Comments Add Comment

प्रचण्डलाई ओलीको चेतावनीः याद रहोस् संसदमा एमाले पनि छ

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

KP-Sharma-Oli, Chairman of UML
९ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्ड सरकार घातक उद्देश्यले बनेको भन्दै उनले यसले संविधान संशोधन दर्ता गरिछाड्ने बताए ।

एमालेको विद्यार्थी र युवा संगठनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपक्षी दलका नेता ओलीले सरकार र मधेस केन्द्रीत दलमाथि कडा टिप्पणी गरे ।

अरु कसैले मित लगाइदिएर प्रचण्ड सरकार बनेको भन्दै उनले भने, ‘यो सरकार प्रायोजित ढंगले घातक उद्देश्यले बनेको छ । यसले अब संविधान संशोधन प्रस्ताव टेबल गर्छ नै ।’

उनले अघि भने, ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, संसदमा एमाले पनि छ याद रहोस् ।’

आफ्नो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई असफल पार्न यो सरकारले पुरक बजेट पनि ल्याउने ओलीको दाबी छ । उनले भने, ‘हामी त्यो हुन दिँदैनौं ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा चनाखो भएर बस्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘कुनै पनि समय आन्दोलनको आँधिबेहरी सृजना गरेर राष्ट्रियता जोगाउन पर्ने हुनसक्छ ।’

संविधान संशोधन केका लागि ?

ओलीले प्रधानमन्त्री प्रचण्डमाथि धारा प्रवाह प्रश्न वर्षाए । आफूले राजीनामा दिएको ठीक चार महिना पुगेको र प्रचण्ड प्रधानमन्त्री भएको चार महिना पुग्न १० दिन बाँकी रहेको भन्दै उनले अहिलेसम्म ‘तास फिटे झै कुरा फिट्ने’ बाहेक केही काम नगरेको बताए ।

उनले भने, ‘मैले प्रधानमन्त्रीजीलाई भनेको छु कि चुनाव घोषणा गर्नुस्, कानुन ल्याउनुस् ।’

संविधान संशोधनबारे छलफल गर्दा आफूले प्रधानमन्त्रीलाई सोधेको भन्दै उनले केही प्रश्न सुनाए । प्रधानमन्त्रीले प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई छुट्याउने प्रस्ताव ल्याएको भन्दै उनले भने, ‘मैले सोधेको छु कि यो माग कसको हो ?’

उनले अघि भने, ‘अलमलिनु भन्न मिलेन ।’ आफूले अर्को प्रश्न यसो गर्दा के फाइदा हुन्छ ? जनताले पाउने सुविधा के-के हुन् भनेर सोध्दा नाजवाफ भएको ओलीले सुनाए ।

‘आदेश अरुको, कुरा देशको !’

मञ्चमा रहेका माओवादी नेता टोपबहादुर रायमाझीको नाम लिँदै ओलीले लड्नपर्छ तन्दुरुस्त भएर बस्नुस् भनेका छन् । ओलीभन्दा अगाडि बोलेका रायमाझीले यो प्रस्ताव आफूलाई थाहा नभएको तर, पहाड-मधेसलाई छुट्याउन नहुने बताएका थिए ।

उनले संविधान संशोधनको कुरा गर्नेहरुलाई ‘आदेश अरुको, कुरा देशको’ गर्ने गरेको आरोप लगाए ।

‘…मै प्रधानमन्त्री हुन्थें’

एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि अनेक बाचा कबुल गरेर प्रधानमन्त्री बनेको आरोप लगाए । अरु कसैले टाउको समाएर मित लगाइदिएको भन्दै उनले उनीहरुको ध्यान नै संशोधन दर्ता गर्‍यौं हजुर भनेर खबर गर्नमा रहेको दाबी गरे ।

उनले यदि प्रचण्डले गरेको काम गर्छु भनेको भए आफू नै प्रधानमन्त्री रहिरहन्थें होला भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment