएको उनले बताए । ‘अधिकांस होटल र मनि चेञ्जरले विवरण पठाएका छैनन्,’ उनले भने, ‘सबै विवरण आउँदा ३ करोडसम्म भारु हुनसक्ने अनुमान गर्न सकिन्छ ।’
ढुंगानाका अनुसार राष्ट्र बैंकसँग भने ५०० र १००० दरका करिब २ लाख मात्रै भारु नोटहरु मौज्दात छन् ।

तर, नेपालको तराई र पश्चम पहाडमा भारुको अत्यधिक प्रचलन हुने गरेकाले सवस्साधारणसँग ठूलो संख्यामा भारुको मौज्दात रहेको हुनसक्ने अनुमान गरिएको छ । नेपालको कूल मुद्रा प्रदायमध्ये २० प्रतिशत हिस्सा भारतीय रुपैयाँले ओगटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

भारतीय पक्षले जवाफ दिएपछि मात्रै नोट सटहीमा लगाएको प्रतिवन्ध हटाउने वा नहटाउने भन्ने टुंगो लाग्ने राष्ट्र बैंकका सहायक प्रपक्ता राजेन्द्र पण्डित बताउँछन् ।

‘हामीले उच्चस्तरीय कुटनीतिक पहल थालेका छौं । अब भारतीय पक्षले जस्तो जवाफ दिन्छ, सोही अनुसार अघि बढ्छौं,’ उनले भने, ‘अहिले नै के हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment