२८ कात्तिक, झापा । भारत सरकारले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर अलैँची व्यवसायमा परेको छ । नेपाल अलैँची व्यवसायी महासंघका अनुसार अहिले अलैँचीको कारोबार ठप्प छ ।
नेपाली अलैँचीको मुख्य बजार भारत हो । र, भारतीय व्यापारीले मूल्य निर्धारण नगरी यहाँ अलैँचीको कारोबार हुँदैन ।
तर, भारतका अलैँची मण्डीहरु अहिले नोट प्रतिबन्ध भएका कारण बन्द छन् । त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् ।
नोटमा लागेको प्रतिबन्धसँगै बिचौलिया र कालोबजारीहरुले अलैँचीको गलत मूल्य निर्धारण गर्ने गरेको महासंघका कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
नेपालमा वार्षिक उत्पादित ५ हजार मेटि्रक टन अलैँची मध्ये ९८ प्रतिशत भारत निर्यात हुने गरेको तथ्यांक छ । तर, अलैँचीको मध्य सिजनमा देखिएको समस्याले गर्दा नेपाली व्यवसायी र किसान समस्यामा परेका छन् ।
कारोबार ठप्प हुनुअघि नेपाली बजारमा अलैँची प्रतिमन ५५ हजार रुपैयाँका दरले खरिदबिक्री भएको थियो ।
सिजनको सुरुमा प्रतिमन (४० किलो) ८० हजार रुपैयाँका दरले कारोबार भएको अलैँची त्यसपछि क्रमशः ओरालो लागेको महासंघका महासचिव ओमकृष्ण बिमलीले जानकारी दिए ।
तर, कालोबजारीले भारतीय व्यवसायीले अलैँची नकिन्ने गलत प्रचार गरी किसानबाट सस्तोमा अलैँची किन्न खोजेको बुझिएको अध्यक्ष भट्टराईले बताए ।
‘त्यसका लागि हामी कम्तीमा एक महिना धैर्य गर्न किसानलाई आग्रह गर्दर्छौं,’ भट्टराईले भने, ‘कालोबजारी गर्नेहरुले किसानलाई प्रतिमन २० हजारदेखि ४० हजार रुपैयाँसम्म मूल्य निर्धारण गरी ठगिरहेका छन्, यो कुरामा किसान सचेत हुनुपर्छ ।’
नेपालका १७ जिल्लामा अलैँचीको व्यावसायिक खेती हुने गरेको छ । दुई लाख किसान परिवार अलैँची खेतीमा संलग्न छन् भने झन्डै ८ सय अलैँची व्यवसायी छन् ।
प्रतिक्रिया 4