+
+

बालेनले गरेको फोहोर राजनीति

अमृत चिमरिया अमृत चिमरिया
२०८१ जेठ १३ गते २१:१०

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार कार्यालय बन्द भएको समयमा सडक विभाग र डिभिजन सडक कार्यालय, काठमाडौंको मूलगेटमा फोहोर थुपारिदियो ।

फोहोर फालेको भिडियो महानगरका मेयर बालेन शाह आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

मेयर बालेनले संघीय सरकारलाई ‘मायाको चिनो’ भन्दै थुपारेको फोहोर सम्बन्धित कार्यालय आफैंले उठाएको छ, तर सामाजिक सञ्जालमा भने हुरीले उठाए जस्तैगरी फैलियो ।

कतिपय सर्वसाधारणले बालेनको कदमको तारिफ गरेका छन् । तर राजनीतिक विश्लेषकहरु भने जनताले परम्परागत दलहरुको विकल्पमा चुनेका मेयरको शासन शैलीले विधिको शासनभन्दा अराजकतालाई बल दिने चिन्ता व्यक्त गर्छन् ।

न्यूरोडमा फुटपाथ विस्तार गर्न नपाएको रिस

कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारमा ढिलासुस्ती गर्दा महानगरवासीले धुलो खानु परेकाले भौतिक पूर्वाधारमन्त्रीलाई पनि उपहार दिएको दाबी बालेनले गरेका छन् । तर यो घटना रिङरोडभन्दा न्यूरोडसँग जोडिएको देखिन्छ ।

काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना अघि सारेको थियो । न्यूरोड क्षेत्रमा हाल ११ मिटरको सडक छ भने दुवैतर्फ फुटपाथ छ । महानगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडकलाई ७ मिटरमा झारेर फुटपाथ ४ देखि साढे ४ मिटरसम्म बनाउने योजना अघि सार्‍यो ।

महानगरका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा ८ मंसिर २०८० मा बोलपत्र आह्वान भएको थियो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए ।

करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाख २०८१ मा छनोट गर्‍यो ।

त्यसका लागि अनुमति माग गर्दै ४ असोजमा सडक डिभिजन कार्यालय, काठमाडौंमा पत्र पठायो ।

फुटपाथ विस्तारकै लागि महानगरले ८ माघदेखि न्युरोड क्षेत्रमा सडकमा हुने गरेको एकतर्फ पार्किङ पनि हटाएको छ ।

तर सडक विभागले अहिलेसम्म अनुमति दिएको छैन । पछिल्लो पटक ११ जेठ (शुक्रबार) मेयर बालेन आफैं सडक डिभिजन कार्यालय, मीनभवन पुगेर कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणदत्त भण्डारीसँग छलफल गरे ।

‘उहाँले आफ्नो योजना सुनाउनुभयो, हामीले कानुनी प्रावधान भन्यौं’ भण्डारीले भने, ‘सडकको चौडाइ घटाउन त क्याबिनेटले नै निर्णय गर्नुपर्छ भनेपछि उहाँ कन्भिस हुनुभएको थियो, तर शनिबार अचानक सडक काट्न थाल्नुभएछ ।’

न्यूरोडमा शनिबार काठमाडौं महानगरपालिकाको ठेकेदारले काटेको पिच । तस्वीर : शंकर गिरी/अनलाइनखबर ।

शनिबार बिहानै पशुपति कन्स्ट्रक्सनका कामदारले न्यूरोड क्षेत्रमा सडकको पिच काट्न थालेका थिए । सुरुमा स्थानीयले विरोध गरे । त्यसपछि सडक डिभिजन कार्यालयको टोली आयो ।

टोलीले अनुमति विना सडकको पिच काटेको भन्दै काम रोक्न लगाउनुका साथै पिच कटर समेत जफत गर्‍यो ।

कार्यालय प्रमुख भण्डारीका अनुसार यो सडक डिभिजन सडक कार्यालयको मातहतमा पर्छ र यहाँ कुनै पनि काम गर्दा कार्यालयबाट अनुमति लिनुपर्छ । महानगरले सडक घटाएर फुटपाथ विस्तार गर्ने योजनाबारे जानकारी गराए पनि अनुमति पाएको थिएन । त्यसैले काम रोक्नुपरेको उनले बताए ।

त्यसको जवाफमा महानगरको ट्रक सडक विभाग र डिभिजन कार्यालयको मूल गेट अगाडि फोहोर थुपारेको छ । बालेनकै आदेशमा दुवै कार्यालय अगाडि धुलो फाल्ने काम गरिएको मेयरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए ।

यसको सडक डिभिजन कार्यालयले भने कडा प्रतिवाद गरेको छ । शनिबार साँझ नै विज्ञप्ति निकालेर कार्यालयले महानगरको कदमलाई अराजक भनेको छ र, आगामी दिनमा सह्य नहुने चेतावनी दिएको छ ।

कार्यालयका प्रमुख भण्डारीका अनुसार आइतबार नै काठमाडौं महानगरलाई लिखित पत्र नै पठाउने तयारी छ । ‘अब त्यस्तो नगर्न आग्रह गर्छौं’ उनले अगाडि भने, ‘जिल्ला प्रशासन कार्यालयलाई पनि शान्ति सुरक्षाको लागि पत्र पठाउँछौं ।’

बालेनको पुरानै कार्यशैली

संविधानमा संघीय, प्रदेश र स्थानीय तह गरी ७६१ सरकारका एकल र साझा अधिकार तोकिएका छन् । यीमध्ये संघको ८७३, प्रदेशको ५६७ र स्थानीय तहको ३५५ कार्यक्षेत्र र क्षेत्राधिकार स्पष्ट गरिएको छ ।

संविधानतः यी शासकीय इकाइहरू न एकअर्काका प्रतिस्पर्धी हुन् न कुनै एक अर्काको मातहतका अंग हुन् । यिनीहरू त सिंगो प्रणालीमा आबद्ध सहयोगी र परिपूरक संचरना हुन् । तर राज्यशक्तिको अभ्यासका कानुनी अस्पष्टता, सहकार्य र समन्वयको अभावका बेला अस्वस्थ प्रतिस्पर्धा विभिन्न रूपमा प्रकट हुने गरेका छन् ।

स्थानीय तहका नेतृत्वसँग यस्ता समन्वयका समस्या र असन्तुष्टि भएपनि काठमाडौं महानगरको मेयर बालेनको कार्यशैलीले भने समय समयमा तरङ्ग ल्याउने गरेको छ ।

आफूले चाहे अनुसार गर्न नपाउँदा उनले केन्द्र सरकारलाई असहयोग गर्ने नीति लिएको देखिन्छ ।

सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयले सहयोग नगरेको भन्दै उनकै निर्देशनमा काठमाडौं महानगरले २६ चैत २०७९ देखि सिंहदरबार परिसरको फोहोर नै उठाउन छाडेको थियो । सर्वोच्च अदालतले ८ वैशाख २०८० मा ३ दिनभित्र फोहोर संकलन गर्न आदेश दिएपछि महानगर पछाडि हट्न बाध्य भयो ।

भदौ २०८० मा सार्वजनिक बिदाको दिन चलाएको भन्दै प्रहरीले महानगरको गाडी रोकेर चालकलाई सोधपुछ गर्दा सिंहदरबारमै आगो लगाउने धम्की दिएका थिए । पछिल्लो पटक ७ जेठ २०८१ मा मात्र माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय अगाडि फोहोर फाल्न महानगरको गाडी पठाएका थिए ।

शनिबार सडक विभाग र सडक डिभिजन कार्यालयको मुल गेटमा फोहोर फाल्न लगाए ।

राजनीतिक भद्रगोल, राज्य प्रणाली अकर्मण्य रहँदा नागरिकमा हुर्किइरहेको आक्रोश र असन्तोषमा लोकरिझ्ँयाईंको रोटी सेकिरहेको आरोप बालेनमाथि लाग्ने गरेको छ ।

न्यूरोडको फुटपाथ विस्तार गर्ने योजना आफैंमा राम्रो भएपनि आफू भनेअनुसार नभएकै भरमा स्थानीय सरकार प्रमुखले नै सरकारी कार्यालय अगाडि फोहोर फाल्न लगाउनु गलत भएको उनीहरु बताउँछन् ।

उनीहरूका अनुसार राज्य प्रणालीमा समस्या छ, राजनीतिमा पनि उस्तै भद्रगोल छ । त्यही भएर आम नागरिकले परम्परागत दलहरूको साटो बालेनलाई महानगरको मेयर चुनेका हुन् । स्रोत साधन सम्पन्न काठमाडौं महानगरका मेयर बालेनले २ वर्षमा नयाँपन देखिनेगरी थुप्रै काम गर्न सक्थे । त्यसरी काम गरेको भए संघीय सरकारमा भएकाहरूलाई पनि दबाब हुन्थ्यो ।

‘मेयर बालेनलाई स्थानीय तहबाट केन्द्रमा आउनसक्ने नेताका रूपमा हेरिएको थियो’, नाम उल्लेख गर्न नचाहने एक विश्लेषक भन्छन्, ‘तर आक्रोशित भिडलाई मात्र ध्यान दिने उहाँको शासनशैलीले अराजकता ल्याउँछ । यसले स्वयम् उहाँलाई पनि फाइदा गर्दैन ।’

वैकल्पिक राजनीतिको वकालत गरेका, तर हाल राजनीतिमा सक्रिय नरहेका पूर्वसचिव किशोर थापा पनि बालेनले शनिबार जे गरे, त्यसलाई सही भन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘यो घटना राम्रो होइन’, उनले भने, ‘केके न गर्‍यो जस्तो गरिएको छ, यसरी बढाइचढाइ गरेर अराजकतालाई प्रोत्साहन गर्नै हुँदैन ।’

उनका अनुसार काठमाडौं शहरमा संघीय र स्थानीय दुवै सरकार भएकाले कुनै पनि काम गर्दा मिलेर गर्नुपर्छ । ‘संघले आफ्नो नीति तथा कार्यक्रम लागू गर्दा स्थानीय सरकारसँग समन्वय गर्नुपर्छ, स्थानीय सरकारले पनि संघीय सरकारसँग सरसरल्लाह गरेर काम गर्नुपर्छ’ उनले भने, ‘यसको विकल्प छैन ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?