Comments Add Comment

डा. केसीले भने- सहमति कार्यान्वयन नभए फेरि आन्दोलन

'सरकार गैरजिम्मेवार हुँदा भूकम्प पीडितले दुःख पाए'

१९ मंसिर, काठमाडौं । बाइसौं दिनमा अनसन तोडेका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए फेरि आन्दोलन सुरु गर्ने बताएका छन् ।

govind-kc-10th-ansan1‘पहिले खाएर लड्छु, भनेको । खाएर लडेको पनि हो । तर त्यसको सुनुवाई नभएपछि र बारम्बार सहमति उल्लंघन भएपछि बाध्य भएर आमरण अनसन बस्न परेको हो,’ आइतबार अनसन तोडेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. केसीले भने, ‘यति हुँदा पनि सहमति कार्यान्वयनमा नआए फेरी आन्दोलनमा उत्रिन्छु ।’

भूकम्प पीडित बालिका मर्साङ तामाङको हातबाट जुस पिएर केसीले दशौं पटकको अनसन तोडेका छन् । अनसन तोडेपछि डा. केसीले सरकार र राजनीतिक दलका नेताहरुको गैरजिम्मेवारीका कारण भूकम्प पीडितले दुःख पाएको बताए ।

उनले भने, ‘गत वैशाख १२ को महाभूकम्प पश्चात अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पुनर्निर्माण तथा पुनःस्थापनाको लागि अरबौं रुपैयाँ सहयोग स्वरुप दिएको छ । तर अहिलेसम्म केही ठोस काम भएको छैन । राजनैतिक दल, सरकार तथा संसद गैरजिम्मेवार हुँदा काममा ढिलाई भएको छ ।’

भूकम्पपीडितको सवालमा मात्र नभई हरेक क्षेत्रमा सरकार गैरजिम्मेवारीपूर्ण देखिएकाले नै सिस्टम बसाल्न आफू अनसन बस्नु परेको डा. केसीले बताए ।

वरिष्ठताको आधारमा नभई राजनैतिक भागवण्डाको आधारमा डीन नियुक्त गर्दा आइओएम जस्तो गरिमामय संस्था धरासायी बन्ने भएकाले बाध्य भएर वरिष्ठलाई नै बनाउन आफूले अडान लिएको उनले बताए ।

१२ बुँदे सम्झौता अनुसार केही माग आजैदेखि कार्यान्वयनमा आउने र केही कार्यान्वयनको प्रक्रियामा जाने उनले विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस्  

जुस पिलाएर डा. केसीको अनसन तोडाउने बालिका को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment