वीपीको सपना शान्ति विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन । भन्ने नारासहित नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन पोखरामा सुरु भएको छ । नेपाल तरुण दलको महाधिवेशन नभएको ९ वर्ष नाघेको अवस्थामा नयाँ शशक्त तथा जुझारु नेतृत्व चयन गर्न देशभरका तरुण कार्यकर्ताहरु निकै हौसिएका छन् ।
निश्चय नै यति लामो समयसम्म महाधिवेशन नहुँदा संगठनको विस्तार र नेतृत्व विकासको मार्गमा ठूलो अवरोध सिर्जना भएको छ । महाधिवेशनका लािग पटक–पटक तिथि–मिति तोक्दै फेरि विभिन्न वहानामा स्थगन गर्ने परिपाटीका कारण संगठनको विगतको गरीमा र साखमा प्रश्न चिन्ह खडा हुनु स्वभाविक नै हो ।
माउ पार्टी नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएसँगै भातृ संस्थाहरुको रोकिएको अधिवेशन हुने क्रम तीव्र भएको छ । यही परिप्रेक्ष्यमा नेपाल विद्मार्थी संघ र नेपाल महिला संघको महाधिवेशन पछि हुन लागेको नेपाल तरुण दलको बहुप्रतिक्षित महाअधिवेशनतर्फ अहिले देशभरका तरुणहरुको ध्यान आकर्षित भएको छ ।
साथै देशभरका तरुणहरु माझ अबको तरुण दल कस्तो हुनुपर्छ र यसले कस्तो नीति अख्तियार गर्नुपर्छ भन्ने विषयमा घनिभूत बहसको आवश्यकता महशुस भएको छ ।
नेपालको हरेक राजनीतिक परिवर्तनमा तरुण युवाहरुको भूमिका निर्णायक रहँदै आएको छ । राजनीतिक परिवर्तन सँगै तरुण युवाहरुले समाज तथा सिंगो मुलुकमा सामाजिक तथा आर्थिक परिवर्तनको अपेक्षा राखेता पनि उनीहरुको अपेक्षाको सही सम्बोधन हुन सकेको छैन ।
यस अर्थमा समग्र राष्ट्रिय राजनीतिप्रति नै तरुण युवाहरुमा वितृष्णा बढ्दो छ । यही वितृष्णा हटाई युवा वर्गमा राष्ट्रिय राजनीतिप्रति सकारात्मक रुची जगाउनु नै नेपाल तरुण दलको अबको नेतृत्वको मुख्य दायित्व हुनेछ ।
आज हाम्रा लाखौं युवा तरुणहरुले विदेशी भूमिमा अरुको देशको विकासका लागि आफ्नो रगत पसिना बगाइरहेका छन् । त्यस्ता जनशक्तिलाई स्वदेशमा नै परिचालित गर्न सक्ने गरी ठोस कार्य योजना ल्याउनु आजको मुख्य आवश्यकता हो । समाज तथा सिंगो राष्ट्रलाई समुन्नत दिशातर्फ अग्रसर गराउनका लागि तरुण युवाहरुलाई राजनीतिसँगै उद्यमशीलतातर्फ प्रेरित गर्नु नितान्त आवश्यक छ ।
राजनीतिलाई प्रदुषणमुक्त बनाउन उद्यशमीलता वास्तवमै अचूक अस्त्र हो । उद्यममा आबद्ध नभएकै कारण आज धेरै तरुण युवाहरुका लागि राजनीति मागीखाने भाँडो भएको छ । जसका कारण राजनीतिलाई घृणा गर्ने जमातको संख्या हाम्रो समाजमा दिन प्रतिदिन बढ्दो छ ।
झन्डैं दुई दशक देखि स्थानीय निकायको र्निवाचन नभएकाले धेरै राजनीतिमा आबद्द तरुणहरु जिम्मेवारी विहिन भएका छन् । समाजको विभिन्न तह तथा तप्कासँग उनीहरुको सम्बन्ध क्रमश विच्छेद हुँदै गइरहेको छ । त्यसैले स्थानीय निकायको निर्वाचन गराउन तरुणहरु एकतावद्ध हुनु आवश्यक छ । स्थानीय निकायको अभावमा सेवाग्राहीले भोग्नु परेको सास्ती र दलीय संयन्त्र माफर््त बढिरहेको भ्रष्टाचारका विषयमा पनि हामी सबै जानकार नै छौं ।
२१ औं शताब्दीमा तरुण युवाहरुको काम उपत्यका बन्द, नेपाल बन्द, चक्का जाम गर्ने मात्र होइन । अब तरुण युवाहरुले आफ्नो उर्जा राष्ट्र निर्माणमा लगाउनु पर्छ । युवाहरुको जोश, जाँगरको सही उपयोग भएमा देश समुन्नत हुन धेरै समय लाग्दैन ।
आजको युग सूचना प्रविधिको युग हो । त्यसैले अब सिंगो तरुण दलले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्नो संजाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्नु पर्दछ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्म क्रियाशील रहेका तरुणहरुको सञ्जाल जनहितमा प्रयोग गर्ने हो भने लाखौं नेपालीलाई सजिलै राहत पुग्न सक्छ ।
भूकम्पको समयमा उद्धार–पुर्नस्थापना तथा पुर्ननिर्माणको दिशामा नेपाली तरुण युवाहरुले देखाएको अग्रसरता विश्व समुदायका लागि अनुपम उदाहरण भएको छ । देशभरका युवाहरुको यस्तै सत्प्रयासलाई अब पर्यावरण संरक्षणमा लगाउनुपर्दछ । नदीनालाको सरसफाइ, प्रदूषणका बारेमा जनचेतना सँगसँगै जनजीविकाका मुद्दासंग जोडिएका विषयहरुको उपयुक्त सम्बोधन जस्ता गतिविधिमा तरुण युवाहरुको उत्साहजनक सहभागिता अपरिहार्य छ । तरुण दलको अबको नेतृत्वले सामान्य लाग्ने यस्ता संवदेनशील विषयतर्फ विशेष ध्यान पु¥याउनु आवश्यक छ ।
तत्कालीन पार्टी नेतृत्वको कमी कमजोरीका कारण नेपाल तरुण दलको महाधिवेशन समयमा हुन नसकेको घाम जत्तिकै छर्लङग छ । बदलिँदो राजनीतिक घटनाक्रममा गैरवशाली इतिहास बोकेको तरुण दललाई जिम्मेवार तथा जीवन्त संगठन बनाउन अब आवधिक निर्वाचनको अर्को कुनै विकल्प छैन ।
पार्टी नेतृत्वले टिके प्रथालाई सदाका लागि अन्त्य गर्दै तरुणहरुको मागलाई शशक्त ढंगले सम्बोधन गर्न सक्ने नेतृत्व चयन गर्न मार्ग प्रशस्त गर्नु पर्दछ । साथै विधि सम्मत महाधिवेशन सम्पन्न गर्नका लागि देशभरका तरुणहरुले कुनै आग्रह पूर्वाग्रह विना पार्टी नेतृत्वलाई सक्दो सहयोग गर्नुपर्दछ ।
प्रतिक्रिया 4