+
+

नोटबन्दीको विरोध गर्दै ममताले सोधिन्- मोदी सरकारको टाउकोमा के छ ?

केजरीवालले दिल्लीमा, ममताले बंगालमा आन्दोलन छेड्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १७:१२

mamata-kejriwal

३ मंसिर, काठमाडौं । मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आन्दोलनमा उत्रने चेतावनी दिएकी छिन् । नयाँ दिल्लीमा विहीबार अर्का मुख्यमन्त्री अरविन्द केजरीवालसँग हस्त मिलान गर्दै ममताले सरकारविरुद्ध आन्दोलनको उदघोष गरेकी हुन् ।

नोटमाथिको प्रतिबन्धका कारण कठिनाइको सामना गरिरहेको मोदी सरकार ममता र केजरीवालजस्ता दुई शक्तिशाली मुख्यमन्त्रीहरुको आन्दोलनमा उत्रने चेतावनीका कारण थप संकटमा परेको छ ।

बिहीबार दिल्लीको आजादपुरमा ममता र केजसरीवालले एएटै सभालाई सम्बोधन गरेका थिए । संयुक्त जनसभालाई सम्वोधन गर्दै मुख्यमन्त्री ब्यानर्जीले तीन दिनभित्र नोटबन्दीको निर्णय फिर्ता लिन केन्द्र सरकारलाई चुनौती दिइन् ।

ममताले भनिन्-‘ तीनदिनभित्र नोटबन्दीको निर्णय फिर्ता नलिए केन्द्र सरकारविरुद्ध आन्दोलन हुनेछ ।’

narendra_modi

त्रिणमूल कांग्रेसकी प्रमुखसमेत रहेकी नेतृ ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीब्र आक्रोश पोख्दै प्रश्न गरिन्- ‘केन्द्र सरकारको टाउकोमा के छ ? मानिसहरुले कष्ट झेल्नु परे संविधानको रक्षा कसले गर्ने ?’

मोदी सरकारले भारु ५ सय र १ हजारको नोटमाथि लगाएको प्रतिबन्धबाट जनताले सास्ती व्यहोर्नुपरेको भन्दै मुख्यमन्त्री ब्यानर्जीले संयुक्त सभामा भनिन्-‘प्लाष्टिक मनी बारे कतिलाई थाहा छ ? कतिजनाले डेबिट र क्रेडिट कार्डको प्रयोग गर्छन् ? बजार बन्द छ । खेतमा फसल नष्ट भइरहेको छ । कृषकहरु मरिरहेका छन् । के यसैलाई राम्रो दिन भनिन्छ ?’

ममताले मोदीमाथि आक्रोश पोख्दै भनिन्- ‘मोदीजीले विदेश गएर देशको कुरा बिर्सेका छन् ।’

पश्चिम बंगलानमा दोस्रोपटक मुख्यमन्त्री बनेकी ममता झ्वाँक्की  नेतृका रुपमा चिनिन्छन् । उनले दिल्लीको सभामा त्यस्तै झ्वाँक देखाउँदै भनिन्- ‘हामी लडाकू हौं, कुनै पनि राजनीतिज्ञसँग भयभीत हुँदैनौं ।  म र केजरीवाल यो लडाइँमा एक छौं ।’

मोदीले ८ लाख करोड घोटाला गर्दैछन्: केजरीवाल

मोदी सरकारविरुद्ध ममता ब्यानर्जीसँग एलाइन्स गर्न पुगेका दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि तीन दिनभित्र नोटमाथिको प्रतिबन्ध फिर्ता नलिइए आन्दोलनमा उत्रने चेतावनी दिए ।

arvind-kejariwal

संयुक्त विरोध सभामा बोल्दै केजरीवालले भने- ‘नरेन्द्र मोदी सरकारले विजय माल्यालाई देशबाट भाग्ने अवसर दियो, नोटबन्दी देशको सबैभन्दा ठूलो ८ लाख करोड रुपैयाँको घोटाला हो ।’

मुख्यमन्त्री केजरीवालले अगाडि भने- ‘बैंकहरुको लाइनमा उभिएर मानिसहरुले १० लाख करोड बुझाउनेछन् अनि मोदीले उनका मित्रहरुलाई ८ लाख करोड रुपैयाँ ऋण माफी गर्नेछन् ।’

काश्मिरका नेता पनि मोदी सरकारको विरोधमा

भारु ५ सय र हजारका नोटमाथि प्रतिबन्ध लागेपछि विभिन्न राज्यका मुख्यमन्त्रीहरु मोदी सरकारको विरोधमा सडकमै उत्रिन थालेका छन् । उनीहरुले नोटमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारलाई दबाव दिएका छन् ।

यसैक्रममा मुख्यमन्त्री ममताले बुधबार राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर विरोधपत्र दर्ता गराएकी थिइन् । उनका साथमा जम्मु काश्मिरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्ला पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

त्यसैगरी आम आदमी पार्टी र शिव सेनाका प्रतिनिधिहरु पनि राष्ट्रपतिकहाँ डेलिगेसन गएका थिए ।

अर्थमन्त्री जेटली भन्छन्- निर्णय फिर्ता हुँदैन

arun-jetley

यसैवीच भारतीय वित्तमन्त्री अरुण जेटलीले नोटबन्दीको निर्णय फिर्ता नहुने बताएका छन् । यो निर्णयले जनताको जीवनस्तर राम्रो हुने भन्दै जेटलीले सबै राजनीतिक दलहरुले यसलाई समर्थन गर्नुपर्ने बताएका छन् ।

स्रोतका अनुसार वित्तमन्त्री जेटलीले भने- ‘एटीएमको समस्या चाँडो समाधान हुनेछ, ठूला डिफल्डरहरुको ऋण माफी गरिने छैन । रिकभरीको प्रयास गरिने छ । कालो धनविरुद्ध गरिएको यो प्रयासलाई आतंकवादसँग तुलना गर्नु देशको अपमान हो ।’

भारतीय अर्थमन्त्री जेटलीले बैंकहरुमा सर्वसाधारणको लाइन घट्दै गएको र बैंकका कर्मचारीले बिहानदेखि रातिसम्म काम गरिरहेको बताए ।

दिनमा ४ हजार रुपैयाँ साट्न सकिने सुविधालाई मानिसहरुले दुरुपयोग गरेका कारण एक दिनमा दुई हजार रुपैयाँमात्रै सटही गर्न सकिने व्यवस्था गरिएको मन्त्री जेटलीले बताए ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?