Comments Add Comment

प्रधानमन्त्रीबाट संसदको निर्देशन अवज्ञा भयोः गगन थापा

हामीले कस्तो राज्य बनाउन खोजेका हौं ? कसको राज्य ?

Gagan Thapa (3)

२९ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नै क्याबिनेटका प्रधानमन्त्री प्रचण्डको सार्वजनिक आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले आइतबार सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेर संसदको निर्देशनको समेत अवज्ञा गरेको मन्त्री थापाको आरोप छ ।

आफूले संसदको निर्देशनअनुसार उपचार खर्चसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषदमा पेश गरिसकेको जानकारी दिँदै मन्त्री थापाले आफू पोखरामा भएका बेला प्रधानमन्त्री प्रचण्डले गलत काम गरेको बताए ।

सरकारले आइतबार कांग्रे नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेपछि हामीले मन्त्री थापालाई यसबारे छोटो प्रतिक्रिया लिने प्रयास गर्‍यौंः

नेतालाई उपचारखर्चका नाममा जथाभावी पैसा बाँड्ने बेथिति बढिरहेको छ । तपाई यसलाई रोक्न उपचार खर्चसम्बन्धी कार्यविधि बनाउँछु भन्दैहुनुहुन्थ्यो । तर, आइतबार अकस्मात सुजातालाई ५० लाख दिने निर्णय भयो । यसमा स्वास्थ्यमन्त्रीका हिसाबले तपाईको के कति भूमिका छ ? जनतालाई प्रष्ट पारिदिनुपर्‍यो…

हामी मन्त्रिपरिषदमा जानासाथै डा. तुल्सी गिरीको स्वास्थ्योपचारको विषय आयो । त्योबेलामा मैले योभन्दा पहिले जसरी वितरण गरिएको छ, त्यो उपयुक्त छैन, यसलाई रोक्नुपर्छ भन्ने कुरा राखें । प्रधानमन्त्रीजी आफैंले ‘तपाईले ठीक भन्नुभयो, यसलाई कार्यविधि बनाउनुपर्छ’ भन्नुभयो ।
यहीवीचमा व्यवस्थापिका संसदको अर्थ समितिको बैठकले पनि लामो छलफल गरेर प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयलाई कार्यविधि बनाऊ र स्वास्थ्य मन्त्रालयले यसमा मुख्य काम गर भनेर निर्देशन दियो ।

संसदको त्यही निर्देशन अनुसार हामीले कार्यविधि बनाउने काम गरिरहेका थियौं । र, पछिल्लो समयमा बाहिर यो हल्ला आइसकेपछि अझ हामीले यसमा छिटो गर्नुपर्छ भनेर काम अघि बढायौं । प्रधानमन्त्रीलाई पनि सहयोग पुग्छ भनेर छिटो छिटो काम गर्‍यौं । पछिल्लो दुई तीनदिनसम्म अरु सबै काम छाडेर यसमा मात्रै काम गरेर कार्यविधि बनाइयो । र, कानून मन्त्रालयको पनि स्वीकृति लिएर त्यो कार्यविधि मन्त्रिपरिषदमा गएको छ । र, मन्त्रिपरिषदको एजेण्डामा पनि यो विषय परेको छ ।

क्याबिनेटमा पुगेको त्यो कार्यविधि कता हरायो ?

बैठक जुन दिन बस्नुपर्ने थियो, त्यो दिन बैठक बसेन । अन्तिम क्षणमा प्रधानमन्त्री बाहिर हुनुभएकाले बैठक सारियो । दोस्रो दिन पनि बैठक सारियो । म अहिले तरुण दलको अधिवेशनको क्रममा पोखरामा छु । वितरण गरिएको एजेण्डामा ५० लाखको कुरा केही पनि छैन । वितरण गरिएको एजेण्डामा कार्यविधिमात्रै छ । ५० लाखको प्रस्ताव केही पनि छैन । तर, मैले के सुने भने वितरण गरिएको कार्यविधिको एजेण्डालाई चाँहि रोकियो र ५० लाख रुपैयाँ दिनुपर्छ भन्ने प्रस्ताव लिएर आइयो ।

उसोभए सुजातालाई ५० लाख दिने मन्त्रिपरिषदको आइतबारको निर्णयमा तपाईको कुनै सहमति वा संलग्नता छैन त ?

यसले दुईवटा प्रश्न उठाएको छ । एउटाचाँहि वितरण गरिएको प्रस्ताव मन्त्रिपरिषदमा भइरहेका बेलामा र संसदले भनेको मूल प्रस्ताव त्यहाँरहिरहेका बेलामा त्यो प्रस्तावलाई तामेलीमा राखिदिएर अर्को प्रस्तावबाट निर्णय गर्ने कुराले संसदले दिएको निर्देशन अवज्ञा हो ।

अर्को, स्वयं प्रधानमन्त्रीज्यूले आफूले भन्नुभएको कुराको पनि अवज्ञा भयो । सही र गलतको सन्दर्भबाट हेर्दा पनि यो सर्वथा गलत निर्णय हो । प्रक्रियाको हिसाबले पनि गलत भयो र त्यो कामका हिसाबले पनि गलत भयो ।

मलाई दुख के कुरामा लागेको छ भने मैले काम गरेर, मेहनत गरेर एउटा सजिलो वातावरण बनाइदिँदै गर्दा फेरि पनि त्यसको प्रयोग भएन । आफूले सँगै बसेर त्यसको सामना गर्न पाइएन, यसमा दुःख लागेको छ ।

प्रधानमन्त्री प्रचण्डले ठूलै गल्ती गरे भन्ने तपाईको निश्कर्ष हो ?

सामान्यतः स्वास्थ्यमन्त्रीको हैसियतबाट मेरा हातमा अधिकार भएका बेला मैले त बढीभन्दा बढी मान्छेलाई पैसा बाँड्ने रहर राख्नुपर्ने हो नि, तर मैले त्यसो गर्नु गलत हुन्छ भनेर त्यसलाई नियमन गर्ने प्रस्ताव ल्याएँ । मैले नै यसो गर्नुहुँदैन भन्नु त प्रधानमन्त्रीका लागि एउटा राम्रो अवसर थियो । यसलाई उहाँले सदुपयोग गर्न सक्नुभएन ।

कतिपय मान्छेले मेरो पार्टीभित्र यसले व्यक्तिगतरुपमा पो आग्रह राख्यो कि पनि भने होलान् । तर, मैले सार्वजनिकरुपमा के कुरा उदघोष गरेको छु भने भोलि म सर्वसाधारण नागरिक हुन्छु, त्यसबेला मलाई अप्ठ्यारो होला, रोगव्याधि लाग्ला, बरु मैले उपचार गर्न सकिँन भने हात फैलाएर आम मान्छेसँग मागौंला । तर, राज्यको कोषबाट एक रुपैयाँ पनि लिन्न भनेर सार्वजनिक उदघोष गरेर मैले यो निर्णय गर्ने आँट गरेको छु ।

Prachanda

यसलाई त एउटा मौकाको रुपमा उपयोग गर्नुपर्ने हो नि प्रधानमन्त्रीज्यूले । तर, यसरी नियमन गर्नुपर्ने ठाउँमा झन् उल्टो प्रस्ताव आयो ।
मजस्तो युवा मन्त्रीले गरेको प्रयासलाई प्रधानमन्त्रीज्यूले हौसला दिनुपर्ने ठाउँमा यसलाई लत्याएर जुन पैसा बाँड्ने काम भयो, यो विगतकै निरन्तरता हो । यो कुनै नयाँ काम होइन ।

तर, कांग्रेसकै केही नेताहरु त के भन्छन् भने केपी ओलीले उपचार खर्च लिन हुने, सुजाताले लिँदा किन हल्ला गर्ने ?

यसले अर्को पनि एउटा प्रश्न उठायो- हामीले यो राज्य कस्तो बनाउन खोजेको ? यो राज्य कसका लागि हो ? मेरो मन्त्रालयमा मात्रै हजारभन्दा बढी बिरामीहरुका निवेदन छन् । दुःख पाएका महिलाहरुको निवेदन छ, कसैलाई स्तन क्यान्सर भएको छ, कसैलाई मृगौलामा समस्या भएको निवेदन छ । अब ती निवेदनहरुमा मैले के गर्ने ? सरकारले उनीहरुलाई के गर्छ ? उनीहरुलाई उपचार खर्च दिने कि नदिने ? उनीहरुले भन्छन्- बाँच्ने रहर छ । बाँच्ने रहर त सबैलाई हुन्छ । उनीहरुले उपचार गर्ने क्षमता नभएर ती निवेदन दिएका छन् । हाम्रो राज्य कसका लागि हो ?

५० लाख दिने निर्णय गर्नुपूर्व स्वास्थ्यमन्त्रीलाई एकैवचन सोधिएन ?

अहँ । बरु मैले प्रयास गरें । मैले समयमै कार्यविधि सम्बन्धी प्रस्ताव लिएर क्याबिनेटमा गएँ । संसदको निर्देशन छ भन्ने कुरा प्रधानमन्त्रीले थाहा पाउनुपर्छ भनेर त्यो पनि जानकारी गराएँ । मैले सक्ने मेहनेत गरें । दुर्भाग्य र मलाई दुःख लागेको के हो भने वितरीत एजेण्डामा भएको प्रस्ताव हटाइयो । त्यो एजेण्डामै थिएन, एजेण्डा मन्त्रिपरिषदमा लिएर गइयो । तर, बकैठक बसेन । अहिले बाहिर भएका बेलामा पर्‍यो ।

मूल रुपमा प्रधानमन्त्रीलाई मैले सहजता र अनुकूलता बनाएको थिएँ । सजिलोसँग प्रधानमन्त्रीजीले यो कार्यविधिमा टेकेर अगाडि जान सक्नुहुन्थ्यो ।

तर, प्रधानमन्त्रीलाई तपाईकै पार्टीका नेता शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले दबाव दिएपछि उनले यस्तो निर्णय गरेका होइनन् ?

म नेपाली कांग्रेसको नेता, स्वास्थ्यमन्त्री छु । मैले हतार-हतार ५० लाख दिनुपर्छ भन्ने प्रस्ताव लिएर आएको भए पो उहाँलाई दबाव हुन्थ्यो । मैले मेरै पार्टीको व्यक्ति हुँदाहुँदै पनि यो कुरा गलत हो, यस्तो निर्णय गर्नुहुँदैन भनेर भनिसकेपछि म पनि त क्याबिनेटको मिनिस्टर हुँ नि त ।

उसोभए प्रधानमन्त्रीले दबावमा परेर सुजातालाई ५० लाख दिएको भन्ने कुरा गलत हो त ?

प्रधानमन्त्रीलाई दबाव त मेरो पनि थियो नि त । मेरो त झन् प्रक्रियागत हिसाबले दबाव थियो नि प्रधानमन्त्रीलाई । यसलाई दबाव नमान्ने ? प्रधानमन्त्रीज्यूलाई संसदको दबाव थिएन ? संसदको दबाव नमान्ने ?

तपाई अब के गुर्नहुन्छ ?

मन्त्रिपरिषदको बैठकमा मेरो एजेण्डा छ । अर्को बैठकमा त्यसलाई पारित गराउन लाग्छु । सँगसँगै, म अब सयौंको संख्यामा हाम्रो मन्त्रालयमा आएर बसेका उपचार खर्च सम्बन्धी निवेदनहरुलाई पनि अघि बढाउँछु । उहाँहरुले पनि उपचार खर्च पाउनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment