+
+
Shares

कांग्रेस र एमालेका युवा नेताहरू संयुक्त छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १०:००

२६ भदौ, काठमाडौं । उत्पन्न नयाँ परिस्थतिबारे छलफल गर्न  कांग्रेस र एमालेका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् ।

जेन-जीको आन्दोलनपछिको परिस्थितिमा यी दलले आत्मसमीक्षा लगायत आगामी बाटोबारे धारणा बनाउन अनौपचारिक कुराकानी थालेका हुन् । यसै  छलफलको निष्कर्षका आधारमा आफ्ना दलभित्र सुधार र परिमार्जनका आवाज उठाउने अनि संवैधानिक फ्रेमभित्रबाट राजनीतिक निकास खोज्ने उनीहरुको तयारी छ । दलभित्र आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।

राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् ।

कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

‘राजा र सैन्य शासनका कुरा पनि यदाकदा गर्न थालिएका छन् । कुरा हुनु र प्रक्रियामा अगाडि बढ्न खोज्नु फरक छ । यदि प्रक्रियामा कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रनुको विकल्प छैन । यसमा हामी एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने ।

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन् । ‘संसद् भित्रकै सदस्यबाट प्रधानमन्त्री बनाएर जान सकिने अवस्था छ वा छैन भन्नेमा आ-आफ्ना बुझाइ छन् । संसद्‌भन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने विगतको अभ्यास र अहिलेको अवस्थाबारे मूल्यांकन भएको छ । तर एउटै निष्कर्षमा पुगिएको छैन,’ एक नेताले सुनाए ।

 

समाचारको तथ्यमा केही फरक पर्न गएकाले क्षमायाचना र भुलसुधारसहित परिमार्जन गरेका छौं । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?