Comments Add Comment

साझालाई नयाँ रुटमा अनुमतिः विमानस्थलबाट लगेजसहित नयाँबसपार्कको यात्रा

sajha new bus 11 (1)
२ मंसिर, काठमाडौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरुका लागि काठमाडौं उपत्यकाभित्र तय गरेको रुटमा नै सञ्चालन इजाजत पाएको छ । सबै रुटमा बुधबार नै यातायात व्यवस्था विभागबाट रुट अनुमति पाएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

पूर्ण रुपमा एउटा नयाँ रुटसहित पुराना रुट विस्तार गरेर साझाले ४ वटा रुटका लागि इजाजत मागेको थियो । नयाँ रुटअनुसार अब अन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका यात्रुले आफ्नो लगेज साझा बसमै राखेर नयाँबसपार्कसम्म पुग्न सक्नेछन् ।

यसले विशेष गरेर विदेशबाट फर्किनेहरु बढी लाभान्वित हुनेछन् । साझाले आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म सेवा दिने पक्का भएको छ ।

पाण्डेयअनुसार सबै रुटमा बस चलाउन आवश्यक तयारी पुरा भएको छ र अब छिटै साझा बसले नयाा रुटमा सेवा थाल्नेछ ।

साझाले नयाँ बसमा लागि ड्राइभर र कन्डक्टरको पनि नियुक्ति गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै विस्तारित बस सेवाको औपचारिक सुरुवात गर्ने तयारी साझाको छ । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किनेर ल्याएको छ ।

साझाले सञ्चालन अनुमति पाएका रुटहरु निम्न हुन् ।

रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चल्नेछ। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस चल्नेछन् ।

sajha-bus-routes-final
रुट नम्बर ३ः
यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।

साझाले अब काठमाडौंमा ३८ वटा बस चलाउने छ । साझाका ८ वटा बसले गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जमा चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment