Comments Add Comment

एमालेको भारत नीतिः सम्बन्ध सुधार्ने कि गिजोल्ने ?

केपी ओली भन्छन्- छिमेकीको 'कन्सर्न' सम्वोधन गर्न तयार छौं

Kp oli And Modi (4)
फाइल फोटो

२० मंसिर, काठमाडौं । लैनचौरस्थित भारतीय राजदूताबासमा शनिबार मधेसी मोर्चाका नेताहरु राजदूत रणजीत रायसँग गफ गरिरहेका थिए, त्यहीबेला अनिल झाको गोजीमा रहेको मोबाइलको घण्टी बज्यो । फोन रहेछ, केपी ओलीनिवास बालकोटको ।

मधेसी नेताहरु दूताबास जाँदैछन् भन्ने थाहा पाएको बालकोटलाई अलि बढी नै चासो थियो, भारतीय राजदूतले मधेसी नेताहरुसँग के भन्छन् ? र, एमालेका बारेमा दूताबासको धारणा के छ ?

तर, झाको मोवाइलमा यस्तो कुसाइतमा घण्टी बज्यो कि त्यसबेलासम्म नेताहरु दूताबासबाट बाहिरिएकै थिएनन् । बरु, फोनको संयोग यस्तो बेलामा पर्‍यो, जुनबेलामा राजदूतले मधेसी नेतासँग नेकपा एमालेका बारेमा समेत कुरा गरिरहेका थिए ।

भारतीय राजदूत रायले एमालेका बारेमा के टिप्पणी गरे भन्ने चर्चा गर्नुपूर्व एउटा अर्को चर्चा गरौं-

एमाले अध्यक्ष केपी ओलीले आइतबार साँझ नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पादकहरुसँग छलफल गरे । त्यो छलफलमा ओलीले भारतसँग आफूहरुले सम्बन्ध बिगार्न नचाहेको मात्रै बताएनन्, छिमेकीका बारेमा निकै लामो चर्चासमेत गरे ।

तर, केपी ओलीले छिमेकीसँग एमालेले सम्बन्ध सुधार्न चाहेको बताइरहँदा त्यसको भोलिपल्टै एमालेको भातृ संगठनका युवाहरुले भारतीय दूतावास अगाडि प्रदर्शनमात्रै गरेनन्, राजदूत रणजीत रायलाई फिर्ता पठाउन माग समेत गरे ।

uml-activist

भारतसँग सम्बन्ध सुधार गर्न चाहने केपी ओलीको भित्री इच्छा र दूतावास अगाडि एमाले कार्यकर्ताहरुको प्रदर्शनले गर्दा यतिबेला नेपालको राजनीति ‘एमाले भर्सेज भारत’ जस्तै देखिन पुगेको छ ।

नेपालको हरेक राजनीतिक क्रियाकलापमा भारतलेे हस्तक्षेप गरेको देख्ने एमाले नेताहरुको भित्री चाहनाचाँहि भारतसँग दूरी बढाउने नभई सम्बन्ध कसरी सुमधुर बनाउने भन्नेतिरै लक्षित छ भन्ने कुरो आइतबार साँझको केपी ओलीको भनाइले स्पष्ट पारेको छ ।

एमालेको भूमिका देखेर भारतीय राजदूत चकित

मधेसी मोर्चाका नेताहरुसँग भारतीय राजदूत रणजीत रायले एमालेको विषयमा चिन्ता प्रकट गरेका थिए । आफूसँगको भेटमा एमालेका नेताहरुले भारतसँगको मित्रता सुमधुर बनाउन चाहेको बताउने गरेको तर, बाहिर मिडियामा नेताहरुको उल्टो प्रतिक्रिया सुन्दा अचम्मै आग्ने गरेको रायले बताएका थिए ।

‘एमालेका नेताहरुसँग मेरो भेटघाट भइरहेको छ, भेट हुँदा उहाँहरु असाध्यै राम्रो कुरा गर्नुहुन्छ,’ मोर्चाका नेतासँगको भेटमा राजदूत रायको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा एमाले नेताहरुले भारतको विरोध गरेको सुन्दा अचम्मै लाग्छ ।’

Kp-oli-And-Ranjit-ray
फाइल फोटो

एमालेले भारतबारे ‘डबल स्टाण्डर्ड’ अपनाइरहेको भारतीय राजदूतले गुनासो पोखेका थिए । भारतले नेपालको आन्तरिक राजनीतिमा यसो गर र उसो गर भन्ने नचाहेको राजदूतको भनाइ थियो ।

राजदूत रायले मधेसी मोर्चाका नेताहरुलाई पनि धेरै मागहरु राखेर राजनीतिलाई अवरुद्ध पारिराख्नुभन्दा सहमति गरेर अघि बढ्नु राम्रो हुने भारतको धारण सुनाएका थिए ।

मधेसी नेतालाई किन बोलाइयो ?

शनिबार दूताबासमा निम्त्याइएका मधेसी मोर्चाका केही नेताले राजदूत रायलाई यस्तो राजनीतिक परिस्थितिका बेला दूताबासमा बोलाउन गल्ती भएको बताएका थिए । निम्तोलाई अस्वीकार गर्नु औपचारिकता विपरीत हुने भएकाले आफूहरु आएको केही नेताले बताएका थिए ।

एकजना मधेसी नेताले राजदूत रायलाई यतिसम्म भने कि काश्मिरका पृथकतावादीलाई पाकिस्तानले बोलाएर भेट्दा भारतलाई कस्तो हुन्छ ? जवाफमा रायले आफूले सीके राउतलाई दूताबासमा नबोलाएको बताए ।

राजदूतले मधेसी नेताहरुलाई छलफलमा बोलाउनुको कारण बताउँदै आफू आइतबार जनकपुरमा हुलाकी मार्गलगायतका विकास परियोजनासम्बन्धी कार्यक्रममा जान लागेको र त्यसबारे छलफल गर्न चाहेको बताएका थिए ।

भारतीय लगानीका विकास परियोजनाको अनुगमन गर्ने संयन्त्रका प्रमुख रहेका परराष्ट्र सचिवसँग आफूले शुक्रबार यसबारे छलफल गरेको राजदूतले नेताहरुलाई जानकारी दिएका थिए । उनले मधेसको विकासबारे सोच्न नेताहरुलाई आग्रह गर्दै नेपालमा रहेका विकास आयोजनाहरुमा सघाउन भारत प्रतिवद्ध रहेको बताएका थिए ।

भेटमा सहभागी नेताका अनुसार नेपालको राजनीतिका विषयमा मधेसी मोर्चासँग राजदूतले चासो राखेका थिए । भारतले यसबारे विज्ञप्ति निकाल्न लागेको र अहिले भइरहेको संशोधनको प्रयासले सकारात्मक बाटोतिर नेपाललाई लैजाने विश्वास भए पनि भारतले यसै गर्नुपर्छ भन्ने आग्रह नराखेको राजदूतको भनाइ थियो ।

ओली भन्छन्- छिमेकीको ‘कन्सर्न’ सम्वोधन गर्न तयार छौं

आइतबार साँझ एमाले अध्यक्ष ओलीले दक्षिणको छिमेकीका विषयमा निकै लामो कुरा गरे । यसक्रममा ओलीले आफ्नो स्टेट भिजिट र मोदीसँग भएको भित्री कुराकानी पनि खोले । आफूले नेपालले छिमेकीको कुभलो नचिताउने ओलीले स्पष्ट पारे ।

ओलीले छिमेकी देशबारे चर्चा गर्दै भने- ‘उहाँहरुको जे-जे कन्सर्न छ, तिनीहरुलाई हामीले सम्वोधन गर्छौं । यसमा कुनै छिमेकी मित्रहरुले चित्त दुखाउने कुनै ठाउँ नेपालले दिँदैन ।’

भारतबारे ओलीको भनाइ यहाँ पढ्नुहोस्

छिमेकीले धानको भात खाएको किन रीस गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment