वुधबार भारतको सिक्किममा सम्पन्न भएको ‘चौथो इनास अवार्ड’ अहिले विभिन्न कारणले विवादको घेरामा छ । विशेषगरि, आयोजकको व्यवस्थापनमा कमजोरी हुँदा अवार्डको सिंगो स्वरुप नै विवादमा पर्न पुग्यो ।
पत्रकारदेखि कलाकारलाई उचित व्यवस्थापन गर्न नसक्दा अवार्डले आलोचना मात्र भोगिरहेको छैन, अब विदेशमा आयोजना हुने अन्य अवार्डमा कलाकारको सहभागीतालाई लिएर प्रश्न उठेको छ ।
विवादकै विचमा पनि सिक्किम अवार्डमा क्रममा केहि रोचक कुरा देखिएका छन् । ६ घन्टा लगाएर भएपनि अवार्ड समारोह सम्पन्न भयो । केहि दर्शकले धैर्य गरेर भएपनि अवार्ड पुरै हेरे ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट नायक-नायिका भएको अवार्ड समारोहमा भाग लिन बलिउडकी सफल नायिका मनिषा कोइराला सिक्किम पुगिन् । सिक्किम सरकारको सहयोग र चलचित्र विकास बोर्ड ‘सिक्किम’सँग सहकार्य गर्दै इनास अवार्ड सम्पन्न भयो । यो अवार्ड आयोजनापछि आयोजकले थुप्रै पाठ सिक्नुपर्ने देखिन्छ ।
अवार्डमा नायक राजेश हमाल, नायिका मनिषा कोइराला, निरुता सिंह, करिश्मा मानन्धर, संगीतकार रन्जित गजमेर, छायांकार विनोद प्रधान लगायतलाई सम्मान गरियो । तर, सम्मान मध्यरातमा हुँदा दर्शक र मिडियाको उपस्थिती कमजोर देखियो । गिरान्चौरमा बस्ती बसालेर विश्वभरका नेपाली माँझ चर्चित बनेका सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई विशेष सम्मान गरियो । अवार्डमा भाग लिन पुगेका यो जोडीको कामलाई सिक्किमका जनताले खुलेरै प्रशंसा गरेका थिए ।
अवार्डमा भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार डेनीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । तर, विरामी भएका कारण डेनी कार्यक्रममा उपस्थित हुन सकेनन् ।
सिक्किममा नेपाली कलाकारको क्रेज निकै देखियो । नायक राजेश हमाल, आर्यन सिग्देल, नायिका करिश्मा मानन्धर, निरुता सिंह, संचिता लुइटेल, हाँस्य कलाकारहरु दीपाश्री निरौला, दीपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे दर्शकमाँझ घेरिए । उनीहरुसँग तस्बिर खिच्न सामान्य दर्शकदेखि सिक्किम प्रहरीका जवानहरु पनि लालयित देखिएको दृश्य आफैमा रोचक थियो ।
सिक्किमा सर्वाधिक खोजी गरिएका नायक थिए, अनमोल केसी । अनमोल सिक्किम अवार्डमा पुगेको भए संभवत उनको सुरक्षाका लागि ठूलै संख्यामा प्रहरी परिचालित गर्नुपर्ने थियो । अवार्डमा पुग्ने स्कुले विद्यार्थीदेखि यूवायूवतीहरु अनमोलको बारेमा चासो राखिरहेका थिए । धेरै यूवायूवती त अनमोलको निकै ठूलो फ्यान भएको बताएका थिए । सायद, चलचित्र ‘डि्रम्स’का लेखक सामिप्यराज तिमिल्सिनालाई घेरेर स्कुले विद्यार्थीहरुले अटोग्राफ लिनुको कारण पनि अनमोल क्रेज हुनसक्छ ।
सिक्किमका दर्शकले नेपाली चलचित्र हलमा गएर हेर्न पाउँदैनन् । तर, उनीहरुले युटुबमै हेरेर भएपनि नेपाली चलचित्रका अधिकांश कलाकारलाई चिनेका छन् । नेपाली चलचित्रप्रति उनीहरुको मोह आफैमा लोभलाग्दो थियो ।
सिक्किममा पुग्ने क्रममा गाडीमा भेटिएका सह-चालक ‘सुकु’को चलचित्र वुझाई र मोहले पनि नेपाली चलचित्र क्रेज प्रष्ट हुन्छ । नेपाली चलचित्र र कलाकारको अभिनयलाई गहिरो रुपमा केलाएर हेर्ने गरेको ‘सुकु’ अनमोल केसी र राजेश हमालको खुबै फ्यान देखिए । उनले चलचित्र ‘प्रेमगीत’का नायक प्रदिप खड्काको गेटअप किन केटीको जस्तै देखिएको भनेर पत्रकारलाई प्रश्न गरे ?
अवार्ड समारोहमा सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङ उपस्थिती हुनु, अवार्डको भोलीपल्ट चाम्लिङले नेपाली कलाकारका लागि राखेको रात्री भोजले पनि सिक्किममा नेपाली चलचित्रको प्रदर्शनका लागि पहल गर्न सके राज्य पनि सकारात्मक छ भन्ने वुझ्न सकिन्छ ।
व्यवस्थापनमा ठूलो त्रुटी, लामो अवार्डका कारण पनि सिक्किममा आयोजित अवार्ड समारोह चर्को विवादमा परेको छ । तर, अवार्डमा पुगेका कलाकार, उनीहरुको क्रेज र नेपाली चलचित्रप्रति सिक्किमेली जनताको प्रेम हेर्दा, नेपाली चलचित्रको बजार विस्तार सिक्किममा गर्न ढिलाई गर्नु हुँदैन भन्ने आवाज त्यहाँ पुग्ने सबै कलाकार र पत्रकारले उठाएका छन् । यस बिषयमा, सबैले चासो दिन जरुरी छ ।
तस्बिरः कमल प्रसाई
प्रतिक्रिया 4