Comments Add Comment

प्रमुख प्रतिपक्षीले भन्यो– सरकार के गरिरहेको छ, थाहा छैन

subash nemwang_2

२६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको १०० दिनमा कुनै ठोस उपलब्धि हासिल हुन नसकेको बताएको छ ।

कांग्रेस र मधेसी मोर्चाको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको शुक्रबार १०० दिन पुगेको छ । यो १०० दिनमा सरकार आफ्नो प्रमुख जिम्मेवारीहरुमा चुकेको विपक्षीको आरोप छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अनलाइनखबरसँग भने, ‘सरकारको मूल्यांकन गर्ने साह्रै धेरै आधारहरु नै देखिएका छैनन् ।’

संविधान कार्यान्वयनदेखि दलहरुबीच सहमति जुटाउने सबै जिम्मेवारीमा प्रचण्ड सरकार चुकेको एमालेको आरोप छ । सरकारको पहिलो जिम्मेवारी संविधान कार्यान्वयन नभएको भन्दै उनले भने, ‘अघिल्लो सरकारले संविधान कार्यान्वयनको कार्ययोजना ल्याएको थियो । यो सरकारले त्यसलाई अस्वीकार गर्‍यो । तर, अर्को कार्ययोजना ल्याएको छैन ।’

नेम्वाङले अघि भने, ‘सरकारले संविधान कार्यान्वयनमा ठोस काम अघि बढाउन सकेको छैन । अझ पछिल्लो दिनमा त ठप्पजस्तै देखिएको छ ।’

दलहरुबीच सम्वाद गरेर सहमतिको वातावरण बनाउन पनि प्रचण्ड सरकारले क्रियाशीलता नदेखाएको एमालेको आरोप छ । पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘सम्वाद गर्दै सिंगो देशलाई एकजुट बनाएर लैजान पनि सरकारले नै पहल गर्नु पर्ने हो । त्यो पनि सन्तोषजनक रुपमा भएको छैन ।’ उनले अघि भने, ‘सरकार के गरिरहको छ, थाहा छैन ।’

यसबारे आफूहरुले कुरा उठाइरहेको र अब व्यवस्थापिका संसदमा पनि उठाउने एमाले नेता नेम्वाङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment