Comments Add Comment

निश्चलको प्रश्न-‘२ करोड ६० लाख कमाउँदा ६० लाख मात्र, अरु पैसा कहाँ गयो’ ?

दीपकको गुनासो-' यो ३० प्रतिशत मात्र किन ?'

deepak-nischal
बिहिबार काठमाण्डौको अर्याल होटलमा चलचित्र निर्माता संघको आगामी निर्वाचनका लागि निर्माता तथा निर्देशक आकाश अधिकारीको अध्यक्षतामा प्यानल घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।

तर, पत्रकारहरुले अध्यक्षका उम्मेदवार अधिकारीमाथि बक्स अफिसको प्रश्न सोझाए । सधै बक्स अफिस लाग्छ मात्र भनिने, तर बजारमा यसको बिषयमा विभिन्न खालको बहस भैरहने ? आखिर के हो त बक्स अफिस ? पत्रकारले प्रश्न सोधे ।

पत्रकारको यो प्रश्नले लामो समय मञ्चमा बसेका चलचित्रकर्मीविच बहसको रुप लियो । निर्माता- निर्देशक आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइ, वितरक तथा निर्माता प्रदिपकुमार उदयलाई यो प्रश्न सोधिएको थियो । बोर्ड अध्यक्ष राइले बक्स अफिसको प्रक्रिया सुरु भैसकेको बताए भने निर्माता आकाश अधिकारीले आफूहरुको मुख्य एजेन्डा नै यहि हुने बताए ।

वितरक तथा निर्माता प्रदिपकुमार उदयले बक्स अफिसलाई हाउगुजी हो भने । उनले बक्स अफिस भन्दा निर्माताको सोचाई परिवर्तन हुनुपर्ने बताए ।
यसो भनिरहँदा निर्माता तथा निर्देशक निश्चल बस्नेत र दीपकराज गिरीले प्रश्न सोझाए । निश्चलले चलचित्र ‘लुट’को रिलिजको समयमा पाएको शेयर संझदै भने-‘क्यूएफएक्सबाट मात्र मेरो चलचित्रको ग्रस २ करोड ६० लाख रुपैयाँ भएको थियो । तर, मेरो हातमा जम्मा ६० लाख आयो । बाँकी रकम कहाँ गयो ?’

कार्यक्रममा निश्चलको कुरा, भिडियोमा यहाँ हेर्नुहोस्

निश्चलले बजारमा चलचित्र चल्दा बाहिरबाट हेर्नेले सबैभन्दा धनी निर्माता आफू रहेको अड्कल गर्ने भन्दै भित्री रुपमा वास्तविकता अर्कै भएको सुनाए ।
भर्खर मात्र चलचित्र ‘छक्का पन्जा’को बम्पर व्यापारपछि धेरैलाई निर्माता दीपकराज गिरीको हातमा ठूलै रकम आएको भन्ने लागेको छ । यस बिषयमा दीपकले भने-‘४ करोड ३० लाखको व्यापार एउटै हलमा चलचत्रिले गरेको छ । तर, हिसाब गर्दा हाम्रो हातमा १ करोड र केहि हजार रुपैयाँ आएको छ ।’

दीपकले प्रश्न गर्दै भने-‘कुनै चलचित्र तेश्रो सातादेखि माथि लागेपछि निर्मातालाई मल्टिप्लेक्सबाट ३० प्रतिशत मात्र शेयर दिइन्छ । आखिर यस्तो किन हुन्छ । चौधरीको वाइवाइ बजारमा गएको एक हप्तापछि १५ रुपैयाँ, दोश्रो हप्तादेखि १३ रुपैयाँ भनेर वेचिन्छ र ? अनी चलचित्रमा यत्रो अन्याय किन ?

बक्स अफिस र निर्माता ठगिएको चर्चा नेपाली चलचित्रमा लामो समयदेखि चलिरहेको छ । के, अबको नयाँ कार्यसमितीले यो बिषयमा आवाज उठाउला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment