Comments Add Comment

बालबालिकाको छातीको बनावट बिग्रेको छ ?

कतिपय बालबालिकामा छाती दबिएको वा उठेको देखिन्छ । यसलाई अस्वाभाविक मानिन्छ । चिकित्सा विज्ञानमा दबिएको छातीलाई पेक्टस एस्कभेटम (Pectus Excavation) तथा उठेको छातीलाई पेक्टस क्यारिनेटम (Pectus Carinatum) भनिन्छ । यस्तो समस्या एक हजारदेखि पन्ध्र सय बालबालिकामध्ये एक जनामा पाइन्छ ।

यस्तो के कारणले हुन्छ भनेर यकिन कारण थाहा पाउन गाह्रो पर्छ । तर, यसबाट बालबालिकालाई पर्ने शारीरिक तथा मानसिक समस्याको बारेमा जानकारी हुन आवश्यक छ ।

पेक्टस एस्कभेटम 

छातीको माथिल्लो भाग दबिएको हुनुलाई पेक्टस एस्कभेटम भनिन्छ । यो समस्या भएका बालबालिकालाई फोक्सो र मुटु सम्बन्धी समस्या बढी पाइन्छ । छातीको असाधारण बनावटको कारणले बालबालिकाको फोक्सो राम्रोसँग फुल्न पाउँदैन । साथसाथै मुटुको चालको गतिमा पनि असर पुग्छ । यसमा सास फेर्न गाह्रो हुने,  खेल्न-कुद्न अप्ठ्यारो हुने, छिटै थाक्ने, मुटुको धड्कन बढ्ने लगायतका मुख्य लक्षण देखा पर्छन् ।

dr-amrit-ghimireपेक्टस क्यारिनेटम 

छातीको माथिल्लो भाग उठेको हुनुलाई पेक्टस क्यारिनेटम भनिन्छ । बोलीचालीको भाषामा यस किसिमको छातीको बनावटलाई परेवाको जस्तो छाती (Pegion Chest) पनि भनिन्छ । यस्तो समस्या भएका बालबालिकामा अरु जन्मजात समस्या हुने सम्भावना बढी हुन्छ । त्यसमध्ये मुटुको समस्या प्रमुख हो ।

छातीको असाधारण बनावटले हुने मानसिक असर

बढ्दो उमेरमा बालबालिकाहरु आफ्नो शारीरिक बनावटप्रति निकै संवेदनशील हुन्छन् । छातीको असाधारण बनावटका कारणले उनीहरुमा विभिन्न प्रकारका मानसिक समस्या जन्मिन्छ । तीमध्ये एक्लोपना, नैराश्यता, आत्मविश्वासको कमी, अत्यधिक त्रास लगायत प्रमुख छन् ।

उपचार

अस्वाभाविक छातीको बनावट पहिचान गरिसकेपछि यसको उपचारबारे पनि जान्नु आवश्यक हुन्छ । सँगसँगै यससँग सम्बन्धित अरु समस्याको पनि उपचार गर्नुपर्छ । त्यसका लागि बालरोग तथा बाल छातीरोग विशेषज्ञ, बाल शल्य चिकित्सक, बाल मुटुरोग विशेषज्ञ तथा बाल मानसिक रोग विशेषज्ञको भूमिका महत्वपूर्ण हुन्छ ।

समस्याको सही पहिचान गरिसकेपछि चिकित्सकको सल्लाह अनुसार केही परिक्षण गर्नु आवश्यक हुन्छ । तीमध्ये फोक्सोको परीक्षण (पल्मोनरी फङ्सन टेष्ट) प्रमुख हो । यस परीक्षणबाट फोक्सोले ठीक काम गरे-नगरेको थाहा हुन्छ ।

अर्को महत्वपूर्ण परीक्षणमा मुटुको परीक्षण पनि पर्छ । मुटुका लागि गरिने इसिजी र इकोकार्डियोग्राफीले मुटुमा परेको असरबारे जानकारी दिन्छ । कतिपय अवस्थामा छातीको सिटी स्क्यान समेत गर्नुपर्ने हुन सक्छ ।

शल्यकृया गर्नुपर्ने केही निश्चित मापदण्ड हुन्छन् । जसमध्ये मुटु वा फोक्सोमा समस्या भएमा अथवा छाती निकै दबिएको पाइएमा शल्यकृया गर्नुपर्ने हुन्छ ।

यस रोगमा हुने मानसिक समस्याको लागि समयमै मानसिक रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । कुनै पनि बिरामीको पहिचान, परीक्षण र समयमै सही उपचारका लागि परिवार र समाजको भूमिका महत्वपूर्ण हुन्छ । त्यस्तै, छातीको बनावट अस्वाभाविक भएका बच्चाहरुलाई परिवार र समाजले साथ र हौसला दिनुपर्छ ।

(डा. घिमिरे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका कन्सल्ट्यान्ट,  पेडियाट्रिक पल्मोनोलोजिष्ट हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment